७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना संक्रमित सम्पर्कविहीन

महानगरलाई संक्रमित खोज्नको सास्ती

कोरोना भाइरस संक्रमण देखिएका एकजना विराटनगरका व्यक्ति सम्पर्कविहीन भएका छन् । कोरोना संक्रमित पुरुष मंगलबार विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा ज्वरो आएपछि जचाउन आएका थिए । उनी अस्पतालमा आउँदा १०१ डिग्री ज्वरो रहेको थियो ।  

विराट नर्सिङ होमले ती व्यक्तिलाई शंका लागी स्वाब संकलन गरेर परीक्षणका लागि कोसी अस्पतालमा पठाएको थियो । मंगलबार राति नै उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । स्वाब संकलन गर्ने क्रममा ती पुरुषको स्थायी ठेगाना लेखेको थिएन । ठेगानामा विराटनगर मोरङ मात्रै उल्लेख गरिएको छ । पूरै ठेगाना नभएका कारण कोरोना पोजेटिभ देखिएका उनलाई फेला पार्न नसकिएको महानगरपालिकाले जनाएको छ ।

नर्सिङ होमले शंकास्पद बिरामीको स्वाब संकलन गरी आइसोलेसनमा नराखी र सम्पर्क ठेगाना स्पष्ट नराख्दा महानगरपालिकाभित्र त्रास फैलिएको छ । विराट नर्सिङ होमको लापरबाही पूर्णकामले गर्दा समस्या आएको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।  

सरकारले प्रदेशमा निश्चित अस्पताल र ठाउँ पिसिआर संकलन गर्न तोकेको छ । तर, नर्सिङ होमले नियम विपरित स्वाब संकलन गरेको र लापरबाही पूर्ण तरिकाले बिरामीको ठेगाना, फोन नम्बर स्पष्ट नराख्दा समस्या आएको स्वास्थ्यकर्मीले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियम अनुसार निजी अस्पतालले कोरोनाको शंका लागेका व्यक्तिलाई अनिवार्यरूपमा आइसोलेसनमा राख्नुपर्ने र सरकारले तोकेको प्रयोगशालामा सम्पर्क गर्दै स्वाब संकलन गर्नुपर्ने हुन्छ ।

कोसी अस्पतालले कोरोना भाइरस संक्रमितबारे मंगलबार राति नै सम्बन्धित निकायलाई जानकारी दिइएको भनिए पनि अस्पतालको जानकारी बुधबार बिहान मात्रै इमेलमार्फत प्राप्त गरेको महानगरले जनाएको छ । बेपत्ता अवस्थामा रहेका संक्रमित खोज्न महानगरका कर्मचारी र प्रहरीहरू खटिएका छन् । महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार राति नै स्पस्ट ठेगानासहित जानकारी प्राप्त भएको भए आफै पहल गरी संक्रमितलाई कोभिड १९ उपचार केन्द्रमा राख्ने व्यवस्था गर्न सहज हुन्थ्यो ।

‘नर्सिङ होमले संक्रमितको स्पष्ट ठेगाना, फोन नम्बर नराख्दा संक्रमित व्यक्ति खोज्न गाह्रो भएको छ,’ महानगरपालिका स्वास्थ्य महाशाखाका हैदर अलीले भने, ‘त्यहाँ उल्लेख गरिएको फोन नम्बरमा सम्पर्क गर्दा आगमन कल निषेध गरिएको छ भन्छ । उनी कहाँ कति जनासँग सम्पर्कमा आए थाहा छैन ।’

विराट नर्सिङ होमले कोरोना संक्रमण फैलिँदै र लकडाउन भएसँगै अस्पतालमा आएका अन्य रोगका बिरामीलाई सहजै अस्पताल प्रवेश गर्न रोक्ने गरेको थियो । त्यसमा पनि ज्वरो आएको भन्ने थाहा पाएपछि गेटभित्र प्रवेश गर्न दिइँदैन थियो । पेट दुखेर र अन्य समस्या भएर नर्सिङ होम आएका बिरामीलाई नहेरी गेटबाट फर्काउन थालेपछि विभिन्न सञ्चारमाध्यमा समाचार आएका कारण अस्पतालले बिरामी हेर्न थालेको थियो ।

प्रकाशित: ७ श्रावण २०७७ १४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App