९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

विद्युत अनियमित हुँदा उपभोक्तालाई हैरानी

सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको स्टेशन । तस्बिरः गणेश/नागरिक

सुर्खेतमा नेपाल विद्युत प्राधिकरणले वितरण गर्दै आएको विद्युत अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । पटकपटक जाने हुँदा उपभोक्ताको दैनिकी असहज भएको छ । नेपाल लोडसेडिङमुक्त भनिए पनि कर्णाली प्रदेशका नागरिकले त्यसको अनुभूति गर्न पाएका छैनन् । जसले कर्णावासी पुरानै नियति खेप्न बाध्य छन् । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतलगायतका जिल्लामा नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण गरेको छ । तर उक्त विद्युत अनियमित हुँदा उपभोक्ताले हैरानी खेप्नु परेको छ । ‘बत्ति कतिखेर आउँछ जान्छ थाहा नै हुँदैन,’ सुर्खेत वीरेन्द्रनगर–६ तीर्थ सुनारले भने, ‘विद्युत हुनु र नहुनुमा फरक छैन ।’ झ्याप्पझ्याप्प बत्ति जाँदा दैनिक काम प्रभावित हुने यहाँ सञ्चालित उद्योगीहरूले जनाएका छन् ।

‘बत्ति एकछिन आएर एकैछिनमा जान्छ,’ वीरेन्द्रनगरका व्यवसायी जेपी लम्सालले भने, ‘बत्ति आउने जाने हुँदा काम नै हुँदैन ।’ लोडसेडिङको तालिका नभए पनि अनियमित हुँदा समस्या भएको उनको भनाइ छ । पटकपटक आउने जाने हुँदा विद्युतीय सामग्रीमा समेत बिग्रिने गरेको यहाँका व्यवसायीको भनाइ छ । विद्युत नहुँदा धेरै काम प्रभावित हुने भन्दै उनले प्राधिकरणको लापरबाहीले भएको बताउँछन् । कतिपयले विद्युत प्राधिकरण सोलार कम्पनीसँग मिलेको आरोप पनि लगाएका छन् ।

विद्युत प्राधिकरणले भने अन्य कुनै कारण नभइ केही प्राविधिक कारणले विद्युत आउनेजाने भएको बताएको छ । ‘कतिपय अवस्थामा विद्युत तारमा चरा तथा रुखका खाँगा पर्दा पनि विद्युत जाने गर्छ,’ विद्युत प्राविधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरीले भने, ‘त्यस्तै अवस्थामा पनि विद्युत जाने आउने हुन्छ ।’ वीरेन्द्रनगरमा विद्युतका ट्रान्सफर्मरको क्षमताभन्दा बढीलाई विद्युत लाइन विस्तार गरिएकाले पनि विद्युत अनियमित हुने गरेको उनले बताए । 

हाल वीरेन्द्रनगरमा ९५ वटा ट्रान्सफर्मर छन् । यीसबैमा क्षमताभन्दा बढीमा लाइन वितरण गरिएको छ । ट्रान्सफर्मर जडान गर्न समुदायले अवरोध गर्ने हुँदा समस्या भएको विद्युत प्राविधकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ ।

हाल सुर्खेतमा नेपाल विद्युत प्राधिकरणको कोहलपुर र दैलेखको नौमुलेबाट विद्युत आपूर्ति हुँदै आएको छ । सुर्खेतमा मागअनुसार विद्युत भए पनि क्षमताअनुसार ट्रान्सफर्मर नहुँदा समस्या भएको वितरण केन्द्रका प्रमुख गिरीले बताए ।

प्रकाशित: ७ श्रावण २०७७ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App