२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश ५ मा सवारी दुर्घटना : तीन वर्ष यताकै कम मृत्यु

५ नम्बर प्रदेशमा पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा परि ४ सय ८३ जनाको मृत्यु भएको छ । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका कुल १२ जिल्लामा भएका सवारी दुर्घटनामा ४ सय ८३ जनाले ज्यान गुमाएका छन् । यो संख्या अघिल्ला दुई वर्ष भन्दा कम हो ।

प्रदेश ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ५ सय २० जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका थिए भने आर्थिक वर्ष २०७५/०७६ मा ६ सय २३ जनाले ज्यान गुमाएका थिए । तर पछिल्लो आर्थिक वर्षमा भने सवारी दुर्घटनाको मृत्यु दर घटेको पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक डम्बर बिकले जानकारी दिएका छन् ।

उनका अनुसार गत आर्थिक वर्षमा सबै भन्दा बढि गुल्मीमा ७९ जनाको मृत्यु भएको छ भने सबै भन्दा कम बर्दियामा २२ जनाको मृत्यु भएको छ । अघिल्ला दुई आर्थिक वर्षमा सबै भन्दा बढि मृत्यु हुने गरेको रुपन्देहीमा गत आर्थिक वर्षमा ३९ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७४/०७५मा रुपन्देहीमा १ सय ३७ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७५/०७६ मा यो संख्या बढेर १ सय ४३ पुगेको थियो । 

यसैगरि अघिल्लो आर्थिक वर्षमा ७३ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएको नवलपरासी (पश्चिम) मा गत आर्थिक वर्षमा २६ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षमा ८० जनाले ज्यान गुमाएको कपिलवस्तुमा गत आर्थिक वर्षमा ४७ जनाले ज्यान गुमाएका छन् । पाल्पा जिल्लामा भने अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परि ज्यान गुमाउनेहरुको संखया बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४० जनाले ज्यान गुमाएको पाल्पामा गत आर्थिक वर्षमा ५७ जनाले ज्यान गुमाएका छन् ।

गत आर्थिक वर्षमा सबै भन्दा बढि ७९ जनाले ज्यान गुमाएको गुल्मीमा अघिल्लो आर्थिक वर्ष भने १९ जनाको मात्रै ज्यान गएको थियो । यसैगरि अर्घाखाँचीमा पनि सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढेको छ । यो जिल्लामा अघिल्लो आर्थिक वर्ष १६ जनाले मात्रै ज्यान गुमाएकोमा गत आर्थिक वर्षमा भने ३८ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षमा १ सय ४ जनाले ज्यान गुमाएको दाङमा गत आर्थिक वर्षमा भने ७१ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाए । यसैगरि अघिल्लो आर्थिक वर्षमा ७१ जनाले ज्यान गुमाएको बाँकेमा गत वर्ष ५१ जनाले ज्यान गुमाएका छन् भने गत आर्थिक वर्षमा २२ जनाको मृत्यु भएको बर्दियामा अघिल्लो आर्थिक वर्षमा ३३ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका थिए ।  

अघिल्लो आर्थिक वर्षमा १४ जनाले ज्यान गुमाएको प्यूठानमा गत आर्थिक वर्षमा ११ जनाले ज्यान गुमाए भने अघिल्लो आर्थिक वर्षमा १५ जनाले ज्यान गुमाएको रोल्पामा गत आर्थिक वर्षमा भने बढेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ । यसैगरि रुकुम पूर्वमा पनि सवारी दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या बढेको छ । अघिल्लो आर्थिक वर्षमा १५ जनाको ज्यान गएको पूर्वी रुकुममा गत आर्थिक वर्षमा ३४ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिकका अनुसार पछिल्लो आर्थिक वर्षमा प्रदेशका १२ जिल्लामा गरि कुल १ हजार १ सय २२ सवारी दुर्घटना भएका थिए । सवारी दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या कम भएपनि यो प्रदेशमा दुर्घटनाको संख्या भने अघिल्ला दुई वर्ष भन्दा बढि छ । आर्थिक वर्ष ०७४/०७५ मा यो प्रदेशमा ८ सय ३५ सवारी दुर्घटना भएका थिए भने आर्थिक वर्ष २०७५/०७६ मा १ हजार २९ सवारी दुर्घटना भएका थिए । प्रदेश ट्राफिक प्रहरी प्रमुख बिकका अनुसार गत सवारी दुर्घटनाका कारण मृत्यु दर कम हुनुको प्रमुख कारण जनस्तरमा बढाईएको ट्राफिक सचेतना हो । ‘प्रदेशका सबै जिल्लाहरुमा निरन्तर रुपमा ट्राफिक सचेतनाका लागि हामीहरु खटियौँ, यसको सकारात्मक प्रभाव पर्न गयो,’ उनले भने ‘फलतः अघिल्ला वर्षहरुमा भन्दा सवारी दुर्घटनाका कारण मृत्युदर हाम्रो प्रदेशमा बन्न गयो ।’ 

उनले दुर्घटना बढ्नुलाई भने यातायातका साधनहरुको संख्यामा वृद्धि, सडकको स्तर तथा चालकको लापरवाही प्रमुख कारणका रुपमा अर्थ्याए । ‘सबै भन्दा त अधिकांश दुर्घटनाहरु चालकको लापरवाहीका कारण नै हुने गरेका छन्,’ उनले भने ‘यस अलावा सडकको स्तर तथा सवारी साधन बढ्नु पनि दुर्घटना बढ्नुको अन्य कारण हुन् ।’ उनले यो आर्थिक वर्षमा दुर्घटना न्यूनीकरणका लागि थप कडाईका साथ लाग्ने बताए । ‘राडार गन, सवारी साधनको गती मापन यन्त्र तथा मापसे चेकजाँचलाई निकै कडाईका साथ लागू गरिने छ,’एसपी बिकले भने ‘हामीलाई विश्वास छ, अबको हाम्रो प्रयासले दुर्घटनाबाट हुने क्षति कम हुने छ ।’  

घाइते हुनेहरुको संख्या पनि अघिल्ला दुई वर्षको भन्दा बढि देखिएको छ । गत आर्थिक वर्षमा १ हजार ५४ जना गम्भीर घाइते भएका छन् भने आर्थिक वर्ष २०७४/०७५ मा ८ सय ९ र आर्थिक वर्ष ०७५/०७६ मा ९ सय ३३ जना गम्भीर घाइते भएका छन् । यसैगरि यो प्रदेशमा सवारी दुर्घटनाका कारण पशुचौपायाको भने मृत्यु दर बढेको छ । आर्थिक वर्ष २०७४/०७५ मा प्रदेशमा ३० पशुचौपायाको मृत्यु सवारी दुर्घटनाका कारण भएको थियो । आर्थिक वर्ष ०७५/०७६ मा यो संख्या घटेर ९ मा पुगेकोमा गत आर्थिक वर्षमा भने बढेर ६७ पुगेको छ ।

प्रकाशित: ७ श्रावण २०७७ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App