२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोले निम्त्याएको पीडा

धादिङको त्रिपूरासुन्दरी गाउँपालिका–६, आगिन्चोकमा गएको पहिरो।

गाउँमा सडक पुग्दा त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिन्चोकस्थित देउराली काफलपानी गाउँका कान्छाबहादुर खाँण निकै खुसी भएका थिए। सडक पुगेपछि सदरमुकामसम्मको दुरी पनि छोटियो भने दैनिक उपभोग्य सामानहरु गाउँमा ल्याउन पनि सजिलो भयो। घर नजिकैबाट सवारी साधन गुड्ने भएपछि उनको खुसीको सीमा रहेन। तर उनको खुसी बर्षासँगै आएको पहिरोले लगिदिएको छ। सँगै खाना खाएर सुतेका छोरा मीलन खाँण, बुहारी सम्झना खाँण र नातिनि अन्जिता खाँणलाई मध्यरातमा आएको पहिरोले पूरिएपछि निराश छन्।  

भूकम्पको राहतमा थपथाप पारेर बलियो घर बनाएको घरसँगै छोरा, बुहारी र नातिनि पहिरोले पूरिएपछि उनी विक्षिप्त छन्। घर भन्दा एक सय मिटर परको गोठमा सुत्न गएका उनी भने बाच्न सफल भए। ‘पहिरोले घरको निशाना नै मेटाइदियो भने कान्छा बहादुरको वंश नै विनाश गरिदियो’ स्थानीय उद्धारकर्ता राजन बुर्लाकोटीले भने, ‘सधै गोठमा सुत्न जाने गरेकोले उहाँ जोगिनुभयो तर आफ्नो परिवार भने सबै गुमाउनुभयो।’ पहिरोले आफ्नै घर बगाउला भन्ने कान्छा बहादुरलाई अलिकति पनि लागेको भए सायद छोरा, बुहारी र नातिनिलाई पनि गोठमै लैैजान्थे होला तर अफसोच सोच्दै नसोचेको पहिरो खसेर कान्छा बहादुरले छोरा बुहारी र अवोध नातिनी गुमाए।  

छोरा बुहारीको परिवार नै सखाप भएपछि कान्छाबहादुर विक्षिप्त छन्। आफन्त र छरछिमेकीले सान्त्वना दिइरहे पनि अघिल्लो साँझसंगै काखमा राखेर खाना खाएकी नातिनी  र छोरा बुहारी सम्झेर कान्छाबहादुर बेहोसी जस्ता भएका छन्। घर भन्दा ४० मिटरमाथिबाट खसेको पहिरोले घर बगाउँदा मंगलबार बिहान उनीहरुको मृत्यु भएको हो। पहिरोका कारण सँगै रहेका अन्य सात घर जोखिममा रहेकाले उनीहरुलाई तत्कालको लागि स्थानीय मन्दिरको पार्टीमा सारिएको छ।  

गजुरी गाउँपालिकाकी १७ वर्षीया निरुता परियारले पनि पहिरोकै कारण ज्यान गुमाउनुप¥यो। पहिरो झर्न थालेपछि सबै भागाभाग गरिरहे पनि घर भित्रको सामान निकाल्न जाँदा घरसहित उनलाई पहिरोले पुरेको थियो। लगातारको बर्षाले धेरैको बास खोसेको छ। धेरै विचल्लिमा छन्। पहिरोले पीडा नै पीडा निम्त्याएको छ।  

ग्रामीण क्षेत्रमा जताभावी सडक निर्माण गर्ने होडबाजीलेको परिणाम कान्छाबहादुरले भोग्नुप¥यो। प्राविधिकको स्टिमेटबिना जथाभावी निर्माण गरिएका कच्ची सडकका कारण जिल्लाको ग्रामीण क्षेत्र कुरुप र यात्राका लागि खतरा बन्दै गएका छन्। प्राविधिक दृष्टिले उच्चजोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले एकातिर गाउँलाई कुरुप बनाएको छ भने जोखिम पनि उत्तिकै बढाएको छ। गाँउबस्तीमा पर्ने असरबारे ख्याल नगरी बनाइएका धेरै मोड र साँधुरा सडकका कारण विकासभन्दा बढी विनास भएको स्थानीयले बताएका छन्।  

स्थानीय तहहरुले सडक संजाल विस्तार गर्ने कार्य धमाधम गरिरहेको छ। सडक संजालले नछोएको रुविभ्यालीसम्म सडकसंजालको विस्तार गर्न काम भइरहेको छ। बर्षाले सडक विस्तार भइरहेको ठाउँ पहिरिने, भासिने गरेको रुविभ्यालीका सीपी तामाङले बताए। ‘रुविभ्यालीसम्म जानको लागि दर्जनौँ ठाउँमा बाटो बिग्रिएको छ, नयाँ बनाएको सडक भासिएको छ भने पहिरो झरिरहेको छ’, उनले भने, ‘विगतमा हचुवाका भरमा सडक खनिए अहिले जोखिम बढेको छ।’ निकै जोखिम मोलेर यात्रा गर्नुपरेको उनले बताए।  

धादिङ जिल्लामा पहिरोमा परि चारजनाको मृत्यु भएको छ भने एक जना घाईते छन्। पहिरोले दर्जनौ घरहरु पूरिएका छन्, केही जोखिममा छन्। पृथ्वी राजमार्ग क्षेत्रमा पुल नै भत्किएको छ भने ठाउँठाउँमा पहिरो गएको छ। बर्षा सुरु भएदेखि नै ग्रामीणसडक बिग्रिएका छन्। सांकोष–तिप्लिङ सडक खण्ड, आदामघाट–किराञ्चोक सडकखण्ड बर्षादले बिगारेको छ।  

प्रकाशित: ७ श्रावण २०७७ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App