८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

दुधुवाबाट जङ्गली हात्तीको झुण्ड निकुञ्ज प्रवेश, सतर्कता अपनाउन आग्रह

भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

निकुञ्जमा पुगेको जङ्गली हात्तीको झुण्ड मध्यवर्ती क्षेत्रका गाउँ बस्ती र खेतबारीमा आउन थालेपछि बाली जोगाउन र जीउधनको सुरक्षा गर्नका लागि कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो । भारतको दुधुवा नेशनल पार्कबाट आएको १०÷१५ को सङ्ख्यामा रहेको जङ्गली हात्तीको झुण्ड दिनमा निकुञ्जमा बस्ने साँझ र रातीका बेला निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्ती तथा खेतबारीमा प्रवेश गर्दै आएको छ ।

दुधुवा नेशनल पार्कमा बर्षाको पानी र बाढीको पानी भरिन थालेपछि आहारा सुरक्षित बासस्थानका लागि जङ्गली हात्तीको झुण्ड हरेक वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा आउने गरेको छ । जङ्गली हात्तीको झुण्डले आहाराका लागि निकुञ्ज नजिकका बस्तीमा प्रवेश गरी खेतबारीमा लगाइएको अन्नबालीसँगै स्थानीय किसानले घरभित्र भण्डारण गरेको अन्न खाने गरेको छ ।

निकुञ्ज कार्यालय प्रमुख लक्ष्मण पौडयालका अनुसार हात्तीको झुण्ड बस्तीमा प्रवेश गरे नजिकको निकुञ्जको पोष्ट, सुरक्षा पोष्ट र सुरक्षा निकायमा जानकारी गराउने, आफू सुरक्षित रहने गरी मात्र हात्तीलाई धपाउने कार्य गर्नुपर्दछ । हात्ती धपाउँदा एक्लै नहिँडी समूहमा मात्र हिँड्ने, मदिरा सेवन गरी हात्ती धपाउन नजाने, हात्तीको नजिक नजाने, ठूलो टर्च वा आगोको मसाल प्रयोग गर्ने, घर बाहिर बिजुली बालेर उज्यालो गर्ने र हात्ती आउने गौडामा आगो बाल्नेलगायतका कार्य गर्नुपर्ने उनको भनाइ छ ।

साउनको पहिलो सातादेखि दोस्रो साताको समयमा प्रत्येक वर्ष निकुञ्जमा छिर्ने गरेको जङ्गली हात्तीको झुण्ड धानबाली कटाई गरी सकेपछि दुधुवा नेशनल पार्कमा फर्कने गरेको छ । पुनः गहुँबाली लगाउन सुरु गरेपछि हात्तीको झुण्ड यहाँ पुग्ने गरेको छ । जङ्गली हात्तीको झुण्डले भीमदत्त, महाकाली, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलौरी नगरपालिका क्षेत्रमा बढी बालीनालीमा क्षति पुर्‍याउने गरेको छ । हात्तीको आक्रमणमा परेर स्थानीय बासिन्दाको ज्यानसमेत जाने गरेको छ । जङ्गली हात्तीलाई बस्तीमा छिर्नबाट रोक्नका लागि मेसवायर जडानको कार्यलाई समेत प्रदेश र स्थानीय तहले प्राथमिकतामा राखी कार्य अगाडि बढाउँदै आएका छन् ।

प्रकाशित: ७ श्रावण २०७७ ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App