२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

योजना छ, तयारी छैन

बाढी, पहिरो, डुबानलगायतका विपद् रोकथाम र नियन्त्रणका लागि वाग्मती प्रदेशले ‘विपद् कोष’ मार्फत १० करोड रकम विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्दै विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार, राहतका साथै आवश्यक उपकरण खरिदका लागि उक्त बजेट विनियोजन भएको हो। बजेट विनियोजन भएर योजना बनाउँदै गर्दा बाढी पहिरोले ठाउँठाउँमा विपद् सिर्जना गरेको छ।  

बर्खाको समयमा विपद् उत्पन्न हुनसक्ने प्रयाः सबैलाई थाहा नै हुन्छ। योजना बनाउँदै गरेका स्थानीय तथा प्रदेश सरकारको तयारी फितलो बनेको छ। बर्खा सुरु भएसँगै ठाउँठाउँमा बाढीपहिरो, डुबानको समस्या भएपछि व्यवस्थापनको तयारी प्रभावकारी नभएको प्रष्ट हुन्छ। एकसाताअघि मात्र सिन्धुपाल्चोकमा गएको पहिरोबाट जनधनको क्षति भयो। अविरल वर्षाले ग्रामिण सडक र राजमार्गका विभिन्न ठाउँमा क्षति गरेको छ।  

मुख्य राजमार्गहरू पृथ्वी राजमार्ग, बिपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, स्याफ्रु–रसुवागढी सडक खण्डका विभिन्न ठाउँमा पहिरो जाने क्रम रोकिएको छैन। नारायणघाट–मुग्लिन सडकखण्ड, मुग्लिनदेखि नौबिसे सडकखण्डको ५० भन्दाबढी ठाउँमा पहिरो गएको छ। पहिरोका कारण बस्तिमा क्षति गरेको सरकारी तथ्यांक छ। पहिरोले पुल भत्किएको छ, भने सवारीसाधन बगाएको छ।

वाग्मती प्रदेश सरकारले विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नुवाकोट र काभ्रेपलान्चोक जिल्लामा उद्धार एवं राहत सामग्रीको भण्डारण गर्ने, प्रदेश स्टोर भवनलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकग्राम जमरकट्टेलले जानकारी दिए। प्रदेशमा मात्र होइन जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विपद् व्यवस्थापन समिति रहेको छ। अहिले हरेक स्थानीय तह हुँदै सबै वडामा पनि उक्त समिति बनाइएको छ।  

विपद्लाई सामना गर्न समितिले पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। ‘खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसलगायत अन्य निकायलाई तयारी अवस्थामा राखिएको छ, विकट क्षेत्रमा हेलिकप्टर मार्फत उद्धार हुनेछ,’ प्रजिअ तामाङले भने, ‘विस्थापित तथा प्रभावित घरपरिवारलाई राहतको व्यवस्था गरेका छौँ।’  

पृथ्वी राजमार्गमा चट्टानी पहिरोको सम्भावना बढी रहेको उनले बताए। जथाभावी सडकको स्तरोन्नती गर्न तर्फ मात्रै ध्यान दिँदा पहिरोले वर्षेनी दुःख दिने गरेको स्थानीयको भनाइ छ। पहिरोको सम्भावित क्षेत्र पहिचान गरेर न्यूनिकरणका उपाय अवलम्बन नगरे आगामी दिनमा जोखिम अकल्पनिय हुनसक्ने प्राविधिकहरूको भनाइ छ। ग्रामिण भेगमा मात्र नभइ राजमार्ग नजिक हुने उत्खननले सामान्य वर्षा हुँदा पनि सडकमा माटो झर्ने समस्या रहेको छ।  

प्रकाशित: ७ श्रावण २०७७ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App