७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीपहिरोमा थप ६ जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गको धादिङ खण्डमा पर्ने जवाङ खोलानजिकै गएको पहिरो पन्छाइँदै। तस्बिर: नागरिक

बाढीपहिरोका कारण थप  ६ जनाको ज्यान गएको छ। धादिङ र दार्चुलामा पहिरोले पुरिएर पाँच र  रौतहटमा बाढीले बगाएर एकजनाको ज्यान गएको हो। बाढीपहिरोबाट कम्तीमा १५ जना घाइते र सयौं परिवार विस्थापित भएका छन्।  

पहिरो झरेपछि सोमबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग मंगलबार अबेरसम्म सञ्चालनमा आउन सकेको छैन। यो राजधानी काठमाडौं भित्रिने मुख्य राजमार्ग हो। काठमाडौं जोड्ने मध्यपहाडी र बिपी राजमार्गसमेत पहिरोले अवरुद्ध छन्।  

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका आगिञ्चोकमा मंगलबार बिहान पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँण, उनकी पत्नी २२ वर्षीया सम्झना र दुई वर्षीय छोरी अन्जिता रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। अविरल वर्षासँगै झरेको पहिरोले पुरिदाँ तीनजनाको मृत्यु भएको हो।  

त्यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ मा सोमबार राति पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ। पहिरोमा  तीनजना घाइते भएका छन्। दिदीको घर आएका लेकम गाउँपालिका–५ का २५ वर्षका अर्जुन दर्जी र सोही ठाउँका १८ वर्षका मिलन दर्जीको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए। घरमाथिबाट झरेको पहिरोले पुरिएर घाइते हुनेमा लक्ष्मी परियार, उनका ९ वर्षका छोरा शुभम र १२ वषकी छोरी सोनिया छन्। उनीहरुलाई घरभित्र च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो।  

बाढीले बगाएर मृत्यु
रौतहटको चन्द्रप्र नगरपालिकास्थित चादी खोलाको बाढीले बगाएर एकजनाको ज्यान गएको छ। मंगलबार बिहान ११ बजे गैंडाटारस्थित चादी खोला तर्ने क्रममा ५५ वर्षका सुकमान थिङलाई बाढीले बगाएको थियो। तीन घण्टापछि शव फेला परेको प्रहरीले जनाएको छ।  

पृथ्वी राजमार्ग अवरुद्ध
पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो खसेका कारण सवारी आवागमन अवरुद्ध छ। अविरल वर्षासँगै सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको सडक बगाउदाँ सवारी आवागमन पूर्ण रुपमा ठप्प छ। धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बाढीपहिरोले बगाएपछि गाडी वारपार गर्न सकेका छैनन्। काठमाडौंबाट पूर्व–पश्चिम हिँडेका सवारीसाधन मौवाखोलाबाट  फर्किएका छन्। पुल र सडक जोड्ने १२ मिटर भाग बाढीपहिरोले भत्काएको छ। मंगलबार अबेरसम्म अवरुद्ध सडक सञ्चालनमा आउन सकेको छैन।

मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला गरी दुईभन्दा बढी पहिरो खसेका छन्। लगातार वर्षा भइरहेका कारण पहिरो पन्छाउन समस्या भएको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।  

‘बाढीपहिरोले भत्काएको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेर सडक सञ्चालन गरिने डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए।  

राजधानी जोड्ने मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी सडक खण्ड पनि ठाँउठाँउमा पहिरोका कारण अवरुद्ध छ।  लगातारको वर्षाले गोलञ्जोर गाउँपालिका च्याखुटारमा ठूलो पहिरो गएकाले राजमार्ग अवरुद्ध भएको स्थानीयले बताए। सोमबार राति च्याखुटारमा पहिरो खसेको स्थानीय शिक्षक विष्णु न्यौपानेले बताए।  

सिद्धबाबामा पटकपटक पहिरो बुटबल–पाल्पा सडकखण्ड एक सातायता खुल्ने र बन्द हुनेक्रम जारी छ। तिनाउ गाउँपालिका ३ दोभानमा पर्ने सिद्धबाबा मन्दिर छेउको खहरे खोलामा पहिरोसहित बाढी आउँदा मन्दिर परिसरमा समेत  क्षति पुगेको छ। धर्मशालाको स्टोर कक्ष, भान्सा, धारा, प्रचार बोर्ड, नजिकैको फलामको रेलिङ र श्राद्धस्थलमा पहिरोबाट क्षति पुगेको सिद्धबाबा मन्दिर विकास समिति अध्यक्ष दलबहादुर गुरुङले बताए।

पूर्वमा पनि क्षति
इलामको माइखोलामा उर्लेको बाढीले इलाम–सोयाङ–नयाँबजार सडक खण्डको निर्माणाधीन दुधाङ पुलमा क्षति गरेको छ। समयमै काम नसकिएर पटक–पटक म्याद थप्दा पनि निर्माण नसकिएको पुलमा बाढीले क्षति पु¥याएको हो। बाढीले इलाम नगरपालिकापट्टि पर्ने पुलको भागमा क्षति गरेको डिभिजन सडक कार्यालयले जनाएको छ।  

मोरङको सुनवर्षी नगरपालिका–७ मा सोमबार साँझ बक्राहा खोला बस्तीमा पस्दा चार परिवार विस्थापित भएका छन्। प्रहरीका अनुसार सतारु ऋषिदेव, विलाश ऋषिदेव, बरुण ऋषिदेव र लक्ष्मण ऋषिदेवको परिवार विस्थापित भएका छन्। उनीहरूलाई उद्धार गरी नजिकैको विद्यालयमा राखिएको सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले बताए। सप्तकोसी नदीमा पानीको बहाव मंगलबार साँझदेखि घट्न थालेको छ। बिहान ८ बजे पानीको बहाव प्रतिसेकेन्ड तीन लाख ४२ हजार ९७० क्युसेक रहेकोमा साँझ ६ बजे मापन गर्दा घटेर प्रतिसेकेन्ड दुई लाख ९६ हजार ३५ क्युसेक रेकर्ड भएको छ।  

प्रदेश २ मा ८४५ विस्थापित
प्रदेश २ का आठवटै जिल्लामा बाढीबाट ८ सय ४५ जना विस्थापित भएका छन। महोत्तरीको रातु नदी तर्ने क्रममा भंगाहा नगरपालिका–६ संग्रामपुरका ४० वर्षीय विरेन्द्र कापर बेपत्ता भएको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए।  

बाढी र डुबानबाट सप्तरीका विभिन्न पालिकाका गरी एक सय ५० घर क्षतिग्रस्त भएको र चार सय ५० जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।  

त्यस्तै बाढी र डुबानबाट सर्लाहीका ४६ घर भत्किँदा दुई सय ५५ जना विस्थापित भएका छन्। रौतहटमा २३ घर भत्किँदा एक सय ४० जना विस्थापित भएका छन्।  

बाढीले बाराको कोल्हबी नगरपालिका–९ स्थित सिम्रौनगढ–तामागढी सडक खण्डमा बन्दै गरेको पुल नजिकको डाइभर्सन बगाउँदा आवतजावत अवरुद्ध भएको छ। त्यस्तै प्रदेश प्रहरी तालिम केन्द्रको बन्दै गरेको पर्खाल पनि बाढीले भत्काएको छ।  

बाढीमा फसेका सप्तरी र महोत्तरीका एकएक तथा सर्लाहीका दुई जनालाई प्रहरीले उद्धार गरेको प्रदेश प्रहरी तालिम केन्द्रले जनाएको दिए। बाढीबाट सम्भावित जनधनको सुरक्षा गर्न सप्तरीमा तीन सय ७०, सिरहामा तीन सय ४०, धनुषामा तीन सय ६०, महोत्तरीमा दुई सय ९५, सर्लाहीमा तीन सय ८०, रौतहटमा तीन सय ९०, बारामा तीन सय ३० र पर्सामा तीन सय ४५ गरी दुई हजार ८ सय १० सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए।  

वीरगन्ज महानगरपालिकाका धेरै क्षेत्रमा डुबान भएको छ। आदर्शनगर डुबानबाट धेरै प्रभावित छ। आदर्शनगर डुबानमा पर्दा व्यापारिक प्रतिष्ठान, तिनका गोदामा तथा पसलमा करोडौं मूल्य बराबरका सामान भिजेका छन्। जिल्ला प्रसाशन कार्यालयसहित गोश्वारा रोड पनि पूरै डुबानमा छ।  

चितवन र नवलपरासी जलमग्न
नारायणी नदीको सतहले सोमबार खतराको बिन्दु पार गरेपछि चितवनका नदीतटीय क्षेत्रस्थित दर्जनौं घरमा पानी पसेको छ। प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ४, १६, २६, २७, २८ र २९ मा नारायणी नदीको भेल पसेको छ।  त्यहाँ बसोबास गर्ने एक सयजनाभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणीको भेल बस्ती पसेसँगै प्रहरीले ६ सय ८० जनालाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनको इच्छाकामना गाउँपालिका ५, पानीधारा बस्ने विष्णुप्रसाद श्रेष्ठ र कुमार श्रेष्ठ दुवैको दुई तले घरसहित तीन वटा घर त्रिशुली नदीले बगाएको छ।  

पश्चिम नवलपरासीको सुस्ता गाउँ पनि डुबानमा परेको छ। अविरल वर्षापछि नारायणी नदीमा पानीको सतह बढेपछि सुस्ता सुस्तागाउँका १ सय ९५ परिवार विस्थापित भएका छन्। ती घरका सदस्यलाई सुरक्षित स्थानमा राखिएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। गण्डक नहरका कारण सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका तटिय क्षेत्रमा बसोबास गर्नेलाई सजगता अपनाउन आग्रह गरिएको उनले बताए।  

रुपन्देहीमा पनि तिनाउ, रोहीणी, दानवलगायत नदीले खेतीयोग्य जमिन कटान गर्दा  लाखौंको क्षति भएको छ।  
(रितेश त्रिपाठी÷वीरगन्ज, भीम चापागाई÷इलाम, चुमन बस्नेत÷मोरङ, अमर खड्का÷इटहरी, बिरा गडाल÷बैतडी, सूर्यप्रकाश कँडेल÷चितवन, विनोद परियार÷रुपन्देही, सरिता श्रेष्ठ÷धादिङ, मदन ठाकुर÷रौतहट, उपेन्द्र यादव÷बारा, मिथिलेस यादव÷सिरहा)

प्रकाशित: ७ श्रावण २०७७ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App