२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

बाढीले निर्माणाधीन पुलमा क्षति

अविरल वर्षासँगै माइखोलामा आएको बाढीले इलाम–सोयाङ–नयाँबजार सडक खण्डको निर्माणाधीन दुधाङ पुलमा क्षति गरेको छ । समयमै काम नसकिएर पटक–पटक म्याद थप्दा पनि निर्माण नसकिएको पुलको ढलान गर्न लागिएको डन्डी बाढीले बगाएको हो । 

बाढीले पुलको इलाम नगरपालिकापट्टि पर्ने भागमा क्षति गरेको डिभिजन सडक कार्यालयले जनाएको छ । ‘लकडाउनअघि नै ढलान गर्न रड तयार गरिएको थियो,’ डिभिजन प्रमुख अविमन मुल्मीले भने, ‘के कति क्षति भयो भन्ने यकिन छैन तर ठूलो क्षति भएको छैन ।’ उनले लकडाउनका कारण सामग्री नआउँदा ढलान रोकिएको र डन्डीसँगै ढलानको फर्मा पनि बगाएको बताए । स्थानीय शिक्षक जितबहादुर योगीले दिउँसो १ बजेतिरको बाढीले पुलको भाग बगाउँदा नजिकैका केही घरसमेत बाढीको जोखिममा परेको बताए ।

ठेक्का सम्झौताको म्याद सकिएको ३ वर्ष बित्दा पनि यो पुल निर्माण सकिएको छैन । निर्माण जिम्मा लिएको ठेकेदार कम्पनीको ढिलाइले अलपत्र परेको काममा गतवर्ष पुनः निरन्तरता दिइएको थियो । २०७१ असार २७ मा ठेक्का सम्झौता भएको पुल निर्माणको अवधि ०७३ असार २६ सम्मलाई थियो । तर, काम नसकिएपछि ०७४ पुस २७ सम्मलाई पहिलो पटक म्याद थपियो । त्यसयता पनि पटक–पटक म्याद थपिसकिएको थियो ।  

डिभिजनका अनुसार ६ करोड १२ लाख ९२ हजार रुपैयाँमा पुल निर्माण सम्झौता भएको थियो । ठेकेदारले अढाई करोड रुपैयाँभन्दा बढी भुक्तानी लिइसकेका छन् । ठेकेदार कम्पनी नेसनल÷निलगिरी जेभीले ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम जरिमाना तिरेको थियो ।

प्रकाशित: ५ श्रावण २०७७ १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App