१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णालीका मुख्य सडकहरुमा डोजर राखिने

राप्ती राजमार्गअन्तर्गत रुकुम पश्चिमखण्डमा सडकमुनिबाट गएको पहिरो । फाइल तस्बिर

प्रदेश विपद् व्यवस्थापन केन्द्रले प्रदेशभित्रका मुख्य सडकहरूमा २० देखि ३० किलोमिटरको दूरीभित्र डोजर व्यवस्था गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ । सडकमाथि र मुनिबाट पहिरो खस्ने हुँदा उक्त केन्द्रले सडकमा डोजर राख्न निर्देशन दिएको हो ।

बर्षायामको तीन महिनासम्म तोकेकाअनुसार सडकमा जोडर राखिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । ‘सडकमा कतिबेला पहिरो खस्छ र यात्रुको आवागमन अवरुद्ध हुन्छ पत्तै हुँदैन,’ प्रदेश सरकारकी प्रवक्ता बिमला केसीले भनिन्, ‘त्यसैले यात्रुको यात्रामा सहजता ल्याउन ठाउँठाउँमा जोडर राख्न लागिएको हो ।’ सडक मर्मत सम्भार नहुँदा यहाँका मुख्य सडकखण्ड कर्णाली र राप्ती राजमार्ग ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन् । यी सडकमा पनि सडकमाथिबाट पहिरो खस्दा बेलाबेला अवरुद्ध हुने गरेका छन् । त्यस्तै मुख्य ग्रामीण क्षेत्र पनि कच्ची हुँदा यतिबेला यात्रा जोखिमपूर्ण हुने गर्छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले जिल्लामा खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय र पूर्वाधार विकास कार्यालयहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेको छ । ‘सडक अवरुद्ध भएपछि तत्काल बाटो खुलाउन निर्देशन दिएका छौं,’ भौतिक पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले भने, ‘सडक अवरुद्ध हुनासाथ सुचारुका लागि काम गर्छाैं ।’ कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो खस्दा पटकपटक अवरुद्ध हुने गरेको छ । जसले यात्रु सास्ती खपेर यात्रा गर्न बाध्य छन् ।

२० देखि ३० किलोमिटरको दूरीमा डोजर राखेपछि पहिरो पन्छाउन सहज हुने अपेक्षा गरिएको छ । अहिले नजिकै डोजर नहुँदा ठूलो पहिरो हटाउन हप्ता दिनसम्म लाग्ने गरेको छ । ‘जिल्लाबाट डोजर आउन ढिला हुन्छ,’ भौतिक पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सुवेदीले भने, ‘जसले यात्रुलाई समस्या हुने गरेको थियो ।’

प्रकाशित: ४ श्रावण २०७७ ११:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App