११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बेनी–जोमसोम सडक कटानले छियाछिया

अन्नपूर्ण गाउँपालिका–३ दानादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ मा कालिगण्डीकीले कटान गरेपछि मर्मतमा जुटेका नेपाली सेना । तस्बिर सौजन्य : निरज थकाली

बेनी–जोमसोम खण्डमा बाढीपहिरो र कालीगण्डकी नदीले कटाने अवरुद्ध भएपछि शनिबारदेखि मर्मतकार्य सुरू भएको छ । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक अन्तर्गत म्याग्दीखण्डमा मात्र करिब आधा दर्जन बढी स्थानमा पहिरो र नदीको कटानले सडक छियाछिया पारेपछि सडक नियमित सञ्चालनको प्रयास सुरु भएको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ मा कालिगण्डीकीले कटान गरेपछि सडकको बेस नै भत्किएको अवस्थामा आवतजावतमा समस्या भएपछि मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको उपस्थितीमा नदी कटानले अवरुद्ध भएको स्थानमा काम सुरू गरिएको स्थानीय इन्द्रसिंह शेरचनले बताए ।

सडकखण्डमा नेपाली सेनाको टोलीले मर्मत सुरू गरेको छ । दुवै जिल्लाको सिमानामा पर्ने काभ्रेभिरमा धेरै क्षति पुगेपछि मर्मतको काम सुरू गरिएको सांसद तुलाचनले बताए । ‘नियमित सञ्चालनमा धेरै समस्या हुने देखिएको छ,‘भत्किएको ठाउँमा मर्मत गरिन्छ’ तुलाचनले भने । बाढीपहिरो र कटानले असर गरेको स्थानको स्थलगत अनुगमन समेत गरिएको बताए । अवरुद्ध सडक सञ्चालन र मर्मतका लागि  म्याग्दी र मुस्ताङका जनप्रतिनिधिले प्रदेश र संघीय सरकारलाई समेत अनुरोध गरेका छन् । ७९ किलोमिटरको बेनी–जोमसोम सडकखण्ड अन्तरगत बाढीले गलेश्वरको बेलिब्रिजमा क्षति पुगेको छ भने अन्नपूर्ण–३ दानाको खामभित्ता, गुईठेभिर, दवाडी खोलामा जमिन भाँसिएको छ भने माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।

यता गलेश्वरको बेलिब्रिजलाई मर्मत गरी पुरानै ठाउँबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । ‘एकसाताभित्र सञ्चालनमा ल्याउँछौ,‘तत्काल मर्मत गरी पूरानै ठाउँबाट प्रयोग गछौं’ प्रजिअ ढकालले भने । उनका अनुसार नजिकै अर्को पक्की पुल समेत निर्माणाधिन अवस्थामा रहेकाले भत्किएको पुललाई अस्थायी रुपमा प्रयोगमा ल्याउने र ठूला हेभी इक्यूमेन्टलाई ढुवानीमा कडाई गरिने बताए । पुल मर्मतपछि परीक्षण गरेर मात्रै सञ्चालन गर्ने तयारी भइरहेको छ ।  

गत असार २५ गते राहुघाट नदीमा आएको बाढीले कटान गर्दा पुल भत्किएको थियो । सडक खण्डअन्तर्गत तातोपानीको पोखरी, नागढुंगा, दानाको गुईठे, काभ्रेभीर, मुस्ताङको थासाङ् गाउँपालिका–४ घाँसा, सिर्कु, मार्फाको स्याउबारी आसपासको क्षेत्रमा धेरै जोखिम रहेको छ ।  

लगातारको बर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटले बेनी–जोमसोम–कोरला खण्ड स्तरोन्नति भइरहेपनि यात्रुले हरेक वर्ष बर्षातको समयमा निकै सास्ती खेप्नुपर्छ । मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग एवम् गण्डकी प्रदेशको लाइफलाइन मानिने सडक जोमसोम हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानालाई जोड्न स्तरोन्नती र कालोपत्रे गर्ने तल्लो खण्ड २ अर्ब ४० करोड रुपैयाँ लागतको आयोजनाको कामले तीव्रता पाएपनि सडकखण्डका पहिरो रोकिएको छैन । असारदेखि असोजसम्म सडकखण्डमा यात्राको क्रममा निकै सास्ती हुने गरेको छ ।

सडक भासिँदा ज्यान गुम्यो
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको गुईठेभीरमा सडक भाँसिदा निर्माण साम्रगी बोकेको टिपरसँगै चालक कालिगण्डकी नदीमा खसेर मृत्यु भयो । अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माणाधिन अवस्थामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको बा २ ख ३४२५ नंबरको टिपरसँगै मंगला गाउँपालिका–५ छिस्वाङ घर भएका चालक २७ वर्ष ज्ञानबहादुर पुनको शव रातोपानीबाट निकालियो । अनुभवी चालक पुन जमिन भाँसिएर टिपर अनियन्त्रित भएपछि नदीमा खसेका थिए । 

तलबाट नदीको कटान बढ्दै जाँदा माथिबाट पहिरो खस्ने क्रमले बर्खाको समयमा सडकमा सवारीसाधन तथा पैदलयात्रामा समेत आवतजावतमा निकै समस्या हुने गरेको छ भने हरेक वर्ष मानवीय क्षति समेत थप त्रास बढाएको छ । सडकखण्डमा मजदुरदेखि यात्रुले हरेक वर्ष ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित: ३ श्रावण २०७७ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App