१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोले एकै परिवारका तीन जनाको मृत्यु (अपडेट)

अब्यवस्थित रुपमा बनाइएको कमजोर बाटोले लियो ज्यान

पहिरोले भत्काएको घर, घरको पूर्व पट्टीको कोठा पुरिदा पश्चिम पट्टीको कोठामा सामान्य मात्र क्षति भएको घर । तस्बिर : उमेश/नागरिक

अविरल बर्षापछि आएको पहिरोले पुरिएर कास्कीको माछापुच्छ्रेमा एकै परिवारका ३ जनाको ज्यान गएको छ । शुक्रबार विहान घर माथिबाट आएको पहिरोले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ खोराको मुखस्थित प्रेमराज विकको घरको एउटा कोठा पुरिदा उनीहरुको ज्यान गएको हो । विहान करीब सवा ५ बजेको समयमा आएको पहिरोले विकका २ नाती र १ नातिनीको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

राती खाना खाएर सुतेका ५ जना मध्ये विकका जेठो छोरापट्टीको नातिनी १६ वर्षिया रोजिना विक, माइला छोरापट्टीको नाती १८ वर्षीय कुशल विक र कान्छा छोरापट्टीको नाती समीर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।

स्कुल विदा भएकाले हजुरबुबाको घरमा बस्न जेठो छोराको छोरी रोजिना र माइलाको छोरा कुशल २ दिनअघि खोराकोमुख गएका थिए । लामो समय विद्यालय बन्द भएर अध्ययन÷अध्यापन नभएपछि हेमजा घर भएका कुशल र लामाचौर घर भएकी रोजिना सोमबार मात्र हजुरबुबाकोमा गएका थिए । कान्छा छोराको परिवार भने प्रेमराजसँगै बस्दै आएका थिए ।

राती करीब १० बजे सुतेका उनीहरुले विहान देख्नै पाएनन् । विहानीपख घरमाथिको बाटो भत्किएर घरको एउटा कोठा पुरै पुर्दा उनीहरुको सुतेकै ठाउँमा मृत्यु भएको डिएसपी हमालले जानकारी दिए । घरमाथिको बाटो गत वर्षमात्र बनाइएको थियो । घर भन्दा करीब ५० मिटर माथिबाट आएको पहिरोले घर पछाडिको बाटोलाईसमेत भत्काएर घर पुरेको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए । घुमाउरोहुँदै स्टेप स्टेपमा बाटो लगिएको तर कमजोर धरातलमा बाटो हुँदा पहिरो गएको पीडित परिवारको गुनासो छ । यसअघी गत असार २८ गतेपनि अहिले गएको पहिरो भन्दा ५० मिटर पश्चिमपट्टीपनि पहिरो गएको थियो । पहिरो गएको ठाउँ नजिक घर नहुँदा त्यो बेला भने क्षेति नभएको स्थानियले बताए ।

पहिरो आएका बेला विक दम्पती भने अर्कै कोठामा भएकाले उनीहरु सकुशल छन् । घरका अन्य कोठामा क्षेति पुगेपनि विक दम्पती चोटमुक्त छन् । विककी कान्छी बुहारी काखे छोरा लिएर बुधबार माइत गएकाले थप क्षेति हुनबाट जोगिएको प्रहरीको भनाई छ । कान्छा छोरा भने विदेश रहेको पारिवारिक श्रोतले बताएको छ ।

यसैबीच, मृतकहरुको शुक्रबारै अन्त्येष्टी गरिएको छ । उनीहरुको पोखरास्थित सेती नदी किनार रामघाटमा सामूहिक दाहसंस्कार गरिएको हो ।

प्रकाशित: २ श्रावण २०७७ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App