७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रदेश २ : कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो, बेवास्ताले संक्रमणको जोखिम बढ्दै

लहान बजारमा मास्क र सामाजिक दूरी बिना दैनिक हुने भिडभाड। जसले संक्रमणको जोखिम बढउँदै छ। तस्विरः मिथिलेश यादव

पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय जेष्ठ नागरिकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उनी चार दिनअघि उपचारका लागि प्रतिष्ठान पुगेका थिए।

एक साताअघि भारतको दरभंगाबाट श्रीमती र आफ्नो उपचार गराएर फर्केका उनी घरमै बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवले बताए। मुटु, रक्तचापलगायतका स्वास्थ्य समस्या भएका उनी असार ३० गत्ते उपचारका लागि धरान पुगेको यादवले बताए। सोही दिन उनको पिसिआर विधिबाट प्रयोगशाला परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आएको उनले बताए।  

कोरोना संक्रमित उनको मृत्युपछि सँगै भरातको दरभंगा गएकी उनको श्रीमती र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ भैरहेको यादवले बताए।

मृतक राजविराजका खाद्य विज भण्डारका संचालक एवं प्रतिष्ठित व्यपारी रहेकोले उनको सम्पर्कमा समाजका धेरै मानिस आएको अनुमान गरिएको छ। सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान भैरहेको छ यादवले नागरिकसँग भने,‘पहिलो चरणमा उनको परिवारका व्यक्तिलाई आइसोलेट गर्दै छौं।’ त्यसपछि सम्पर्क व्यक्तिहरुको पहिचान गरेर क्वारेन्टिन गर्छौ। यो घटनासँगै यहाँका समुदायमा कोरोना संक्रमण फैलिएको हुन सक्ने सम्भावना चिकित्सकहरुले व्यक्त गरेका छन्।  

यो सँगै प्रदेश २ मा कोरोनाका कारण मृतकको संख्या ६ पुगेको छ। यस अघि रौतहटका २, बाराका २ र पर्सामा बेवारिसे भेटिएका एक मृतकमा कोरोना संक्रमण पुष्टि भैसकेको प्रादेशिक स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ स्वास्थ्य निरिक्षक विजय झाले बताए।

बुधबार रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षीय युवकको वीरगन्जको नारायणी अस्पतालमा(अस्थायी कोरोना अस्पताल) उपचारको क्रममा मृत्यु भयो।  

बेंग्लोरमा दाजुभाइ सँगै बसेर मजदुरीको काम गर्दै आएका उनको भाइको कोरोनाका कारण उतै मृत्यु भयो। भाइको मृत्युपछि असार २४ गत्ते घर फर्केका उनी चार दिन परोहा नगरपालिका–३ को आधारभूत विद्यालय तेजापाकड क्वारेन्टिनमा बसेका थिए। आउँदा कुनै लक्षण नभएका उनलाई असार २९ गते दिउँसो अचानक ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भएपछि तत्कालै नारायणी अस्पताल वीरगंज पठाएको रोहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जलन्धर प्रसाद यादवले बताए।  

‘कोरोना संक्रमित भाइको मृत्यु भएपछि उनी भोकभोकै बसेर निकै कमजोर भैसकेका थिए’ यादवले भने,‘ क्वारेन्टिनमा बस्दा उनमा डर र कमजोरी प्रष्टै झल्किन्थ्यो। भाईजस्तै आफू पनि मर्छु भनेर उनी निकै डराएका थिए।’ मृतक युवकमा कोरोनाको लक्षणबाहेक अन्य स्वास्थ्य समस्या देखिएको थिएन।  

जेठ ३० गत्ते बारा निजगढ गनरपालिका–६ का ५ वर्षीय बालकको वीरगन्ज हेल्थ केयर हस्पिटलमा भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु थियो। निमोनीया र ज्वरोले सिकिस्त बालकको स्वाब परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएको थियो।  

जेठ २८ गत्ते वीरगंजको घन्टाघर नजिकै ३० वर्षीय युवक मृत भेटिए। शवलाई सुरक्षा सतर्कतासाथ नारायणी अस्पतालको शवगृहमा राखेर चिकित्सकले स्वाब संकलन गर्यो। प्रयोगशाला परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आयो।पहिचान नखुलेपछि जेठ ३१ गत्ते नेपाली सेनासहितको शव व्यवस्थापन टोलीले शव व्यवस्थापन गर्यो।  

जेठ ४ गते वीरगंज महानगरपालिका–१५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बारा करैया गाउँपालिका–७ का एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो।  

संक्रमित घट्दै जोखिम बढ्दै

प्रदेश २ मा कोरोनाको हटस्पट जिल्ला मध्ये रौतहटको परोहा नगरपालिकामा करिब दुई हजार मानिस क्वारेन्टिनमा बसे। जसमध्ये करिब २ सय मानिस कोरोना संक्रमित भेटिए। उनीहरु सबै लक्षणबिनाका थिए। केहि हप्ताको आइसोलेसन बसाईपछि निको भएर धेरै संक्रमित घर फर्किसकेका छन। थोरै घर फर्किनका लागि नेगेटिभ रिपोर्टको प्रतीक्षा गर्दैछन्।

बुधबार नारायाणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएका युवक बसेका रौतहतको क्वारेन्टिनमा ४५ जना छन्। जसमध्ये दुई जना संक्रमण पुष्टि भएकाहरु लक्षण विनाका छन्। उनीहरुलाई स्थानीय आइसोलेसन केन्द्रमा राखिएको स्वास्थ्य संयोजक यादवले बताए।  

सुरतबाट असार २४ गत्ते आएका अर्का एक जना युवकमा पनि कडा लक्षण देखिएको उनले बताए। ज्वरो, श्वासप्रश्वासमा समस्या र झाडापाखालाको समस्या देखिएका उनलाई बुद्यबार थप उपचारका लागि नारायणी अस्थायी कोभिड अस्पताल पठाइएको यादवले बताए। उनको पिसिआर विधिबाट गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।  

पहिलाको तुलनामा संक्रमितको संख्या घट्दै गएपछि संक्रमितहरुमा देखिएको कडाखाले लक्षणले चिन्ति बनाएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता (वरिष्ठ स्वास्थ्य निरीक्षक) विजय झाले बताए। पहिलादेखि कुनै दिर्घरोग नभएका युवकहरुमा पनि कडा लक्षण देखिने र ज्यान जाने घटनाले नयाँ ढंगबाट सोच्न बाध्य बनाएको छ, उनले भने। भारतबाट फर्किनेहरुको संख्या घटेपछि क्वारेन्टिनहरुमा पनि चाप घट्दै गएको छ। जसका कारण प्रयोगशालामा पनि नमुनाहरुको चाप कम भएको छ। बजारमा चहलपहल बढेको छ। समाजिक दूरी, मास्कको प्रयोग घट्दै गएको छ। कोरोना संक्रमणप्रती बेवास्ता बढ्दै गएकोले संक्रमण समुदायमा फैलिनसक्ने जोखिम पनि उतिकै बढेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका झाले बताए।

अब समुदायमा परीक्षणको दायरा बढाउन प्रदेश सरकारलाई सुझाब दिएका छौं झाले भने,‘समुदायमा जोखिम समूहको पहिचान गरी परीक्षण आवश्यक भैसकेको छ। जोखिम समूहलाई परीक्षणको दायरामा ल्याउन नसकिए संक्रमणले भयावह रुप लिन सक्ने जोखिम छ।’ यो प्रदेश जनसांख्यीक हिसावले सघन र खुल्ला सीमाका कारण सहज आउजाउ भएकाले संक्रमणको जोखिम उच्च छ। अहिलेसम्म यस प्रदेशमा ४८ हजार ६ सय स्वाब संकलन भएको छ। जसमा ३ हजार ९ सय ५३ व्यक्तिको रिपोर्ट पोजेटिभ आएको प्रदेश २, सामाजिक विकास मन्त्रालयले जनाएको छ। एक हजार ९ सय १५ जना आइसोलेसनमा भर्ना छन। दुई हजार ५ सय ३८ जना व्यक्ति कोरोना जीतेर घर फर्किसकेका छन्।

 

 

 

 

 

 

 

 

प्रकाशित: २ श्रावण २०७७ ०८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App