९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

म्याग्दीका फाँटैभरि छपक्कै सलह

दुई साताअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह मङ्गलबार र बुधबार तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । मङ्गलबार भित्रिएको सलहले बुधबार पनि बालीनाली नष्ट गरेपछि यहाँका कृषकहरु चिन्तित भएका छन् ।

पश्चिम म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकाको सिंगा, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौरलगायतका गाउँहरुमा लगाएको मकै र धान बाली सलहको झुण्डले नष्ट गरिदिएको किसानहरुले बताएका छन् । सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको तोराखेतका  कृषक सागर खत्रीले बताए । 'चार/पाँच लाखभन्दा धेरै सङ्ख्यामा भित्रिएको सलहले गाउँ नै छोपेको छ,' उनले भने, 'भगाउने प्रयास गर्दा गर्दै बाली र बोट बिरुवाको पात नष्ट गरेको छ ।'

बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयले टिन, थाल ठटाउनुका साथै  ध्वनि निकालेर भगाउने प्रयास गरेपनि सफल नभएको खत्रीले बताए । बुधबार बिहानै खेतबारीमा देखिएको सलहले सबैभन्दा बढी मकै बालीमा क्षति पुर्‍याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ । बाढी पहिरोले वितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सलह प्रवेश गरेपनि क्षतिको विवरण प्राप्त भई नसकेको जनाएको छ । दुई हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिङ्गा, भकुण्डेलगायतका क्षेत्रमा सहल पानी परेपछि हराएको थियो । 

प्रकाशित: ३१ असार २०७७ १४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App