८ वैशाख २०८१ शनिबार
समाज

प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध जनकपुरमा साधुसन्तको प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएपछि जनकपुरका साधुसन्त तथा हिन्दु धर्मावलम्बी निकट संघ संस्थाहरु विरोधमा उत्रेका छन् । विश्वका करोडौं हिन्दु धर्मावलम्बीको आस्थामाथि प्रधानमन्त्री ओलीले ठेस पुर्‍याएको भन्दै बुधबार हिन्दु परिषद नेपालले जनकपुरमा विरोध र्‍याली प्रदर्शन गरेको छ । राष्ट्रिय झण्डा र हिन्दू परिषदले प्रयोग गर्ने रातो झण्डा लिएर जनकपुरको रामानन्द चोकबाट निस्केको विरोध र्‍याली नगरको बिभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा कोण सभामा परिणत भएको थियो ।  

केपी ओली मुर्दावाद, हिन्दु धर्ममाथि प्रहार गर्न पाइँदैन लगायतका नारा लगाउदै निस्केको जुलुसमा साधुसन्त र युवाहरु समेत सहभागी थिए । कोण सभालाई सम्बोधन गर्दै साधुसन्तहरुले प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सदियौंदेखिको रहेको सम्बन्धलाई कुतर्क गरेर तोड्न खोजेको भन्दै आक्रोश पोखेका थिए ।  

कोण सभामा बोल्दै रमानन्दीय वैष्णव संघ जनकपुरकरा महासचिव नवलकिशोर शरणले भगवान रामको जन्म भारत उत्तर प्रदेशको पवित्र सरयुग नदीको किनारमा अवस्थित अयोध्यामा भएको बताउदै प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले सनातन धर्मग्रन्थ तथा विश्वका करोडौं हिन्दुको आस्थामाथि बज्र प्रहार भएको बताए । संघले विज्ञप्तिसमेत जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको घोर भत्सर्ना गर्दै उक्त अभिव्यक्ति अविलम्ब फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।  

विज्ञप्तिमा प्रधानमन्त्री जस्तो व्यक्तिले बोलेको राम जन्म भूमि बारेको अभिव्यक्तिले विश्वका हिन्दुहरुको आस्थामाथि प्रहार भएको उल्लेख छ । यस्तै जानकी मन्दिरका महन्त रामतपेश्वर दास ‘वैष्णव’ ले समेत प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै उनकोे सद्बुद्धिको कामना गरेको बताए ।  

‘अयोध्यामा राम जन्मभूमि छ, कनक दरबार पनि त्यहीं छ, सरयुग नदी त्यहीं बगेको छ, वास्तविक अयोध्या त्यही हो,’ उनले भने, ‘प्रधानमन्त्री कुनै व्यक्ति मात्र हुनुहुन्न देशको सर्वोपरी संस्था हो । प्रधानमन्त्रीले कुनै विषयमा बिना कुनै जानकारी या भनौं हचुवा सूचनाको भरमा औपचारिक रुपमा बोल्नु सुहाउदैन । वहाँको अभिव्यक्तिले हिन्दु धर्मालम्बीको आस्थामाथि चोट पुगेको छ ।’ प्रधानमन्त्री ओलीको दिएको अभिव्यक्ति विषयमा वृहत छलफल समेत बोलाइएको उनले जानकारी दिए ।

प्रकाशित: ३१ असार २०७७ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App