२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कलैयाका सडकहरुमा खाल्डै खाल्डो

अधुरो हुलाकी राजमार्ग अन्तर्गत कलैयाको तिनकुने चौकमा सडकमै भएको खाल्डोमा परेका सवारी साधनलाई निकाल्दै जेसिभी ।

जिल्लाको सदरमुकाम समेत रहेको कलैया उपमहानगपालिकाको कलैया बजार क्षेत्रको सडकहरुमा बर्षाले गर्दा खाल्डै खाल्डो भएको छ । सडकमा खाल्डै खाल्डो भएपछि सवारी साधनको साथ साथै सर्वसाधारणहरुलाई समेत आवतजावत गर्नमा समेत समस्या भएको छ।

बिशेषगरि अधुरो रहन गएको मानवत–कलैया–मटिअर्वा हुलाकी राजमार्ग अन्तर्गत पर्ने कलैयाको मदिन टोलदेखि भरत चौकसम्मको सडकमै तीन तीन फिट गहिरोसम्म खाल्डो परेको छ। सडकमै गहिरो खाल्डो परेको कारणले सवारी साधन र सर्वसाधारणलाई आवतजावतमा समस्या परेपछि त्यसको मर्मतको माग गर्दै स्थानीयहरुले पटक पटक सडक बन्द गरेर बिरोध समेत गर्दै आएका छन्।

कलैयाका स्थानीय शशी दासले तीनवटै तहको निर्वाचन भएर तीन आर्थिक वर्षको बजेट खर्च गरिए पनि कलैया बजार क्षेत्रको सडकहरु राम्रो बन्नुको साटो झन बिग्रेर र हिँडडुल गर्न नसकिने अवस्थामा पुगेको बताएका छन्।

अधुरो रहन गएको हुलाकी राजमार्गको साथ साथै सिद्धेश्वर –बालमन्दिर सडक, कलैया बजारको मुख्य सडक, बैंक रोड, जिल्ला प्रशासन कार्यालयको पश्चिम तर्फ घुसुकपुर जाने सडक लगाएतको बजार क्षेत्रका अधिकाँश सडक बर्षायाममा हिँडडुल गर्न नसकिने अवस्थामा रहेको र यसले कलैयावासीको साथ साथै बाहिरबाट कलैया प्रवेश गर्नेहरुलाई समेत सास्ती खेप्नु परेको दासले बताए।

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले अधुरो रहन गएको मदिन टोलदेखि भरत चोकसम्मको हुलाकी सडकको मर्मत कार्य प्रहरी प्रशासनको उपस्थितीमा सुरु गरिने सहमति भएको बताएका छन्। कलैया उपमहानगरपालिकाले बर्षाको सयममा खसालेको ग्राभेलको केही मात्रा बगेर गएपछि प्राबिधिकहरुले सडकको मर्मत कार्यमा ग्राभेल प्रयोग गर्नमा डराएकोले सयममै त्यसको मर्मत गर्न नसकिएको बताए।

सडकमा धेरै गहिरो खाल्डो भएकोले त्यसलाई पुर्न ग्राभेलको मात्रा धेरै लाग्ने र धेरै ग्राभेल लगाउँदा अनियमितको आरोप लाग्ने डरले गर्दा प्रहरी, प्रशासनको प्रतिनिधिको उपस्थितीमा सडकको मर्मत गर्न लागिएको नगर प्रमुख यादवले बताए।

ठेक्काको समय बिताएर सडकको भौतिक संरचना खाली गर्दा समस्या
हुलाकी सडक खण्ड अन्तर्गत कलैया बजार क्षेत्रको साढे तीन किलोमिटर लामो सडकमा पर्ने भौतिक संरचनालाई स्थानीयहरुले ढिलो गरि खाली गर्दा सडक बन्न नसकेर खाल्डै खाल्डो भएको छ।

पूर्व–पश्चिक महेन्द्र राजमार्गलाई मटिअर्वा भन्सारसम्म जोडन उद्येश्यले भारत सरकारको सहयोगमा निर्माण सुरु गरिएको हुलाकी सडकको लागि साविक सडकको मध्य भागदेखि दाया बायाँ १५/१५ मिटरसम्म स्थानीयहरुको जग्गा अधिग्रहण गरिने निर्णय गरिएको थियो।

तर कलैया बजार क्षेत्रका केही स्थानीयहरुले अधिग्रहण गरिएको जग्गाको मुआब्जा कम भएको भन्दा सडकलाई ७.५/७.५ मिटर मै निर्माण गर्न माग राख्दै त्यसको अवरोधमा उत्रेका थिए।

केही जनप्रतिनिधिहरुको सहयोगमा उनीहरुले बिरोध गर्दा अहिले सडक नबन्दा कलैया नै कुरुप देखिएको छ।

सडकमा परेको जग्गा र भौतिक संरचनाको मुआब्जा लिएर खाली गर्नुको साटो त्यसको बिरोधमा लाग्दा सडक नै अधुरै रहन गएको स्थानीय सुनिल कुशवाहाले बताएका छन्।

बर्षायाम सुरु भएपछि त्यस सडकमा घर अगाडी नै तीन तीन फिटसम्म खाल्डो भएको र त्यसमा सवारी साधानको साथ साथै सर्वसाधारणलाई हिँडडुल गर्न नसकिने अवस्था रहेको कुशवाहाले बताए।

पहिला स्थानीयहरुको लापरवाहीले सडक बन्न नसके पनि अहिले सडकमा भएको खाल्डोको मर्मत गर्न कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव र प्रदेश सरकराको मन्त्रीहरुलाई दिने तकेता गरिएको बताए।

२७ किलोमिटर लामो मानमत–कलैया–मटिअर्वा सडक खण्डलाई दुई प्याकेजमा गरेर काठमाडौंको आशिष÷ डिएस जेभी निर्माण कम्पनीले २०७६ बैशाख महिनासम्ममा निर्माण सम्पन्न गर्न ४८ करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ।

प्रकाशित: २८ असार २०७७ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App