५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बराहपोखरीबाट रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ

दुर्लभ रातो माछा पाइने खोटाङको बराहपोखरी । तस्बिर : दमन/नागरिक

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीबाट दुर्लभ रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको बराहपोखरीमा पाइने रातो माछा डोकोले छोपेर निकालीरहेको अवस्थामा सोही ठाउँका ५७ वर्षीय प्रेमबहादुर राई र २७ वर्षीय जितबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लोपोन्मुख बनेको रातो माछा निकाली रहेको सूचनाका आधारमा प्रहरीचौकी बराहपोखरीकै प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।  

दुई जनाविरुद्ध चोरी अन्तरगतको कारबाही चलाउने तयारी गरिएको छ । पक्राउका क्रममा भेटिएका ज्यूँदो माछालाई पोखरीमै छाडिएको र मरेको माछालाई बरामद गरिएको प्रहरीले जनाएको छ । बराहपोखरीबाट अन्दाजी ३५ केजी रातो माछा निकालिएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक गोविन्द शाहले बताए ।  

सय वटा गन्तव्यको सूचीमा समावेस बराहपोखरीमा पाइने दुर्भल रातो माछाको अस्तित्व मानवीय क्रियाकलापकै कारण पछिल्लो समय संकटमा पर्न थालेको छ । ३३० मिटर लम्वाई र २१० मिटर चौडाई रहेको बराहपोखरीमा दैनिकजसो माछा मरेको भेटिने गरेको छ । चारैतिर पहाड र बीचको उपत्यकामा रहेको पोखरीमा टाढाबाटै राताम्य माछा खेलीरहेको देखिने गरेकामा हाल मरेको माछा तैरिरहेको भेटिने गरेको स्थानीय बिदुर श्रेष्ठले बताए । मुहान र निकास नदेखिने खुर्पा आकारको पोखरीमा बढ्दो फोहोरमैलाका कारण रातो माछाको अस्तित्व संकटमा पर्न लागेको अनुमान गरिएको छ ।  

स्थानीयबासीले पोखरीमा नुहाउने र लुगा धुने गर्दा बढेको फोहोरमैला र साबुनको अशरका कारण रातो माछा मर्न थालेको स्थानीयको दाबी छ । जलवायु परिवर्तन र बढ्दो तापक्रमको असरले समेत माछाको अस्तित्व संकटमा परेको हो । पोखरीको पानी कम हुँदै जाँदा र पानीमा जैविक पदार्थको मात्रा बढ्दै जाँदा माछालाई ढुसीजन्य संक्रमण हुने र फुल्का कुहिने रोग लागेर मर्ने गरेको माछा सम्वन्धी जानकारहरु बताउँछन् । 

पोखरीको सरसफाईमा ध्यान नपुग्दा फोहोरको कारण अक्सिजन कमी हुँदा समेत माछालाई असर पुगेको कतिपयको बुझाई छ । त्यसमाथि बथानका बथान आउने पानी हाँसले समेत माछा खाने गरेको छ । हाँसको पञ्जाबाट उम्किए पनि ठुँगेको चोटका कारण पनि माछा मर्ने गरेको स्थानीयको अनुमान छ ।  

मुहान र निकास हुने स्थान नदेखिए पनि बा¥है मास पानी हुनु बराहपोखरीको बिषेशता हो । ‘अर्धचन्द्राकार’ बराहपोखरी बिकास, संरक्षण र संबर्धनको अभावमा हालसम्मै ओझेलमा परेको छ । 

प्रकाशित: २८ असार २०७७ ०७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App