coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चार नगरपालिकाको सदरमुकामसंग सडक सम्पर्क विच्छेद

रौतहटको दक्षिणी भेगमा बाढीको असर

गत वर्ष नै लालबकैया नदीमा आएको बाढीले तटबन्ध बगाएपछि बाढीको पानी प्रवेश गर्दै सदरमुकाम गौरमा । तस्बिर : मदन/नागरिक

लागातार तिन दिनदेखि परिरहेको अविरल वर्षाको कारण रौतहटको जनजीवन प्रभावित बनेको छ । पहाडी तथा चुरे क्षेत्रमा निरन्तर भइरहेको वर्षाको कारण जिल्लाको प्रमुख तथा सहायक नदीहरूमा आएको बाढीले सदरमुकाम गौर सहित दर्जन गाउ डुबानमा परेका छन् ।

जिल्लाको पुर्व तर्फ बागमती र पश्चिममा लालबकैया बीच भएर बग्ने सहायक नदीहरूमा आएको बाढीको पानीले खेती योग्य जमिन पुर्ण रुपमा डुवान गर्नुका साथै बस्तीमा समेत प्रवेश गर्न थालेको छ।

सदरमुकाम गौर नगरपालिका–२ महादेवपटीदेखि पश्चिमनेपाल भारत सिमाक्षेत्र नजिक लालबकैया नदीमा गत वर्ष नै बाढीले तटबन्ध भत्काएको थियो । बाढीको पानीले गत वर्ष नै कटान गरेको तटबन्ध हासम्म मर्मत नभएको कारण लालबकैया नदीको पानी शनिबार विहान देखि गौर नगरक्षेत्रमा प्रवेश गरेको गौर–३ टिकुलियाका वडाध्यक्ष भुवनेश्वर प्रसाद शाहीले बताए ।

लालबकैया नदिमा आएको बाढीको पानीले ईशनाथ नगरपालीका–१ बन्जरहा गाउ डुवानमा परेको छ । बकैया नदीको पानी बन्जरहा गाउको बस्तीमा सरदर २÷३ फिट सम्म पानी जमेको छ ।  

बस्तीमा बाढीको पानी प्रवेश गर्न थालेपछि सशस्त्र प्रहरी बेसक्याम्प औरैया र सिमा प्रहरी चौकी बन्जरहाको टोलीले संयुक्त रुपमा पानीको अवलोकन गरीरहेको छ । बाढी प्रवेश गरे करिब तीन सय घर परिवारलाई सुरक्षित बास स्थानमा स्थान्तरणको तयारी समेत भएको वडाध्यक्ष विगु साहले बताए । भारतले सिमा मिचेर दशगजा मै तटबन्ध निर्माण गरेको कारण बाढी र वर्षाको निकास नपाउँदा वर्षेनी गाउँ नै डुवानमा पर्ने गरेको वडाध्यक्ष साहले बताए ।

यस्तै लालबकैया नदीमा आएको बाढीले राजपुर नगरपालिका–८ बलुवाटोलमा प्रवेश गरेको छ । टोलका करिब २० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बाढीको पानीले गण्डक नहर भएर राजपुर नगरपालिका तर्फ जाने बाटो अवरुद्ध भएको छ ।  

बकैया नदी बाढीले ओभरफ्लो भएर नहरको तिन फिट माथि बाट बगिरहेकोले बाटो अवरुद्ध भएको राजपुर नगरपालिकाको मेयर शेख सकिलले बताएका छन्। बकैया नदीमा आएको बाढीको पानीले सडक अवरुद्ध बनाएपछि सदरमुकाम गौर सँग जोडिएको क्षेत्र नम्बर २ को इशनाथ, राजपुर, परोहा र बौधीमाई नगरपालिकाको सडक सम्पर्क विच्छेद भएको मेयर सकिलले बताए ।

यसैगरी झाझ खोलाको बाढीले दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा स्थित दलित बस्तीका १५० घरको वरिपरी पुर्ण रुपमा जलमग्न भएको कारण सडक अवरुद्ध बनेको छ । झाझ खोलाको पानी केही घरमा पस्न थालेपछि स्थानीयहरू नजिकै रहेको सेल्फ सेन्टरमा आश्रय लिएको गाउपालीका अध्यक्ष अरुण साहले बताए । बाढीको पानीको कारण विस्थापित बनेकाहरूलाई खाद्यान्नको व्यवस्था मिलाउने काम भइरहेको अध्यक्ष साहले बताए ।  

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बकैया नदीको पाँच स्थान र वागमती नदीको एक स्थानमा अत्यन्तै जोखिमपूर्ण रहेकोले उक्त क्षेत्रमा प्राविधिक टोली संगै सुरक्षाकर्मीलाई हाई अलर्टमा खटाइएको बताए । देवाही गोनाही नपाको करुनिया मुसहरी टोल, परोहाको तेजापाकड, कटहरियाको हर्षाहा, फतुवा विजयपुरको लक्ष्मीनियामा लाल बकैया नदीको बाँध तथा वागमतीको माधवनारायण नपाको पिपरारजवाडामा बाँध अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको हुँदा उक्त स्थानहरूमा विशेष टोली परिचालन गरेर बाढीको अवस्थामा माथि मोनेटरिंग भईरहेको प्रजिअ घिमिरेले बताए ।

लालबकैया, वागमती, तथा सहायक नदी किनारमा रहेका बस्तीहरूमा सुरक्षाकर्मीहरू मार्फत, समाजिक संजाल, स्थानीय रेडियोबाट स्थानीय बासिन्दाहरूलाई सजग रहन सचेत गराउने कार्य जारी रहेको समेत उनले स्पष्ट पारे ।  

पहाडी तथा चुरे भेगमा भईरहेको वर्षाबाट वागमती नदीको बहाव उच्च भएपछि शनिबार विहानै वागमती सिंचाई आयोजनाको ३६ वटै ढोका खोलिएको हुँदा दक्षिणी भेगका जनताहरू सजग भएर बस्नुपर्ने भएपनि आत्तिन नहुने प्रजिअ घिमिरेले अपिल गरेका छन् ।

प्रकाशित: २७ असार २०७७ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App