हामीकहाँ धानका आफ्नै विशेषता छन्। यहाँ संसारकै सबैभन्दा होचो मानिने भू–भाग (समुद्री सतहको ६० मिटर) कचनकवलदेखि तीन हजार ५० मिटरसम्म उचाइको जुम्लाको छुमचौरसम्म धानखेती गरिन्छ।
जुम्लामा फलाइने जुम्ली मार्सी धानको बीउ चन्दननाथ बाबाले कास्मिरबाट ल्याएर सुरु गरेको इतिहास छ। यसले पनि नेपाल धान विविधतामा धनी रहेको देखाउँछ।
धानले कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान दिँदै आएको छ, त्यस्तै कृषिको कुल गार्हस्थ्य उत्पादनमा धानको २१ प्रतिशत योगदान छ।
बीउलाई नै व्यवस्थित गरे मात्रै पनि १५ देखि २० प्रतिशत उत्पादन बढाउन सकिने विज्ञ बताउँछन्। कृषिविज्ञ भोलामान सिंह बस्नेतका अनुसार, धान उत्पादनमा १० प्रतिशत उत्पादन बढाउँदा कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशत बढ्छ। आर्थिक वर्ष ०७६÷७७ मा ५५ लाख ६० हजार मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ, जुन कुल उत्पादनको मूल्यांकन गर्दा डेढ अर्ब रुपैयाँ बराबर हुन आउँछ।
हराउँदै रैथाने बीउ
नेपालमा धानका रैथाने (परम्परागत) जात कति छन् भन्ने अहिलेसम्म यकिन छैन। अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) फिलिपिन्सले नेपालका ७० जिल्लाबाट तीन हजार रैथाने जातका धान लगेर जिन बैंकमा राखेको छ।
संसारभर एक सय १३ देशमा धानखेती हुन्छ, जसमा एक लाख ४० हजारभन्दा बढी प्रजातिका रैथाने धान भएको अनुमान छ। फिलिपिन्सको जिन बैंकमै एक लाख १७ हजार प्रजातिका रैथाने जात छन्। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सन् २०१० देखि जिन बैंक सञ्चालनमा ल्याएको छ। बैंकले अहिलेसम्म २२ सय रैथाने जातका धान संकलन गरेको छ। इरीले अगाडिदेखि नै बीउ जम्मा गरेर लगेकाले तीन हजार रैथाने जात भेटिएको भए पनि अहिले त्यो संख्यामा पाउन गाह्रो परेको बैंकका प्रमुख कृष्णकुमार मिश्र बताउँछन्।
नेपालमा विभिन्न बालीका ३० हजार रैथाने जात भएको पाइएको छ भने त्यसमा अहिलेसम्म एक सय ४० बालीका १३ हजार रैथाने बीउ संकलन गरिएको छ।
मिश्र भन्छन्, ‘इरीले पाएजति हामीले भेट्न सकेका छैनौं। अन्य बालीको तुलनामा धानको बीउ बढी पाइएको छ, हामीले बर्सेनि बीउ थप्दै गएका छौं।’ मिश्रले नेपालमा विभिन्न बालीका ३० हजार रैथाने जात भएको पाइएको र त्यसमा अहिलेसम्म एक सय ४० बालीका १३ हजार रैथाने बीउ संकलन गरेको जानकारी दिए।
कृषिविज्ञ बस्नेत अरु मुलुकले रैथाने बीउको संरक्षण र सुरक्षामा चासो देखाउँदै आएको भए पनि नेपालमा बेवास्ता गरिएको बताउँछन्। ‘रैथाने बीउको संरक्षण र यसको सुरक्षाका लागि ऐन बनेको छ, तर यसको कार्यान्वयन फितलो छ,’ उनी भन्छन्, ‘कुनै समय नेपाल घुम्न आएका विदेशी पर्यटकले समेत बीउ लगेको भन्ने छ।’
संसारले रैथाने बीउलाई भविष्यको खाद्य असुरक्षाका लागि बिमाका रूपमा हेरेको उनी बताउँछन्। उनका अनुसार, सबै उन्नत बीउले काम नगरेको अवस्थामा पनि रैथाने बीउले उब्जनी दिएर सहयोग गर्छ। रैथाने बीउले सबै प्रकारको हावापानी र प्रकोपलाई सहन सक्ने सामथ्र्य राख्छ। तथापि किसानले रैथाने धान नै रोप्नुपर्ने उनको मत छैन। उनी भन्छन्, ‘अहिले हाम्रो उत्पादनको माग बढ्दै गएको छ, त्यसको माग रैथानेले पूरा गर्दैन, उन्नतमै जानुपर्छ, तर जसरी हुन्छ रैथाने बीउको संरक्षण गर्नुपर्छ।’
अहिले पनि नार्कले अनुसन्धान गरेको खुमल–४ सबैका माझमा लोकप्रिय छ। जुन पोखरेली रैथानेमा इरीको आरआर–२८ धानलाई क्रसिङ गरेर उत्पादन गरिएको हो। पोखरेली जेठोबुढो, छोमरोङ लोकल र लल्का बासमती रैथाने जातिमाथि गरिएको अनुसन्धानबाट उन्मोचन गरिएको बस्नेत बताउँछन्। उनी भन्छन्, ‘रैथानेमाथि पनि धेरै अनुसन्धान गर्न बाँकी छ।’
बीउ साट्दैनन् किसान
अहिले ९६ प्रतिशत किसानले उन्नत जातको धानको बीउ प्रयोग गर्दै आएका छन्। तर, बीउ साटफेरको दर साह्रै न्यून छ।
बीउविजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापा अहिलेको बीउ प्रतिस्थापन दर १८ देखि २० प्रतिशत मात्र रहेको बताउँछन्। बाँकी किसानले आफ्नै तरिकाले बीउको जोहो गर्दै आएका छन्। सामान्यतः प्रतिहेक्टरमा ५० किलो धानबीउ लाग्छ। ‘१५ लाख हेक्टर धानबालीका लागि ७० देखि ७५ हजार टन बीउ आवश्यक पर्छ। किसानले बढीमा १५ हजार मेट्रिक टन मात्र नयाँ उन्नत जातको बीउ खरिद गर्छन्,’ उनी भन्छन्, ‘बाँकी ५० हजार मेट्रिक टन बीउ किसान आफैँले जोगाउँदै आएका छन्।’
विज्ञहरू हरेक ६ देखि सात वर्षमा बीउको साटफेर गर्नुपर्ने बताउँछन्। अझैसम्म किसानले चार दशक अघिदेखि अनुसन्धान भएका बीउ नै प्रयोग गरिरहेका छन्।
यसले उत्पादन र गुणस्तरमा फरक पर्ने विज्ञको भनाइ छ। थापा भन्छन्, ‘किसानले प्रत्येक वर्ष बीउ साट्नुपर्छ। नभए बीउको छनोट, भण्डारण तथा ब्याड राख्दा त्यसको उपचार गर्नुपर्छ।’
कृषिविज्ञ बस्नेत किसानले बीउ परिवर्तन गर्न नसक्नुमा नयाँ जात किसानको रोजाइमा पर्न नसक्नु पनि कारण देख्छन्। ‘पुरानो जातको बीउले जुन स्वाद दिएको हुन्छ, नयाँले त्यो दिन नसक्दा पनि बीउ साट्दैनन्,’ उनी भन्छन्, ‘त्यसका लागि कम्तीमा किसान र उपभोक्ताको रुचिलाई बुझ्नुपर्छ।’
नेपालमा १९८१ सालदेखि धानको बीउमा परीक्षण हुँदै आएको पाइन्छ। तत्कालीन समयमा सिंहदरबारमा रहेको पुतली बगैंचामा धान अनुसन्धानको काम गरिँदै आएको थियो, जहाँ नेपालमा पहिलोपटक टाइचु—१७६ अनुसन्धानपछि सिफारिस भएको थियो। २००४ सालमा व्यवस्थित रूपले सर्लाहीको परवानीपुरमा पहिलोपटक अनुसन्धान फार्म खुलेको इतिहास छ।
नार्क अन्तर्गतको बीउ विज्ञान प्रविधि महाशाखाका प्रमुख ताराबहादुर घिमिरे अहिलेसम्म नार्कले ८३ जातको धानमाथि अनुसन्धान गरेर सिफारिस गरेको बताउँछन्। उनी भन्छन्, ‘८३ मध्ये अहिले पनि किसानले ३० देखि ३५ जातका उन्नत जातको बीउ प्रयोग गर्दै आएका छन्।’
कृषिविज्ञ बस्नेत नार्कले अनुसन्धान गर्दै आएको भए पनि सरकारका अन्य निकायले आफ्नो भूमिका निभाउन कन्जुसाइँ गर्दा किसानलाई बीउका बारेका जानकारी नै नहुने अवस्था रहेको बताउँछन्। उनी भन्छन्, ‘१२–१५ वर्ष लगाएर बीउको परीक्षण हुन्छ, तर प्रचार–प्रचार गर्नेले गर्दैनन्, जसले जन्मायो त्यसलाई माया हुन्छ भनिन्छ, यसको प्रचार–प्रसारको जिम्मा पनि अनुसन्धान गर्ने संस्थालाई नै दिनुपर्ने हुन्छ।’
१० प्रतिशत वर्णसंकर
फरक–फरक जातलाई क्रसिङ गरेर बनाइएको धानको जात (जसबाट उत्पादन बढी हुन्छ) लाई उन्नत मानिन्छ, जसलाई किसानले उत्पादन गरी बिउको रूपमा पुनः प्रयोग गर्न सक्छन्। वर्णसंकर (हाइब्रिड) पनि क्रसिङ नै हो। तर, यसलाई किसानले पुनः बिउको रूपमा प्रयोग गर्न सक्दैनन्।
हामीकहाँ कतै चार दशकदेखि एउटै बीउ छ भने कतै उत्पादन बढाउने नाममा १० प्रतिशत वर्णसंकर (हाइब्रिड) बीउको प्रयोग भएको देखिन्छ। चालू आर्थिक वर्षदेखि नार्कले हर्दिनाथ–१ र २ वर्णसंकर धानको बीउ ल्याएको भए पनि त्यसको बजार विस्तार भएको छैन। बीउविजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख थापा बर्सेनि २५ सय मेट्रिक टन वर्णसंकर बीउ आयात हुँदै आएको बताउँछन्। ‘वर्णशंकर बीउ प्रतिहेक्टरमा १५ किलो बीउ लाग्छ, यस हिसाबले डेढ लाख हेक्टरमा वर्णशंकर बीउ प्रयोग हुन्छ,’ उनी भन्छन्, ‘नेपाली उन्नत जातका बीउ पनि गुणस्तरीय छन् भन्ने महसुस हुन सकेको छैन।’
थापाले लकडाउन अवधिमा भारतबाट बीउ ल्याउन समस्या पर्दा नेपाली उन्नत बीउले बजार पाएको बताए। उनले भने, ‘नेपाली उन्नत बीउले बजार नपाएको अवस्था थियो, अहिले सबै बिक्री भयो। नेपाली बीउ पनि गुणस्तरीय छन्, तिनको बजार विस्तार र संरक्षणको जरुरी छ।’ कृषिविज्ञ बस्नेत वर्णसंकरप्रति नकारात्मक बन्नुभन्दा पनि त्यसकोे प्रयोग गर्दा मल, जलको मात्रामा विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताउँछन्। उनी भन्छन्, ‘वर्णसंकर बीउले प्रतिहेक्टर २० टन उत्पादन गर्न थाले। तर, हामी अझै ३.८ टन मात्र उत्पादन गरेका छौं। मल, जल र प्रविधिको सही प्रयोग गरे यसले गलत असर गर्ने भन्ने हुँदैन।’
अनुसन्धानमा लगानी कम
कृषिमा सरकारले बजेट बढाउँदै गए पनि ०.२ देखि ०.३ प्रतिशत मात्र अनुसन्धानमा खर्च गर्दै आएको छ। त्यसमाथि भएकै स्रोत र साधनको प्रयोग पनि प्रभावकारी भएको देखिन्न। कृषिविज्ञ बस्नेत आफूले ३५ वर्षअगाडि धान अनुसन्धान कार्यक्रमको जिम्मेवारी पाउँदाको स्मरण गर्छन्। उनी भन्छन्, ‘त्यतिबेला अहिलेभन्दा बजेट पनि कम थियो। जनशक्ति झनै कम थियो। तर, हामी बर्सेनि एक सय २० टन बीउ उत्पादन गथ्र्यौं। उनले अहिले अनुसन्धान केन्द्रले बढीमा ६० टनसम्म उत्पादन गर्दै आएको सुनेको बताए। अनुसन्धानले मात्र नपुग्ने भएकाले त्यसको प्रचार प्रसारमा पनि सक्रियता देखाउनुपर्ने उनको राय छ।
चैते धान विस्तार जरुरी
सरकारले पछिल्लो समय चैते धानको विस्तार गर्ने नीति लिएको बताउँदै आएको छ। विज्ञहरू मुलुकलाई आवश्यक पर्ने खाद्यान्नको अभाव टार्न चैते धान वरदान हुने बताउँदै आएका छन्। कृषिविज्ञ बस्नेत चैते धान अन्य धानको तुलनामा २० देखि २५ प्रतिशतसम्म उत्पादन बढी दिने बताउँछन्। उनका अनुसार, चैते धान अहिले डेढ लाख हेक्टरमा हुँदै आएको छ। मधेस र भित्री मधेसमा सजिलै चैते धानको उत्पादन हुन्छ। सरकारले सिँचाइको व्यवस्थापनमा ध्यान दिन सके ७० प्रतिशत खेती हुने भू–भागमा चैतेधान उत्पादन हुन्छ। चैतेधान मलको उपयोगिताका हिसाबले र रोग समेत कम लाग्ने भएकाले पनि उपयुक्त रहेको उनको भनाइ छ।
प्रकाशित: २७ असार २०७७ ०३:२६ शनिबार