७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अस्पताल आएकामा देखियो बढी संक्रमण

उपत्यकामा एकै दिन ४२ संक्रमित

काठमाडौं उपत्यकामा शुक्रबार एकै दिन ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडौंका २८, ललितपुरका १३ र भक्तपुरका एकजना छन्। एक सातायता उपत्यकामा संक्रमितको संख्या बढिरहेको तथ्यांकले देखाएको छ।

राजधानीका विभिन्न अस्पतालमा उपचारका लागि आएकाहरू सबैभन्दा बढी संक्रमित रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पाटन र टिचिङ अस्पतालबाट लिइएका नमुनाहरूबाट बढी संक्रमित पुष्टि भएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले बताए। उनका अनुसार उपत्यकाका निजी अस्पतालहरूले पठाएका नमुनाबाट पनि संक्रमित थपिएका छन्। ‘केही दिनयता देखिएका धेरैजसो संक्रमित अन्य रोगको उपचार गर्न आएका बिरामीमै संक्रमण देखिएको छ,’ उनले भने।  

विदेशबाट आई होटल क्वारेन्टिनमा बसेका पनि रहेको टिचिङ अस्पताल महाराजगन्जका कोभिड–१९ संयोजक डा. सन्तकुमार दासले बताए। ‘केही अस्पतालमा उपचार गर्न आएका बिरामी छन्,’ उनले भने, ‘केही विदेशबाट आएका छन्।’

शुक्रबारसम्म उपत्यकामा कुल संक्रमित तीन सय २७ जना पुगेका छन्। दैनिक संक्रमित संख्या बढेपछि राजधानीका आइसोलेसन अस्पतालहरू भरिभराउ भएको महाशाखाका जनस्वास्थ्य अधिकृत कोइरालाले बताए। राजधानीको युनिफाइड कोभिड अस्पताल बलम्बु, शुक्रराज सरुवा रोग अस्पताल, आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुर अस्पताल, काठमाडौं मेडिकल कलेज कोभिड अस्पताल दुवाकोटका आइसोलेसनमा राखिएकोे राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।  

अस्पतालमा  उपचारमा आउनेबित्तिकै कोरोना पुष्टि हुनु भनेको बिरामीले अस्तपालबाहिर समुदायमै संक्रमण लिएर पुगेको बुझिने सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताए। उनका अनुसार अस्पतालमा भर्ना भएको धेरै दिनपछि संक्रमण देखिए अस्पतालमा संक्रमित भएको प्रमाणित हुन्छ। अस्पतालमा कोरोना प्रभावित जिल्लाबाट उपचारमा आउने बिरामी र विदेशबाट आएका बिरामी उपचार गर्न जाने क्रममा अस्पतालमा संक्रमण फैलिएको हुन्छ।  

अस्पतालले राम्रोसँग संक्रमण न्यूनीकरण मापदण्ड पालना नगरेकाले अस्पतालमा कोरोना संक्रमण बढी देखिन थालेको  जनाइएको छ। ‘बिरामी पक्ष र अस्पताल दुवैले संक्रमण न्यूनीकरण मापदण्ड कडाइका साथ पालना गरे अस्पतालबाट हुने संक्रमणको जोखिम कम गर्न सकिन्छ,’ उनले भने। यसका लागि अस्पतालले त्यस्ता ठाउँहरूमा निसंक्रमण गर्ने, अस्तालमा कोभिड–१९ क्लिनिकमार्फत सम्भावित बिरामीलाई छुट्टै राखेर उपचार गर्ने, बिरामीको भीडभाड नहुनेगरी सेवा सञ्चालन गर्ने, अस्पताल सफाइ कडाइका साथ पालना गर्ने उपाय उनले सुझाए।  

देशभरि एक सय १८ जनामा संक्रमण पुष्टि  

पछिल्लो २४ घन्टामा उपत्यकाका ४२ जनासहित एक सय १८ जनामा कोरोना पुष्टि भएको छ। उपत्यकाबाहिर संक्रमितको संख्या घट्न थालेको पछिल्लो तथ्यांकले देखाएको छ। नयाँ संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ। तीमध्येमा ३५ जनाको मृत्यु भइसकेको छ।  

शुक्रबार थप २० सहित निको हुनेको संख्या चार हजार आठ सय ६ पुगेको छ। आइसोलेसनमा उपचाररतको संख्या आठ हजार ६ सय तीन रहेको छ। पछिल्लो २४  घन्टामा चार हजार आठ सय ६ वटा नमुना पिसिआर विधिबाट परीक्षण भएका थिए। हालसम्म दुर्ई लाख ७५ हजार दुई सय ५१ वटा नमुनाको परीक्षण भइसकेको छ। हाल २३ हजार नौ सय १० जना क्वारेन्टिनमा छन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप ऐच्छिक परीक्षणका लागि उपत्यकाबाहिरका प्रयोगशालालाई पनि अनुमति दिएको छ। पछिल्लोपटक अनुमति पाउने प्रयोगशालाहरूमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी प्रादेशिक अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज, प्रादेशिक अस्पताल धनगढीलगायत छन्। 

प्रकाशित: २७ असार २०७७ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App