विलियम पार्क/बिबिसी
लकडाउनका कारणले धेरै मानिसले लामो अवधिसम्म आफ्ना साथीको भौतिक स्पर्श पाएका छैनन्। मानवीय भलाइका लागि स्पर्शसुखको महत्व अहिले उजागर भएको छ।
‘मैले कसैलाई नछोईकन कुनै पनि किसिमको काम गर्न सक्दिनँ। यो मेरो पेसाको अभिन्न अंग हो,’ लन्डनकी ब्युटिसियन जो एजेनुगा भन्छिन्। बेलायतमा मार्च अन्त्यबाट लकडाउन सुरु भएपछि उनीजस्ता कयौं व्यवसायीले काम गर्न पाएनन्। लकडाउन खुकुलो भए पनि अझै उनीहरु कहिलेदेखि काममा फर्कने भन्ने निश्चित भइसकेको छैन।
‘ग्राहकसँग कुराकानी गर्न मलाई मन पर्छ। उनीहरुको अनुहारअगाडि बसेर गफ गर्दै काम गर्नुको छुट्टै महत्व छ,’ एजेनुगा थप्छिन्, ‘लकडाउनको पहिलो दुई साता त म मानसिक रुपमा बेचैन र अस्थिर बनें। निराशा महसुस हुनुमा आयआर्जन घट्नुमात्र कारण होइन।’ उनी विवाहको मौसममा उनी बेहुला बेहुलीको शृंगारमा व्यस्त हुन्थिन् भने काम कम भएका बेला मोडेललाई बोलाएर उनीहरुको सिंगारपटार गरेको फोटो आफ्नो इन्स्टाग्राममा राख्थिन्। यसले उनको व्यवसायको प्रचारप्रसार हुन्थ्यो। ‘म अहिले एकदमै नियास्रिएकी छु,’ उनी थप्छिन्, ‘मेरा पतिले बारम्बार ब्रस लिएर घरमा नआइजा भन्दाभन्दै पनि कैयनपटक मेरो हातमा ब्रस हुन्थ्यो।’
सामाजिक दूरीले प्रसाधन उद्योगलाई मात्र निभएर अन्य क्षेत्रलाई पनि असर गरेको छ। लुगा सिलाउने टेलरदेखि व्यायाम प्रशिक्षकले पनि यो अवधिमा काम गर्न पाएका छैनन्। कतिले भिडियो कलमार्फत मुस्किलले आफ्नो कामलाई निरन्तरता दिएका छन्।
‘जब संसारले भर्चुअल माध्यमबाट काम गर्न थालेको छ भन्ने थाहा पाएँ, मैले पनि यही माध्यमबाट परामर्श दिन थालें’, एजेनुगा भन्छिन्। उनले २ महिनासम्म यस्तै परामर्श दिने गरेको तर त्यो त्यति सजिलो नभएको बताइन्। लकडाउनका बेला जीवन कम आत्मीय भएको अनुभव गर्ने धेरैमध्ये एजेनुगा एक हुन्।
सामाजिक दूरीले प्रसाधन उद्योगलाई मात्र निभएर अन्य क्षेत्रलाई पनि असर गरेको छ। लुगा सिलाउने टेलरदेखि व्यायाम प्रशिक्षकले पनि यो अवधिमा काम गर्न पाएका छैनन्।
अर्की ब्युटिसियन मेरी ग्रिनवेलले लकडाउनपछि एकजनालाई ‘बबल मेकअप’ गरेको भिडियो सार्वजनिक गरिन्। उनले ग्राहकलाई फेरि छुन पाएकोमा भाग्यमानी भएको र पारिवारिक भावना महसुस गर्न पाएको भिडियोमा बताएकी छन्।
एजेनुगा प्रेम र पारिवारिक हिसाबले मात्र नभई दैनिक हुने अन्य मानवीय स्पर्शको अत्यन्त धेरै महत्व हुने तर्क गर्छिन्। ‘मानिस हुनुको अर्थ नै स्पर्शमा छ’, उनी थप्छिन्।
मानिस किन एकआपसमा नजिक हुन चाहन्छ र मानवीय स्पर्श किन प्रतिस्थापन गर्न किन कठिन छ ? एरिजोना विश्वद्यिालयका प्राध्यापक कोरी फ्लोआइडको विचारमा मानिस आफूले चाहेको स्पर्श र पाएको स्पर्शमा फरक हुँदा ‘स्किन हंगर’ को भावना आउँछ। ‘मानिसहरुमा स्पर्शको चाहना फरकफरक हुन्छ’, उनी थप्छन्। युवा र प्रौढमा स्पर्शको अभाव खटकिने उनी बताउँछन्। ‘हामी परम्परागत रुपमा प्रौढहरुलाई एक्लै रहने समूह ठान्छौं तर उनीहरुका लागि परिस्थिति खास फरक भएको छैन बरु आफ्ना साथीभाइसँग दिनहुँ घुलमिल गर्नेलाई लकडाउनले धेरै असर गरेको छ’, उनी भन्छन्।
त्यसो त मानवीय स्पर्श प्रतिस्थापन गर्न हिजोआज प्रविधि पनि प्रयोग गरिन्छ। इन्टरनेटद्वारा प्रवद्र्धित कृत्रिम अंग अर्थात् टेलीह्याप्टिक्स तथा मानिसको आकारका न्याना सिरानीहरु यसका उदाहरण हुन। तर यी पूर्ण छैनन्।
त्यसो त भाइरस संक्रमणअघि अपरिचितसँग नियन्त्रित वातावरणमा स्पर्श तथा अंकमाल गर्ने कडल पार्टीले मानवीय स्पर्शको अभाव पूरा गरेका थिए तर त्यो पनि अपूरो थियो। प्राध्यापक फ्लोआइड यस प्रकारका स्पर्श वास्तविक भए पनि आधिकारिक नहुने तर्क गर्छन्। उनी अन्य स्पर्शको अभावमा व्यावसायिक रुपमा मसाज थेरापिस्ट र कडल प्रोफेसनलको सहयोग महत्वपूर्ण हुने बताउँछन्। घरपालुवा जनावरको स्पर्शले पनि धेरै सहयोग गर्ने उनको तर्क छ। लकडाउनका बेला घरपालुवा जनावर पाल्नेको संख्या ह्वात्तै बढेको उनी बताउँछन्।
त्यसो त अमेरिकाका जनस्वास्थ्य अधिकारीहरुले लकडाउनपछि पनि एकअर्कालाई भेट्दा हात नमिलाउन सुभाव दिएका छन्। यसले हामी पूर्ववत् स्थितिमा फर्कनेमा आशंका थपिएको छ।
तर एजेनुगालाई आफैं पेसामा फर्कंदा पन्जा र फेस सिल्ड लगाउनुपर्नेछ। उनी पन्जा लगाएर कसरी मेकअप गर्ने भनेर चिन्तित छिन्। उनका लागि ग्राहकसँग स्थापना हुने तादात्म्यता महत्वपूर्ण हो। उनी मास्क लगाएर दुलहीको शृंगार गर्दा समस्या हुने ठान्छिन्।
त्यसो भए मानिसका लागि ‘निकट अन्तर्क्रिया’ उहिलेको कुरामात्र हुने हो त। एरिजोना विश्वविद्यालयका फ्लोआइड भन्छन्, ‘आवश्यक भए अथवा नभए पनि मानिसहरु पुनः पूर्ववत् अवस्थामा फर्कनेछन्। इतिहासमा महामारी यसअघि पनि आएका थिए तर तिनले दीर्घकालीन प्रभाव पारेनन्। हामी सावधान हुन आवश्यक छ तर मलाई लाग्छ, हामी छिटै पूर्ववत् स्थितिमा फर्कनेछौं।’
(बिबिसी अंग्रेजीमा छापिएको आलेखको भावानुवाद)
प्रकाशित: २७ असार २०७७ ०१:४२ शनिबार