८ वैशाख २०८१ शनिबार
समाज

पहिरोको वितण्डाः २१ जनाको मृत्यु, ३७ बेपत्ता

अविरल वर्षासँगै मुलुकका विभिन्न भागमा बाढीपहिरो जाँदा ठूलो जनधनको क्षति पु-याएको छ। पहिरोले २१ जनाको ज्यान लिएको छ। त्यस्तै ३० जना बेपत्ता र दुई दर्जनजति घाइते भएका छन्। यो तथ्यांक पछिल्लो २४ घण्टा (बिहीबार साँझदेखि शुक्रबार साँझसम्म) को हो।  

पहिरोमा परी गण्डकी प्रदेशमा ११ जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता छन। त्यस्तै कर्णाली प्रदेशमा ९ जना र प्रदेश ५ को गुल्मीमा एकजनाको मृत्यु भएको छ। वर्षा भइरहेकाले पहिरोपीडत र विस्थापितको उद्धार र राहत वितरणमा समस्या आएको छ।  

गण्डकीमा ११ जनाको मृत्यु

पहिरोले घर पुर्दा गण्डकी प्रदेशका तीनवटा जिल्लामा ११ जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार पहिरोले घर पुर्दा कास्कीमा सातजनाको ज्यान गएको छ। त्यस्तै लम्जुङमा पनि पहिरोले घर पुर्दा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। म्याग्दीमा पनि पहिरोसँगै बाढीले बगाएर एकजनाको मृत्यु भएको छ।  

पोखरा महानगरपालिका–१८ सराङ्कोटमा पहिरोले घर पुर्दा एकैपरिवारका पाँचजनाको ज्यान गएको छ भने आठजना घाइते भएका छन्। बिहीबार राति पौने ३ बजेतिर पहिरोले स्थानीय टंकबहादुर थापाको घर पुर्दा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। टंककी छोरी पिंकीको जन्मदिन मनाएर घरमा सुतेका पाँचजनाको पहिरोले पुरेर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले बताए। प्रहरीका अनुसार मृत्यु हुनेमा घरधनी ५० वर्षका टंकबहादुर थापा, उनकी पत्नी ४५ वर्षीया सोममाया थापा, आफन्त ६ वर्षीया सुवान थापा, ८ वर्षीया शीतल श्रेष्ठ र ११ वर्षीया इशिका थापाको मृत्यु भएको हो। घाइते भएका आठजनाको मणिपाल शिक्षण र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

पहिरोमा परी गण्डकी प्रदेशमा ११ जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता छन। त्यस्तै कर्णाली प्रदेशमा ९ जना र प्रदेश ५ को गुल्मीमा एकजनाको मृत्यु भएको छ। वर्षा भइरहेकाले पहिरोपीडत र विस्थापितको उद्धार र राहत वितरणमा समस्या आएको छ।  

‘राति करिब पौने ३ बजेतिर गल्र्याम्म ठूलो आवाज आएलगत्तै पहिरोले घर पुरेको थियो,’ घाइते अनिश तामाङले भने, ‘अबेर सुतेका थियौं। एकाएक गल्र्याम्म ठूलो आवाज आयो, मलाई त पहिरोले बगाएर कान्लामुनि पु¥याएछ, होस आएपछि उठेर हेरेको त शरीरभरि हिलैहिलो थियो।’ त्यसपछि नजिकैको घरमा पुगेर हारगुहार गरेको उनले बताए।  

त्यस्तै पोखरा–२५ हेमजास्थित शरदचन्द्र अधिकारीको घर राति करिब ३ बजे पहिरोले पुरिदाँ उनकी आमा हिमकलीको ज्यान गएको प्रहरीले जनाएको छ। पोखरा–२६ पैतेडाँडामा पनि पहिरोले घर पुरिदाँ अन्दाजी ३२ वर्षका एक पुरुषको मृत्यु भएको छ। घाइते तीनजनाको उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ। पोखरा १७ छोरेपाटन सिमलटुँडामा पनि पहिरोले घर पुर्दा शान्ति मगर र उनका छोरा सुशन घाइते भएका छन्। पोखरा–३३ भरतपोखरीमा पहिरोले बगाउँदा सुरज अधिकारी र सुदन अधिकारी घाइते भएका छन्। पहिरोपीडित परिवारलाई स्थानीय प्रशासनले सहयोग गर्ने घोषणा गरेको छ  

लम्जुङमा तीनजनाको मृत्यु  

गण्डकी प्रदेशमा पर्ने लम्जुङमा पनि पहिरोले घर पुर्दा एकैपरिवारका तीनजनाको मृत्यु भएको छ। लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार बेंसीसहर नगरपालिका–७ सातबिसेमा पहिरोले घर पुर्दा ३२ वर्षका दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमाया र ८ वर्षका छोरा छेवाङको ज्यान गएको हो। भिरालो जमिनमा रहेको घर माथिबाट पहिरोले पुरेको उनले बताए ।  

म्याग्दीमा एकको मृत्यु, ३० बेपत्ता

गण्डकी प्रदेशकै म्याग्दीमा बाढीपहिरोमा परी एकको मृत्युसँगै ३० जना बेपत्ता भएका छन्। सुतिरहेको अवस्थामा बस्ती माथिबाट ढिस्को खसेपछि पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका २१ जना र मालिका गाउँपालिका–७ बिमका ८ र मालिका–६ की एक महिला बेपत्ता भएका हुन्। पहिरोले वितण्डा मच्याउँदा जनधनको क्षति भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। मराङ कल्लेनी क्षेत्रमा एक शव भेटिए पनि पहिचान हुन नसकेको प्रजिअ ढकालले बताए। उनका अनुसार बाढीपहिरोपीडित पश्चिम म्याग्दीका करिब २ सय ६० जनालाई सुरक्षित स्थानमा लैजानुपर्ने अवस्था देखिएकोछ। बेपत्ताको खोजीलाई तीव्रता दिइएको छ।  उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडकखण्डमा पर्ने बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ पिप्ले जोड्ने बेलिब्रिज राहुघाट नदीको कटानले भत्किएको छ। पुल भत्किएपछि बेनी–जोमसोम सीधा सम्पर्क टुटेको छ।  

म्याग्दीकै रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा गोठ जाँदै गरेका ५० वर्षीय ललिमान पुराने छन्त्यालको शुक्रबार बिहान खोलाले बगाएर मृत्यु भएको वडाअध्यक्ष मनकुमार शेरपुञ्जाले बताए। रघुगंगा गाउँपालिका–८ कुइने मंगलेमा राहुघाट खोलामा आएको बाढी पस्दा आठघरमा क्षति पुगेको छ।  

अविरल बर्षाका कारण सेती नदीमा आएको बाढीले तनहुँको शुक्लागण्डकी नगरपालिकाका ४३ घरपरिवार जोखिममा परेका छन्। नगरपालिका–४ र ८ मा पर्ने पुल्चोकको बस्ती डुबानमा परेको छ। बाढी पसेपछि दुईवटा वडाका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले जानकारी दिए।  

जाजरकोटमा सातको मृत्यु

लगातारको वर्षासँगै पहिरोले घर पुर्दा कर्णाली प्रदेशको जाजरकोटमा सातजनाको ज्यान गएको छ। पहिरोपछि सातजना सम्पर्कबाहिर छन्। जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्की गाउँमा बिहीबार राति गोपाल सार्की र कलु सार्कीका घर पहिरोले बगाउँदा सातजनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठका अनुसार मृतकमध्ये पाँचजनाको सनाखत भएको छ। ५३ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जुन सार्की, १४ वर्षीया तिर्खा सार्की, पाहुना आएका कुशे गाउँपालिका–९ चौराटाका २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्कीको सनाखत भएको छ। दुईजनाको सनाखत भएको छैन्। प्रहरीका अनुसार गोपालकी पत्नी पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी, ४० वर्षीया कलु, उनकी ११ वर्षीया छोरी कमला, छ वर्षका छोरा सुभास, कलुको घरमा पाहुना आएका १४ वर्षीया गौरी सार्की र १६ वर्षीया कविता सार्की बेपत्ता छन्।  

बारेकोट–४ कै लालबहादुर नेपाली लगातारको वर्षाले घर भत्कँदा च्यापिएर गम्भीर घाइते भएका छन्। उनको हेलिकोप्टरमार्फत उद्धार गर्ने भनिए पनि प्रतिकूल मौसमका कारण उडान हुन नसकेको डिएसपी श्रेष्ठले बताए  

त्यस्तै बारेकोटकै धुम खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन्। बगेका चारमध्ये दुई जनालाई स्थानीयले उद्धार गरेका थिए। २० वर्षीय  शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोबाट बारेकोटको अधिकांश बस्ती जोखिममा परेका छन्। करिब दुई सयभन्दा बढी परिवार घर छोडेर विद्यालय र खुला ठाउँमा गएर बसेका छन्।

गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले वर्षा नरोकिएकाले घाइते र पहिरोपीडित अन्यको उद्धार र राहत वितरणमा समस्या भएको बताए।  

कर्णाली प्रदेशकै अर्को जिल्ला रुकुम पश्चिममा पनि पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ पहिरोमा परी एकजना घाइते छन्। आठबिसकोट नगरपालिका–३ स्यालाखदीमा तुलबहादुर दमाईको घर पहिरोले पुर्दा उनकी पत्नी २८ वर्षीया सीता र छोरा ६ वर्षका हाविलको मृत्यु भएको हो। शुक्रबार बिहान ६ बजेतिर पहिरोले घर पुरेको थियो। तुलबहादुरकी ८ वर्षीया छोरी हिरा घाइते भएकी छिन्। घाइतेको उद्धार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए।  

सिन्धुपाल्चोकमा बेपत्ताको खोजीमा कठिनाइ

भोटेकोसी नदी कोरिडोरको जम्बु र बुल्कुटेमा बुधबार राति गएको बाढीपहिरोमा हराइरहेकाको खोजी कार्यमा कठिनाइ भएको छ। बाढीपहिरोमा परेका २० जना सम्पर्कमा आएका छैनन्।

निरन्तरको वर्षा, उर्लिरहेको भोटेकोसी र ठाडा खोल्साबाट लेदोमाटो बगिरहेका कारण बेपत्ताको खोजीमा जुट्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। ‘खराब मौसम र निरन्तरको वर्षाले कठिनाइ भएको छ,’ उनले भने।  

पहिरोमा हराइरहेकाको खोजी गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली शुक्रबार बिहानैदेखि तयारी अवस्थामा रहे पनि निरन्तर वर्षा र खहरे खोलामा बगिरहेको लेदामाटो बाधक बनेको प्रजिअ ढकालले जनाए। अविरल वर्षाले भोटेकोसी नदी करिडोरमा शुक्रबार थप क्षति पु¥याएको छ। भोटेकासी गाउँपालिका–३ लार्चामा शुक्रबार बाढीले बस्ती बगाउँदा एकजना बेपत्ता भएका छन्। दुई घाइते भएका छन्। भैरवकुण्ड (लार्चा) खोलाको बाढीले १५ घर बगाएको भोटेकोसी–३ का वडाध्यक्ष कैलाश थापाले बताए। तीनजनालाई पहिरोले पुरेकोमा स्थानीयले दुईजनालाई तत्कालै सकुशल उद्धार गरेका थिए। बगेका पुरुषको पहिचान खुल्न सकेको छैन।  भोटेकोसी–४ बोलेपाका झण्डै १५ घरका करिब ८० जना खुलाचौरमा बसेका छन्। भोटेकोसीमा पानीको वहाब उच्च भएपछि पुरानो बाह्रबिसे बजार खाली गराइएको छ।

 प्रदेश ५ मा पनि वितण्डा  

गुल्मीको कालिगण्डकी गाउँपालिका ४ फुर्सेका ६२ वर्षका यमबहादुर श्रीसको पहिरोले पुरेर शुक्रबार मृत्यु भएको छ। फुर्सेस्थित खेतको कुलो बनाइरहेका बेला पहिरोले च्यापेपछि श्रीसको घटनास्थलमै मृत्यु भएको गुल्मी प्रहरीका डिएसपी केदारराज पन्तले जानकारी दिए। वर्षाका कारण गुल्मीमा करिब २ सय घर पहिरोको जोखिममा छन्। गुल्मीको इस्मा गाउँपालिका हस्तिचौरका १ सय १६ परिवार पूर्ण रुपमा विस्थापित भएका छन्।  

अविरल वर्षाका कारण रुपन्देही कोटहीमाईमा घर भत्किदा एक गर्भवती महिला घाइते भएकी छन्। नवलपरासी पाल्हीनन्दन गाउँपालिका १ महेशपुर हरिजन टोलका तिलकुमारी हरिजन, केशा हरिजन र सावित्री हरिजनको कच्ची घर भत्किएको छ। तिनाउ, दानव, वाणगंगा, राप्ती र भेरी नदीमा पानीको सतह बढेपछि छेउका बस्ती जोखिममा परेको ५ न. प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी राजकुमार वैदवारले बताए। अहिलेसम्म बाढीपहिरोका कारण पाल्पामा ५ जना, गुल्मीमा ५ जना, दाङमा ३, कपिलबस्तु र अर्घाखाँचीमा १÷१ जनाको मृत्यु भएको छ।  

सप्तकोसीमा उच्च बहाव

सप्तकोसी नदीमा शुक्रबार अपराह्न ४ बजे पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ४५ हजार ३५५ क्युसेक मापन भएकोे छ। बिहीबार रातिदेखि पानीको बहाव निरन्तर बढ्दो क्रममा छ। बहाव बढेपछि खतराको संकेत दुईवटा बती बालिएको छ।  कोसी ब्यारेजका ५६ ढोकाममध्ये ३५ वटा खुला गरिएको स्थानीय प्रशासनले जनाएको छ। सुनसरीका निम्ति प्रमुख जिल्ला अधिकारी महेष पोखरेलले कोसी ब्यारेजमा रहेका भारतीय प्राविधिकलाई पानीको बहाव बढेसँगै थप ढोका खोल्न गर्न र अरु सतर्कता अपनाउन निर्देशन दिइएको बताए।  

 चितवनका ७१ स्थान जोखिममा

दुई दिनदेखिको अविरल वर्षासँगै त्रिशूली र कालीगण्डकी नदीमा पानीको सतह बढेसँगै नारायणी नदी पनि उर्लिएको छ। जलमापन केन्द्रका अनुसार नारायणी नदीमा पानीको सतह देवघाटधाममा सवा सात मिटर र नारायणी पुलमुनि नारायणगढमा पौने एघार मिटर (गहिराइ) मापन गरिएको छ।  

त्रिशुली नदीले इच्छाकामना गाउँपालिका, नारायणीले भरतपुर महानगरपालिका, राप्ती नदीले राप्ती, खैरहनी र रत्ननगर नगरपालिका एवं रिउ नदीले माडी नगरपालिकाको विभिन्न भागमा कटान गर्दा डुबानको जोखिम बढाएको छ।  जिल्ला विपद् व्यवस्थापन समिति चितवनको शुक्रबार सम्पन्न बैठकले चितवनका सातवटै स्थानीय तहका ७१ ठाउँमा बाढी र ७१ ठाउँमा पहिरोको जोखिम रहेको अनुमान गरेको छ। करिब २६ हजार घरपरिवार जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट बताए।  

प्रदेश २ मा उच्च सतर्कता

मनसुन सक्रिय भएसँगै खोलानदीमा पानीको बहाव बढेर डुबान र बाढीको खतरा बढेपछि प्रदेश सरकारले उच्च सतर्कता अपनाउन सम्बन्धित निकाय र सर्वसाधारणलाई अनुरोध गरेको छ। शुक्रबार मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट प्रदेशमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन र तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा शुक्रबार सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशका आठ वटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा पूर्ण सतर्कता र तयारी अवस्थामा बस्न प्रदेश सुरक्षा प्रमुखहरूलाई निर्देश दिएका हुन्।

(अमर खड्का/इटहरी, ध्रुव दंगाल/सिन्धुपाल्चोक, सूर्यप्रकाश कँडेल/चितवन, सन्तोष पोखरेल, सन्देश श्रेष्ठ/पोखरा, हरिकृष्ण गौतम/म्याग्दी, श्रीहरि पौडेल/तनहुँ, विनोद परियार/रुपन्देही, नगेन्द्र उपाध्यय/सुर्खेत, मिथिलेश यादव/लहान)

प्रकाशित: २७ असार २०७७ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App