१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

एकै दिनमा २४ जनाले जीते कोरोना, आइसोलेसन बेड खाली हुँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन बेड रित्तिन थालेका छन् । एक शिशुसहित २४ जना एकैपटक कोरोना जितेर घर फर्किएपछि आइसोलेसन रित्तिदैँ गएको हो । आइसोलेसनमै १४ दिनपछि पुनः स्वाब परीक्षण गरेपछि रिपोर्ट नेगेटिभ आउँदा २४ जनालाई घर फकाईएको हो । 

सिंजा गाउँपालिका–६ काडाँगाउँकी ३९ वर्षिया एक महिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएपछि आमा र बच्चा दुवैमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । आमा र बच्चाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका छन् । 

प्रतिष्ठानको आइसोलेसनमा राखेर १४ दिनपछि पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि १८ दिने बच्चा, सुत्केरी आमासहित २४ जनालाई घर पठाएको अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए । प्रतिष्ठानका अनुसार आइसोलेसनमा १२ जना रहेका छन् । उनीहरुलाई पनि कुनै लक्षण देखिएको छैन । कोरोना जितेका सबैलाई अस्पतालभित्र एक कार्यक्रम गरेर विदाई गरिएको थियो ।  

कोरोना रिपोर्ट नेगेटिभ आएर आइसोलेसनबाट घर फर्किने क्रममा खादा ओडाएर विदाई गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले योगदानको कदर गर्दै सुरक्षित हुन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी थापाले घर फर्किसकेपछि उच्च सावधानी अपनाउनको लागि सचेत गराए । उनले भने,‘कोरोना जितेर घर फर्केकोमा हार्दिक बधाई छ, तर घरमा पनि होम क्वारेन्टिनमा बस्नुहोला । स्वास्थ्यको ख्याल गर्नु होला । सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्दै कोरोना संक्रमण हुन नदिनको लागि सचेतना फैलाउनु होला । यही कामना गर्दछौँ ।’

कोरोना जितेर घर जितेर घर फर्किएकाहरु पनि १४ दिनसम्म होम क्वारेन्टिनमा बस्न चिकित्सकले सुझाएका छन् । यसपटक कोरोना संक्रमणबाट निको हुनेमा सुत्केरी महिला, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका छन् । यसअघि भारतबाट आएका केही व्यक्ति र क्वारेन्टिन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सहयोगी गरी २६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्केका थिए ।

कोरोना संक्रमण फैलन सक्ने अवस्थालाई मध्येनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक सय २० बेडको आइसोलेसन बेड तयार पारेको थियो । जिल्लाभर ८ सय बेडको क्वारेन्टिन निर्माण भएका थिए । अहिले क्वारेन्टिन पनि रित्तिन थालेका छन् । यहाँका हरेक स्थानीय तहमा १० बेडको आइसोलेन बेड निर्माणका लागि निर्देशन भएको थियो । स्थानीय तह पनि तयारी अवस्थामा थिए । तर संक्रमितको संख्या कम हुँदा अहिले प्रयोगमा आउन सकेका छैनन् । 

आइसोलेसनमा चिकित्सकको नियमित रेखदेख पायौँ, विभिन्न परामर्श कक्षा लियौँ, कोराना जितेर घर फर्किनेहरु भन्छन्, ‘आइसोलेसनभित्र न्यानो पायौँ । कोरोनाविरुद्ध लड्ने साहस बटुल्यौँ । साँचिक्कै जीतेर घर फर्कियौँ ।’

प्रकाशित: २६ असार २०७७ ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App