२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पहिरोले स्वास्थ्यचौकी जोखिम

बागलुङ नगरपालिका–९ तित्याङस्थित स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेको छ। भवनअघिको भूभाग दुई मिटर तलसम्म भासिएको छ। केही भागमा पहिरोसमेत खसेको वडाध्यक्ष गणेश थापाले जानकारी दिए। तत्काल पहिरो रोकथाम नगरे थप क्षति हुने देखिएको छ। १५० घटनमिटर जतिमा ग्याबिन जाली लगाउनुपर्ने भएको छ, उनले भने, तलैदेखि संरचना बलियो नबनाए सँधै जोखिम निम्तने खतरा छ। नगरपालिकादेखि प्रदेश र सङ्घ सरकार मातहतका कार्यालयसँग पनि जाली माग गरिएको छ। आर्थिक वर्ष सकिन लागेकाले स्रोत जुटाउन कठिनाइ भएको जनाइएको छ।

सडक किनारादेखि नै ग्याबिन जाली लगाउने वडाको योजना छ। पहिरो राकथामसहित मर्मत, सुधारको काम गर्न झण्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ। भवनको माथिल्लो भू–भागमा पनि पहिरोको जोखिम छ। भवन बनाउने बेलैमा जग बलियो नबनाएका कारण समस्या आएको जनाइएको छ। पहिले खेत रहेको ठाउँ सम्याएर स्वास्थ्यचौकी भवन बनाइएको हो। भवन बनाउन गाउँलेले जग्गा दान गरेका थिए। स्वास्थ्यकर्मीदेखि सेवा लिन आउने सर्वसाधारणलाई पनि पहिरोको डर छ, स्वास्थ्यचौकी प्रमुख नारायण पौडेलले भने, छिटो ग्याबिन लगाएर पर्खाल उठाउनुपर्छ। भवनअघिकै भाग धसिएकाले भित्र आवतजावत गर्नसमेत वैकल्पिक उपाय गरिएको छ।

कतिखेर पहिरो खस्छ भन्ने डरले सो भवन तलको सडकमा हिँडडुल गर्नेसमेत त्रसित बन्ने गरेका छन्। जोखिमका कारण सेवा लिन आउनेको सङ्ख्या पनि घट्न थालेको उनको भनाइ छ। भर्खर बनेको भवन पहिराको जोखिममा परेपछि स्थानीयवासी चिन्तित छन्। भवन बनाउँदा प्राविधिक अध्ययन अपुग भएको हुनसक्ने वडाको ठहर छ। पुरानो भवन जीर्ण बनेपछि दुई करोड तीन लाख रुपैयाँको लागतमा यसै वर्ष नयाँ भवन बनाइएको हो। स्वास्थ्यचौकीलाई दुई महिनाअघि मात्र नयाँ भवनमा सारिएको थियो।

प्रकाशित: २६ असार २०७७ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App