९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

आवास निर्माणको लागि आवश्यक सामग्री वितरण गर्न शुरु

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिकामा आवास निर्माणको लागि आवश्यक सामग्री वितरण गर्न शुरु गरिएको छ । संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत साँगुरीगढी गाउँपालिकामा जस्तापाता लगायतका सामग्रीहरू वितरण गर्न शुरु गरिएको हो । 

संघीय सांसद राजेन्द्र राईको पहलमा सो गाउँपालिकाको वडा नं. ७ र ८ का विपन्न ५० घरधुरीलाई सुरक्षित आवास निर्माणको लागि आवश्यक सामग्रीहरु खरिद गरेर वितरण गर्न शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष विन्द्रा राईले बताईन् । गाउँपालिकाको फुसको छाना रहित अभियानसँग जोडेर सुरक्षित नागरिक आवास कार्यक्रमलाई अगाडी बढाएको गाउँपालिकाले जनाएको छ । 

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सो गाउँपालिकाको वडा नं. ७ मा २५ वटा र वडा नं. ८ मा २५ वटा आवास निर्माण भईरहेका छन् । आवास निर्माणको लागि संघीय सरकारले ५० हजार रुपैयाँ रकम उपलब्ध गराएको छ । पहिलो किस्ता वापत प्राप्त भएको ३० हजारले जस्तापाता ३२ एमएमको ३ बण्डिल, मगरा २४ फुट, काँटी ३ केजी, वासर ७ पोका खरिद गरेर वितरण गरिएको वडा नं. ८ का वडाध्यक्ष बिनय राईले बताए ।

आवास निर्माण कार्य अन्तिम चरणमा पुगेपछि बाँकी अन्तिम किस्ता भुक्तानी हुने वडाध्यक्ष राईले बताए । विगतका वर्षहरुमा सञ्चालित जनता आवास कार्यक्रम धनकुटामा प्रभावकारी बन्दै गएको छ ।

प्रकाशित: २५ असार २०७७ ०५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App