१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सीमावर्ती क्षेत्रमा संक्रमण जोखिम बढ्दै

विराटनगरको रानीस्थित सीमा क्षेत्र। लकडाउन खुकुलो भएसँगै यो क्षेत्रबाट सीमावारपार गर्नेहरू बढेका छन्। तस्बिर: चुमन बस्नेत/नागरिक

कोरोनाको त्रास बढ्दै गएपनि मोरङमा भारतसँगको सीमा क्षेत्रमा ओहोरदोहोर गर्ने क्रम रोकिएको छैन। दुवै देशमा लकडाउन गरी अन्तर्राष्ट्रिय सीमा बन्द भए पनि लुकिछिपी ओहोरदोहोर गर्ने क्रम सीमावर्ती क्षेत्रमा बढ्दो छ।  

भारतसँगको मुख्य नाकाहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहे पनि अन्य सहायक नाकाहरूबाट सजिलै मानिसहरू आवतजावत गरिरहेका छन्। खुला सीमानाका कारण भारतबाट नेपाल भित्रन सजिलो हुने गरेको छ। आवतजावत बढेसँगै सहायक नाकाहरूबाट चोरी तस्करी मौलाएको छ। मुख्य नाकामा सुरक्षाकर्मीहरूले कडाइ गरे पनि साना नाकाहरूबाट हुने आवतजावतलाई सुरक्षाकर्मीहरूले वेवास्थागर्दै आएका छन्। भारतबाट अवैध रूपमा आउने मानिसहरूका कारण प्रदेश १ को राजधानी विराटनगरलगायतका सीमावर्ती क्षेत्रका बस्तीहरू कोरोना संक्रमणको उच्च जोखिममा छन्।  

पछिल्लो समय विराटनगरको जोगबनी नाका आसपासका सहायक नाकाहरूबाट भारततर्फ किनमेलका लागि जानेहरूको भीड बढेको छ। यसरी जाने नेपाली उपभोक्ताबाट नेपालमा कोरोना भित्रने र समुदायमै संक्रमण फैलने खतरा रहेको स्थानीयवासीको भनाइ छ। नाकाबाट अवैध रूपमा हुने आवतजावत रोक्न विराटनगर महानगरपालिकाले विशेष पहल गरिरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी  पोखरेलले बताए। उनले नेपालबाट भारततर्फ किनमेलका लागि विराटनगरस्थित मटेरुवा र दरैया बस्ती नाका प्रयोग गरी दैनिक सयौंको संख्यामा मानिसहरू जाने गरेको गुनासो आएपछि प्रहरीलाई जानकारी गराएर तीनाकाबाट हुने आवतजावत रोकिएको दाबी गरे। ‘मटेरुवा र दरैया बस्तीको नाका प्रयोग गरी भारतर्फ किनमेल गर्न जानेहरूलाई  रोक लगाइएको छ।’ पोखरेलले भने। भारतसँग खुला सीमाना भएका कारण अवैध रूपमा हुने आवतजावत पूर्णरूपमा नियन्त्रण गर्न भने चुनौती रहेको उनले स्पष्ट पारे।  

यसका साथै मोरङका अन्य गाउँपालिका तथा नगरपालिकाका नाकाहरूबाट पनि अवैध रूपमा आवतजावत गर्ने क्रम बढेको छ। लकडाउन खुकुलो भएसँगै किनमेलका लागि सीमापारी जानेहरूको संख्या बढ्दो छ। मोरङको जहदा, धनपालथान, रंगेली, सुनवर्षी र रतुवामाई नगरपालिका भारतसँग सीमा जोडिएका छन्। यी स्थानीय तहका विभिन्न नाकाहरूबाट लुकिछिपी आवतजावत गर्ने क्रम बढ्दो छ।

मल र बीउको जोहो गर्न पनि भारत नै जानुपर्ने बाध्यताका कारण कतिपय नाकामा प्रहरीले समेत नजरअन्दाज गर्दै आएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले सहजै रूपमा आवतजावत गर्न नदिइएको दाबी गरे। उनले नेपाल र भारतबीच भएको सहमति अनुसार मुख्य नाकाबाट मात्रै सुरक्षाका उपाए अपनाएर भारततर्फ जाने र नेपाल भित्रने व्यवस्था गरिएको जानकारी दिए । प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा निगरानी बढाएसँगै अवैधरूपमा आवतजावत गर्नेहरू धमाधम पक्राउ परिरहेको डिएसपी राईले बताए।  

उनले अवैध रुपमा पक्राउ परेकाहरूलाई कारबाही थालिएको जानकारी दिए। ‘अवैध रूपमा आवतजावत गर्नेलाई पक्राउ गरी कारबाही गर्न थालिएको छ।’ उनले भने। कतिपय अवस्थामा व्यवहारीक समस्याका कारण पूर्णरूपमा रोक लगाउने समस्या भएको प्रहरीको भनाइ छ। भारतीयहरू नेपालतर्फ खेतीगर्न आउने र नेपालका पनि भारततर्फ खेतीगर्न जाने गरेका कारण यस्ता किसानहरूलाई रोक्न समस्या हुने गरेको डिएसपी राईले बताए। यसरी भारततर्फ खेतीगर्न जाने नेपाली किसान र नेपालतर्फ खेतीगर्न आउने भारतीय किसानको निगरानी गर्न स्थानीयतहमार्फत व्यवस्था गरिएको बताइएको छ।

प्रकाशित: २५ असार २०७७ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App