प्रदेश १ मा बुधबार १७ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४९ जना सफल उपचारपछि घर फर्किएका छन् । सामाजिक विकास मन्त्रालयले प्रदेशको ६ जिल्लाका १७ जनालाई कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको जनाएको छ । झापामा ७, मोरङमा ३, सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
मोरङको लेटाङमा १ पुरुष र धनपालथानमा २ पुरुष, झापाको मेचीनगरमा १ महिला, ४ पुरुष, विर्तामोड र हल्दिबारीमा १–१ जना पुरुष, सुनसरीको इटहरीमा २ पुरुष, तेह्रथुमको लालीगुराँसमा १ पुरुष, ताप्लेजुङको फुङलिङमा १ महिला र १ पुरुष तथा इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको जनाएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३५ जना गरी ४९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ३९ पुरुष र १० महिला रहेका छन् । प्रदेश १ बाट ५ सय २७ जना डिस्चार्ज भएका छन् भने कोरोना भाइरस संक्रमितको ७ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित: २४ असार २०७७ १३:०७ बुधबार