७ वैशाख २०८१ शुक्रबार
समाज

गण्डकीमा ६ घटनामा १४ जनाको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो ३ महिनामा पहिरोले पुरिएर १४ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । बैशाख यता प्रदेशका विभिन्न ६ ठाउँमा पहिरो जाँदा उक्त संख्यामा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । पहिरोले लाखौंको क्षतिसमेत पुर्‍याएको प्रहरीले बताएको छ ।

गण्डकी प्रदेशमा यस वर्ष पर्वतमा गएको पहिरोले सबैभन्दा धेरै क्षति भएको छ । गत जेठ ३१ गते राती पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङमा गएको पहिरोमा परेर एकै परिवारका ६ जनासहित ९ जनाको ज्यान गएको थियो । स्थानीय तुलबहादुर थापाको ६ जनाको परिवार र सँगै जोडिएको कमला विकसहित ३ गरी ९ जनाको ज्यान गएको हो । सो घटनामा १५ लाख बराबरको क्षति पुगेको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।

त्यस्तै, गत जेठ २७ गते म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ कोटगाउँमा पहिरो जाँदा २ जनाको ज्यान गएको थियो । अविरल बर्षाका कारण आएको पहिरोले ढु्ंगा र माटोले बनेको जस्ताको छानो भएको घर भत्किएर पुर्दा दलप्रसाद शेरपुञ्जाकी ५० वर्षिया श्रीमती हमाया शेरपुञ्जा र उनकी ४ वर्षिया नातिनी सिम्रन छन्त्यालको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, असार ४ गते आएको पहिरोले बिपीसी प्रोजेक्ट अन्तर्गतको ङादी हाइड्रोपावरमा आवश्यक सामान लिएर जाँदै गरेको बा.२ च.७१९८ नम्बरको टिपरमा सवार चिनियाँ चालक लुजिङयाको मृत्यु भएको छ । सो घटनामा चिनियाँ ईञ्जिनियर वुबाओक्सी घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीको भनाई छ ।

असार ६ गते बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ४ फापरखेतमा आएको पहिरोले घर पुर्दा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । सो घटनामा घरधनी टोपबहादुर पुनकी ३८ वर्षिया श्रीमती विमला पुनको पहिरोले पुरिएर मृत्यु भएको हो भने १६ वर्षिया छोरी आस्था पुन घाइते भएकी छन् । सो घटनामा ५ लाखको क्षति पुगेको प्रहरीको अनुमान छ ।

असार १४ गते गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ तातोपानीमा आएको लेदो माटोसहितको पहिरोले बगाउँदा सो सडकखण्डमा काम गर्ने नरबहादुर शाहीको मृत्यु भएको छ ।

त्यस्तै, असार १४ गते नै स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ९ साङलियामा अविरल बर्षापछि आएको पहिरोले घरमाथिको ढिस्को खसेर घर पुर्दा यमबहादुर विकको मृत्यु भएको छ भने उनकी ४२ वर्षिया श्रीमती फुलमाया विक घाइते भएकी छन् ।

पहिरोले क्षति पुर्‍याएका मध्ये स्याङ्जा र पर्वतको घटनामा परि मृत्यु भएका परिवारलाई जनही ५० हजारका दरले जिल्ला प्रशासन कार्यालयले सहयोग प्रदान गरिएको थियो ।

 

प्रकाशित: २४ असार २०७७ १२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App