व्यवस्थित क्वारेन्टिन र आइसालेसन निर्माणमा नहुदाँ कोरोना संक्रमित थपिँदै गइरहेका छन्। संक्रमित थपिएसंगै कोरोना डर पनि बढिरहेको स्थानीय बताउँछन्। स्वास्थ्य मन्त्रालयले अझै संक्रमित बढ्ने भनेसंगै स्थानीय त्रास पनि बढेको छ । कोरोनाको त्रास त छ दै थियो झन अब बाढीको त्रास थपिएको छ । वर्षायाम सुरु भएसंगै कर्णाली र बबई नदिमा आउने बाढीको त्रासले स्थानीय असुरक्षित महशुस गरेका छन् ।
कर्णालीमा निर्माणधिन तटबन्धन भत्किएको अवस्थामा छ भने बबई नदीमा निर्माण भईरहेको तटबन्ध अपूरो अवस्थामा छ । ०७१ र ०७४ सालमा आएको बाढीपछि तिब्रता पाईरहेको तटबन्ध सम्बन्धित निकायले ध्यान नदिँदा तटबन्ध निर्माणको काम अघि बढ्न नसकेको स्थानीय गुनासो गर्छन ।
जिल्लामा व्यवस्थित क्वारेन्टिन र आइसोलेसन निर्माण हुन नसकेर जोखिम भईरहेको अवस्थामा बाढी बस्ती पसेर ठूलो जोखिम निम्त्याउँन सक्ने अवस्था रहेको स्थानीय कृष्ण साहले बताए। ‘कोरोनाको संक्रमण पनि समुदायमाा फैलिसकेको छ, बबई र कर्णालीको बाढी पनि बस्ती पस्ने होला ?’ उनले प्रतिप्रश्न गर्दे भने, ‘जे मा पनि ढीला सुस्ती छ, जसले गर्दा स्थानीयले दुःख पाईरहेका छौ ।’
‘सिडिओ, जनप्रतिनिधि र आयोजना प्रमुख ध्यान दिन पर्ने हो, तर उहाँहरू बाहिर निस्कुन हुन्न,’ राजापुरका सनकट्टिघाटका राम बहादुर चौधरीले भने, ‘कोरोना भनेर डराएका होला, न अनुगमन छ, न बाढीबाट जोखिम भएका ठाउँको पहिचान भएको छ ।’ बाढी आयो भने भगवान पुर्कानुको बिकल्प नभएको उनी गुनासो गर्छन्। बबई र कर्णालीका दर्जन भन्दा बढि ठाउँबाट नदी पस्यो भने राजापुर नगरपालिका कर्णाली नदी र गुलरिया अधिकांश क्षेत्रमा बबई नदी बग्ने उनी बताउँछन्।
असार दोस्रो साता देखि मनसुन सक्रिय भएपछि आकाशमा बादल मडारिदा रामपुरटापुकि ६५ वर्षीया नन्दकला डाँगीको भोक र निन्द्रा दुबै बिथोलिएको छ । ०७१ सालमा बबईमा आएको बाढीले घर बगाएर उनलाई पहिलेको नियति भोग्ने पर्ने हो कि भन्ने चिन्ताले रात दिन पिरोलिरहेको छ । बाढीग्रस्तका हजारौं सर्वसाधरण तटबन्धनले पुर्णता नपाउँदा बर्खायामा त्रासमै गुर्जानु परेको अर्की बाढीपिडित विमला बिकले बताईन ।
तर, बबई नदी नियन्त्रणका लागी निर्माण भएका तटबन्धनको काम अहिले अघि बढ्न सकेको छैन । बबई कटान रोक्न समयमै बजेट नआउँदा तटबन्धको काम पुर्ण रुपमा प्रभावित भएको हो । ०७१ साल साउन अन्तिममा आएको बाढीले ३० जनाको ज्यान गएको थियो । चार जनाको अवस्था अझै अज्ञात छ । एक लाख घरधुरी प्रभावित भएका थिए । बाढी र कटानबाट अझै एक सय ६२ परिवार घरबार विहिन छन् । भादामा निर्माणधिन पुलबाट बबई पस्न सक्ने जोखिम रहेको स्थानीय बताउँछन् ।
यदि त्यहा बाट नदी बस्ती पसे यसअघि निर्माण भएको करौडौका तटबन्ध भत्किने जोखिम छ । कटान र बाढीको उच्च जोखिम हुने खतरा बढेकाले स्थानीय त्रसित छन् । ‘तटबन्धनकामले यति वेला तिब्रता पाउँनु पर्ने हो’स्थानीय रमेश कुमार गुप्ताले भने, ‘कोरोना संक्रमण व्यवस्थापनसँगै बाढीको पूर्व तयारी पनि हुनु पर्ने हो ।’
०४० साल देखि हालसम्म वर्षायाममा नदी कटानले सदरमुकाम गुलरियामा करिब दुई सय बिघा जग्गा बगरमा परिणत गरिसकेको तथ्याकं छ । वर्षायाम सुरु भएपछि बाढीको त्रासले तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्ने गर्छन् ।
नदी कटानले गुलरिया आसपासका दर्जनौ बस्ती उच्च जोखिममा रहेको छ । बाढी आउनासाथ गुलरिया–नेपालगन्ज सडकखण्ड डुबानमा पर्ने गरेको छ ।
प्रकाशित: २२ असार २०७७ ११:२२ सोमबार