८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

बालविवाह अन्त्यका लागि साझा प्रयास जरुरी: मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालविवाह उन्मूलनका लागि समाजको हरेक क्षेत्रबाट योगदान अपरिहार्य रहेको बताएका छन्।

सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले बालविवाह रोक्न कानुन मात्र पर्याप्त नभई सामाजिक चेतना पनि फैलाउन जरुरी रहेको धारणा राखे।

मुख्यमन्त्री कँडेलले समाजमा रहेका अन्धविश्वास र हानिकारक परम्पराले बालविवाह जस्तो कुरीति अझै कायम राखेको भन्दै त्यसलाई हटाउन सबै क्षेत्रले आ-आफ्नो भूमिका खेल्नुपर्नेमा जोड दिए।

उनले भने, "समाजमा रहेको अशिक्षा र पछौटेपनले बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ, तर पनि विगतको तुलनामा सुधार देखिएको छ। आगामी दिनमा यो समस्या न्यूनीकरणका लागि हामी सबैको साझा प्रयास आवश्यक छ।"

परम्पराका नाममा कानुनभन्दा बलिया सामाजिक परम्पराहरू अझै कायम रहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले यस्ता परम्परालाई अन्त्य गर्न राज्य र समाजले एकसाथ अघि बढ्नुपर्ने बताए।

"कर्णालीलाई छाउपडी र बालविवाहजस्ता कुरीतिबाट मुक्त गर्न प्रदेश सरकारले विशेष बजेटसमेत विनियोजन गरेको छ। त्यस्ता हानिकारक कुरीति उन्मूलनमा लाग्ने स्थानीय तहलाई सरकारले प्रोत्साहन गर्नेछ।," उनले थपे।

कार्यक्रममा कर्णाली प्रदेशकी पूर्व ऊर्जा तथा सिँचाइ मन्त्री उर्मिला विकले बालविवाह न्यूनीकरणका लागि सरकारले अपनत्व लिनुपर्ने आवश्यकता औँल्याइन्।

उनले बालविवाह रोक्न सामूहिक प्रयास अपरिहार्य रहेको बताउँदै भनिन् "यो साझा समस्या हो, त्यसैले सबैले आ-आफ्नो क्षेत्रबाट योगदान दिनुपर्छ।"

त्यसैगरी, सामाजिक विकास मन्त्रालयका प्रशासन प्रमुख अनिता ज्ञवालीले कर्णाली प्रदेशमा बालविवाह क्रमिक रूपमा घटिरहेको तथ्यांकले देखाएको जानकारी दिइन्।

उनले भनिन्, "बालविवाह न्यूनीकरणमा प्रदेशभरि भइरहेको प्रयास सकारात्मक देखिएको छ, तर अझै धेरै गर्न बाँकी छ।"

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले बालविवाह न्यूनीकरणमा श्रमजीवी पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए।

उनले आगामी दिनमा पनि सामाजिक विकृतिविरुद्ध कलम चलाउने प्रतिबद्धता जनाए।

प्रकाशित: ७ आश्विन २०८१ २२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App