७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

हलेसी गुफा संरक्षण योजना बनाइने

बैठकमा हलेसी महादेवस्थान विकास समितिका अध्यक्ष एबं पूर्वसांसद टंक राई, प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई लगायत । तस्बिर : नागरिक

हलेसी महादेवस्थान विकास समितिले त्रि–धार्मिकस्थल हलेसी गुफा संरक्षण योजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टंक राई हलेसी महादेवस्थान विकास समितिको अध्यक्षमा चुनिएपछि शुक्रबार बसेको पहिलो बैठकले त्रि–धार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालिन संरक्षण योजना निर्माण गर्ने निर्णय गरेको हो । 

प्राकृतिक रुपमा बनेका गुफाकै कारण हलेसीले हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा प्रसिद्धि पाएकाले गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालिन संरक्षण योजना बनाउने निर्णय गरिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए ।  

धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध हलेसी महादेब गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरब गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफा लगायतका प्राकृतिक आकृतिको दृश्यावलोकनका लागि प्रसिद्ध छ । स्वदेश तथा विदेशका पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा हरेक हिउँद याममा बिश्वभरका बौद्धमार्गीहरुले ४/५ महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् ।  

हलेसी महादेवस्थान विकास समितिको बैठकले हलेसीको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वका बारेमा अनुसन्धान गरी आगामी आर्थिक वर्षभित्र त्रि–धार्मिक शोधग्रन्थ तयार पारेर प्रकाशन गर्ने, किरात धर्मको प्रतिक स्वरुप हलेसीमा चुल्हो घर स्थापना गर्न अध्यायन गरेर योजना बनाउने, भैरवगुफा क्षेत्रमा ढल निकासको व्यवस्था गर्ने लगायतका निर्णय गरेको छ । यस्तै, महादेवस्थानको गुफा प्रवेशद्धारमा पित्तलको घेराबारा हाल्न पुनः व्यवस्थापन गर्ने, बसाहा गुफाभित्रको पदमार्ग र ढोका व्यवस्थापन गर्ने, ककनी मन्दीर जाने पदमार्गलाई पूर्णता दिने लगायतका निर्णय गरिएको छ ।  

बैठकमा हलेसी आसपासमा बसिरहेका विपन्न बर्गलाई सहभागी गराएर पर्यटक पथप्रदर्शक तालिम सञ्चालन गर्ने निर्णय गरिएको कार्यकारी निर्देशक भुजेलले बताए । समितिको बैठकमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई लगायतको उपस्थिति रहेको थियो ।  

 

 

प्रकाशित: २१ असार २०७७ ०५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App