८ वैशाख २०८१ शनिबार
समाज

कोरोनाबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३४

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षीय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको हो । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो ।

उनी मधुमेहका दिर्घरोगी रहेको भएको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो । त्यस्तै रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । क्षयरोगका विरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको असार १८ गते मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

शनिबार नेपालमा २ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा १ सय १४, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा मा ७ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा भएको परीक्षणमा ७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल विराटनगरमा भएको परीक्षणमा ४ र गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयोगशालामा भएको परीक्षणमा ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल जनकपुरमा भएको परीक्षणमा १५ जना, भरतपुर अस्पताल प्रयोगाशाला चितवनमा भएको परीक्षणमा १३ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल रुपन्देहीमा भएको परीक्षणमा ५  जना, भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा ७ जना र दैलेखमा प्रयोगशालामा भएको परीक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

पीसीआर विधिबाट शनिबार ४ हजार ५० जनाको कोरोना परीक्षण भएको छ । सार्कराष्ट्रमध्ये मध्ये कोरोना परीक्षण दर प्रति १० लाखमा भारत श्रीलंका पाकिस्तान भन्दा नेपाल अगाडी रहेको उनले बताए । अहिले देशभरीका विभिन्न क्वारेन्टिनमा ३३ हजार १ सय २५ जना रहेका छन् । विभिन्न अस्पतालका आइसोलेसनहरुमा ९ हजार ४२ जनाको उपचार भइरहेको छ । शनिबार २ सय ७१ जनासँगै आजसम्म ६ हजार ४ सय १५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित: २० असार २०७७ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App