८ वैशाख २०८१ शनिबार
समाज

सलह झुन्ड सुदूरपश्चिममा

भारतको मध्य प्रदेशबाट बिहार र रक्सौल हुँदै भैरहवा प्रवेश गरेको सलह झुन्ड–झुन्डमा विभाजित हुँदै सुदूरपश्चिम प्रदेश पुगेको छ। सलहका स–साना झुन्ड कैलालीको लम्कीचुहा, घोडाघोडी नगरपालिका र कञ्चनपुरको बेलौरी क्षेत्रमा पुगेको छ। सलहको झुन्डले किसानको बालीमा त्यति क्षति नपु¥याए पनि किसान भने त्रसित छन्।  

‘स–साना झुन्डमा आएका सलह अब ठुलो झुन्डमा नआउलान् भन्न सकिँदैन,’ राष्ट्रिय कृषक समूह महासंघ नेपालका सुदूरपश्चिम कार्यसमिति अध्यक्ष प्रकाशबहादुर थापाले भने, ‘सलह आएको सूचना पाउनेबित्तिकै यहाँका किसान चिन्तित बनेका छन्।’ कहिले यता कहिले उता गरेर सलहको झुन्ड देखिने गरेको बताउँदै उनले थपे, ‘कहिले यता र कहिले उता सलहको झुन्ड पुगेको समाचार सुन्नेबित्तिकै भर्खरै रोपाइँ गरेका किसान झनै चिन्तित छन्।’  

सलह आइपुगेको खबर पाउनेबित्तिकै अहिले ग्रामीण क्षेत्रका किसान बिहान–बेलुका खेतबारीको रेखदेखमा पुग्न थालेका छन्। ‘सलह पुगेको खबर पाउनेबित्तिकै दैनिक खेतमा पुग्ने गरेको छु,’ किसान खुसीराम डगौरा थारुले भने, ‘अघिल्लो वर्ष गरिमा धानले ठग्यो, यसपालि फेरि सलह आए भने त ऋणमाथि ऋण थुप्रिन्छ।’ उनी अहिले सलह धपाउन तयारी अवस्थामा सरसामानको जोहो गरेर बसेका छन्। ‘थाल, डोरी तथा धुँवा बनाउन चाहिने पराललगायत सामान तयारी अवस्थामा राखेको छु,’ उनले भने।  

कैलालीको लम्कीचुहा र घोडाघोडी नगरपालिका क्षेत्रमा सलहको झुन्ड देखिएको कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्ट बताउँछन्। उनका अनुसार कञ्चनपुरको बेलौरीसम्म सलह पुगेको खबर छ तर क्षतिको विवरण भने आइसकेको छैन। बिहीबार मात्रै कैलालीको अत्तरियाबाट दुई झुन्डमा सलह टीकापुर र धनगढीतर्फ गएको अत्तरियाका कृषि प्राविधिकको भनाइ उद्धृत गर्दै केन्द्रप्रमुख भट्टले भने, ‘शुक्रबार बिहान कृषि प्राविधिकको टोली सहलको झुन्डको खोजीमा गएको छ।’  

पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको सलहको अन्तिम झुन्ड बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको सीमा क्षेत्र आसपास उडान गर्दै शुक्लाफाँटा भएर नेपाल भित्रिएको स्याटेलाइटले कभर गरेको तस्बिरमा देखिएको बताउँदै प्रदेश कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने, ‘शुक्लाफाँटाबाट नेपाल भित्रिएको सलहको झुन्ड महाकाली नदीकिनार क्षेत्रमा आइपुगेको स्याटेलाइटले देखाउँछ।’ यसको नियन्त्रणका लागि प्रदेश कृषि विकास निर्देशनालय दिपायलको ¥यापिड रेसपोन्स टिम तैनाथ गरिएको उनले बताए। ‘हामीले सलहबाट किसानले क्षति बेहोर्नु नपरोस् भनेर एउटा ¥यापिड रेसपोन्स टिम तैनाथ गरेका छौं,’ उनले भने, ‘त्यो टिमले तुरुन्तै उद्धार गर्छ।’  

यस्तै सलह भित्रिन थालेपछि धनगढी उपमहानगरले पनि पूर्व तयारी थालेको छ। उपमहानगरले १९ वटै वडाका वडाध्यक्ष र कृषि शाखाका कर्मचारीसँग छलफल गरेको छ। त्यसको स्थानीय स्तरमा कसरी क्षति घटाउन सकिन्छ भनेर छलफल गरेको हो। धनगढीका नगरप्रमुख नृपबहादुर वडले सलहको सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनबारे छलफल गरेको बताए। जोखिम घटाउन स्थानीय स्तरमा के गर्न सकिन्छ भन्ने सबै उपाय अपनाउन वडाध्यक्ष र कृषि प्राविधिकलाई निर्देशन दिएको उनले जानकारी दिए। धनगढी उपमहानगर कृषि शाखा प्रमुख लोकराज उपाध्यायले सलहले जतिबेला पनि खतराको घण्टी बजाउन सक्ने भएकाले खेतीपातीमा गर्ने क्षति घटाउन प्रजनन गर्न सक्ने ठाउँ नष्ट पार्ने, खेतबारीमा लसुनपानी छर्किने, झुल जालको प्रयोग गर्न सकिने विधि अपनाउन किसानलाई सुझाएको बताए।

प्रकाशित: २० असार २०७७ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App