१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्थानीय तहले किन्यो पिसिआर मेसिन

चौरजहारी नगरपालिका जडान गरिएको पिसिआर मेसिन । तस्बिर : नागरिक

दैलेखस्थित नारायण नगरपालिको तीन सय स्वाब कर्णाली विज्ञान प्रतिष्ठान जुम्लामा कोरोना परीक्षणका लागि पठायो । त्यसको एकसात पछि ४६ जनाको रिपोर्ट पोजेभिटअर्थात् कोरोना संक्रमण भएको पुष्टि भयो । बाँकी अरुको रिपोर्ट आउन ढिलो भयो । यति मात्र होइन अन्यबेला प्रदेश अस्पताल सुर्खेतमा पठाउँदा पनि समयमै पिसिआर परीक्षणको नतिजा आउन सकस भयो । संक्रमित बढ्दै जाने र नतिजा ढिलो हुँदै जाँदा नारायण नगरपालिकाका क्वारेन्टिनमा बसेका र प्रहरीबीच झडपसमेत भयो । जिल्ला बाहिर स्वाब पठाउँदा ढिलो हुँदा नारायण नगरपालिको योजनाको रकमले पिसिआर मेसिन खरिद ग¥यो ।

अहिले नारायण नगरपालिका मात्र होइन छिमेकी जिल्लाका स्वाब परीक्षणका लागि यहाँ आउँछन् । असार १४ गतेदेखि परीक्षण सुरु गरिएको नारायण नगरपालिकाले जनाएको छ । संघीय सांसदको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत दैलेख–महाबु सडकखण्डको रकम मसिन खरिदमा प्रयोग गरिएको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । करिब एक करोड १७ लाख रूपैयाँ मेसिन खरिद गरिएको हो । 

‘मेसिन जडान भएपछि परीक्षण गर्न सहज भएको छ,’ उनले भने, ‘दैलेखको मात्र होइन हामीकहाँ छिमेकी जिल्लाका स्वाब पनि आइरहेका छन् ।’ कोरोना संक्रमित स्थानीय तहमध्ये नारायण नगरपालिका रेड जोनमा समेत परेको थियो । ‘दुई सय २७ जना कोरोना संक्रमित थिए,’ उनी भन्छन्, ‘अहिले सबै डिस्चार्ज भएका छन् ।’ अब क्वारेन्टिन र समुदायस्तरमा कोरोना परीक्षण गर्ने उनको भनाइ छ ।

यस्तै स्वाब परीक्षणको रिपोर्ट आउन ढिलासुस्ती हुँदा रुकुम पश्चिमको चौरजहारी अस्पतालले पनि आफ्नै लगानीमा पिसिआर खरिद गरेको छ । चौरजहारीको पिसिआर मेसिनमा एक दिनमा करिब ९० जनाको परीक्षण हुन्छ । नगरपालिकाको एक करोड २३ लाख रूपैयाँमा उक्त मेसिन जडान गरिएको चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जनाए । ‘नगरपालिकाले आफ्नै लगानीमा मेसिन खरिद गरेको छ,’ उनले भने, ‘नगरसँग आर्थिक अभाव भएकाले संघ र प्रदेश सरकारसँग माग गरेका छौं ।’ चौरजहारीमा अहिले धेरै संक्रमित नभए पनि क्वारेन्टिनमा बस्ने धेरै छन् । 

नगरका ३२ सय नागरिक भारतलगायत तेस्रो मुलुकमा कामका लागि बाहिर गएको र हाल ११ सय फर्केका नगरपालिकाले जनाएको छ । बाँकी पनि आउने क्रम जारी भएको बताइएको छ । ‘क्वारेन्टिनमा मान्छे छन्,’ उनले भने, ‘परीक्षण नगरि पठाउँदा समुदाय जोखिममा पर्छ । परीक्षण गर्दा रिपोर्ट आउनै मुस्किल हुन्छ ।’ नगरमै मेसिन जडान भएपछि पहिलेको जस्तो रिपोर्ट आउन समस्या नहुने उनको भनाइ छ । रुकुम पश्चिम, रुकुम पूर्व, डोल्पा, जाजरकोट र सल्यान र सुर्खेतका केही भागका स्वाब परीक्षण गर्न सकिने नगरपालिकाले जनाएको छ । स्थानीय तह आफैँले मेसिन खरिद गर्दा स्थानीय पनि सुखी भएका छन् ।

सुर्खेतमा परीक्षण रोकियो

कर्णाली प्रदेश राजधानी सुर्खेतमा विश्वभरि फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको परीक्षण रोकिएको छ । शुक्रबारदेखि पिसिआर मेसिनमा खराबी आएपछि परीक्षण रोकिएको हो ।

परीक्षण रोकिएपछि संकलन गरिएका स्वाब फ्रिजमा राखिएको छ । तापक्रम मिलाएर राखिएकाले उक्त स्वाब सुरक्षित रहने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । मेसिन बिग्रिएपछि नेपालगन्जबाट प्राविधिक टोली बोलाइएको थियो । उक्त टोलीले पनि समस्या समाधान गर्न नसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए । मेसिन मर्मतका लागि काठमाडौंको प्राविधिक टोलीसँग समन्वय भइरहेको उनको भनाइ छ । 

सुर्खेतमा दैनिक तीन सय जनासम्मको स्वाब परीक्षण हुँदै आएको थियो । करिब ६ देखि आठ सयसम्म स्वाब परीक्षण गर्न बाँकी रहेको र अरु संकलन भइरहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक आचार्यले जनाए । सुर्खेतमा कोरोना परीक्षण रोकिएपछि संकलन गरिएको केही स्वाब भेरी अस्पताल नेपालगन्ज, कर्णाली स्वास्थ्य प्रतिठान जुम्लामा पठाउने गरिएको छ ।

१४ सय ७४ संक्रमित

कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार चार सय ७४ जना पुगेको छ । बिहीबार कर्णालीका ६ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या त्यति पुगेको हो । त्यस्तै एक हजार एक सय २७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रकाशित: १८ असार २०७७ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App