८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी महानिरीक्षक भन्छन् : अपराधीहरु छिन्नभिन्न भएका छन्

नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीले प्रहरीको सकृयताका कारण अपराधीहरु छिन्नभिन्न भएको बताएका छन्। महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरको नवनिर्मित व्यारेक भवनको उदघाटन गर्दै उनले अपराधीक समूह र गतिविधिलाई निमिट्यान्न पारेको दाबी गरेका हुन्।  

आइजिपी ज्ञवालीले आफ्नो कार्यकालमा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको बताए। 'कुनै गिरोह र अपराधीक मानसिकता सल्बलाउन सक्ने अवस्था अझै छ,' उनले भने, 'त्यस्तो तत्व र समूह मौलाउन पाउनेछैन।' साथै भवन उदघाट्न गर्दै उनले व्यारेक भवनले सम्पूर्ण प्रहरीको रहनसहनमा सहज हुने बताए। महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख तथा एसएसपी टेकप्रसाद राईले नयाँ भवन निर्माणपछि प्रहरी कर्मचारीलाई शान्ति सुरक्षा प्रदान गर्न सहज भएको बताए। भूकम्पमा भवन भत्किएपछि केहि प्रहरी टेन्टमा बस्दै आएका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको डिजाइन सहयोगमा ८ करोड ३१लाख बजेटमा भवन निर्माण कार्य भएको हो। उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सुरक्षामा खटिने प्रहरीको भौतिक सुरक्षामा ध्यान दिनुपर्ने बताए। उनले जनताको सुरक्षा गर्ने प्रहरी भवन नभएका कारण आफै असुरक्षित भएको भन्दै संरचना बलियो बनाउन चासो दिनुपर्ने बताए।  

 

प्रकाशित: १७ असार २०७७ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App