८ वैशाख २०८१ शनिबार
समाज

मुहार फेर्दै चौरजहारी नयाँ सहर

चौरजहारी नयाँ सहरमा सडक निर्माण गर्दै मजदुर। तस्बिर:नागरिक

रुकुम पश्चिमको चौरजहारी बजार मध्यपहाडी लोकमार्गको छेउमा रहेका १० नयाँ सहर मध्येको एउटा हो। भौतिक संरचनाको अभावमा रहेको उक्त ठाउँमा पहिलेदेखि सानो बजार थियो। होटेल, पसलहरू भएपनि गुणस्तरीय सडक, विद्युत्, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका कुनै पनि संरचना थिएनन्। अनेकौं समस्या झल्दै आएको उक्त बजारलाई २०६९ सालबाट सरकारले नयाँ सहरको रूपमा निर्माण गर्न सुरु गरेको थियो। काम सुरु भएको ५ वर्षसम्म खासै उपलब्धि हुन सकेन। योजना छनौट, बजेट निर्माणलगायतका काममा अल्झीएको आयोजनाले पछिल्ला वर्षमा भने उपलब्धि प्राप्त गर्न थालेको छ।  

नयाँ सहर आयोजनाले निर्माण गर्न सुरु गरेका योजनाको काम सम्पन्न हुँदै गएपछि चौरजहारी नयाँ सहरले मुहार फेर्न थालेको स्थानीयको भनाइ छ। साच्चिकै नयाँ सहरको रूपमा चौरजहारी बजारको विकास हुँदै गएको स्थानीय तिलक भण्डारीले बताए। बजार क्षेत्रमा कालोपत्रेसहितको सडक, बसपार्क निर्माण, एकीकृत तथा सामुदायिक भवन निर्माणको कामले थप सौन्दर्य बनाएको उनको भनाइ छ।

बसपार्कमा ग्राभेल गर्ने, सार्वजनिक शौचालय, टिकट काट्ने भवनका निर्माणलगायतका काम सम्पन्न भएको नयाँ सहर आयोजना कार्यालय चौरजहारीका खरिदार खिमबहादुर चन्दले बताए। उनकाअनुसार आर्थिक वर्ष २०७२/०७३ बाट बसपार्क निर्माणको काम सुरु भएको थियो। काम सबै सम्पन्न भएपनि निर्माण कम्पनीले कार्यालयलाई हस्तान्तरण गर्न भने बाँकी रहेको खरिदार चन्दले बताए।  यसका साथै एकीकृत सामुदायिक भवन, कृषि उपज संकलन केन्द्र, कार्यालय भवन तथा कर्मचारी आवसगृह निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए।  

आयोजनाले बजार क्षेत्रमा ७ किलोमिटर सडक कालोपत्रे र ६ किलोमिटर सडक ढल व्यवस्थापनसहित ग्राभेल गर्ने काम सञ्चालन गरिरहेको छ। बजार क्षेत्रमा पनि ढल निकासको काम भइरहेको छ। विभिन्न खण्ड बनाएर निर्माण कम्पनी मार्फत सडक कालोपत्रे, ग्राभेल र ढल निकासको काम भइरहेको नयाँ सहर आयोजना कार्यालय चौरजहारीका प्रमुख धीर फडेरा जानकारी दिए। ‘दुई वर्षदेखि भौतिक पूर्वाधार निर्माणको कामले गति लिएको छ,’ उनले भने, ‘अहिले सञ्चालन भइरहेका सबै निर्माणको काम अन्तिम चरणमा पुगेको छ, आगामी वर्षमा सम्पन्न भएर हस्तान्तरण समेत हुनेछन्।’  

गत वर्ष बजार क्षेत्रमा सौर्य बत्ती जडान गरिएको थियो। सौर्य बत्ती जडान भएपछि रातको समयमा उज्यालो हुँदा सहज भएको स्थानीय व्यापारीको भनाइ छ। यसले गर्दा बजारको सौन्दर्यता बढ्नुका साथै राती हुने चोरीका घटना पनि कम हुँदै गएको स्थानीय व्यापारी सुरेश ओलीले बताए। नयाँ सहर आयोजनाको एक करोड ७४ लाख रूपैयाँको सहयोगमा एक सय ६५ ठाउँमा सडक सौर्य बत्ती जडान गरिएको थियो।  

आगामी वर्षपनि सौर्य बत्ती जडानको कार्यक्रम रहेको कार्यालयले जनाएको छ। सडक निर्माणको काम पुरा नभएकाले सडक कालोपत्रे र ग्राभेल भएको ठाउँमा सौर्य बत्ती जडान गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख फडेराले जानकारी दिए। यसका साथै आगामी वर्ष चौरजहारी नगरपालिका–४ देखि ९ नम्बर वडामा खानेपानी मर्मत तथा निर्माणको कार्यक्रम पनि रहेको उनको भनाइ छ।  

अहिलेसम्म २३.६ किलोमिटर सडकको निर्माण तथा स्तरोन्नति, १०.५८ किलोमिट ढल निकासको काम निर्माण भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। यसका साथै एक सय ६५ वटा सौर्य बत्ती जडान, चार वटा विभिन्न भवन तथा एउटा बसपार्क निर्माणको काम सम्पन्न भएको कार्यालय प्रमुख फडेराले जनाए।

प्रकाशित: १७ असार २०७७ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App