१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कृषि उत्पादन वृद्धि गरेर कोरोनाको असर कम गर्न सकिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड १९– का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताएका छन्।

प्रधानमन्त्री ओलीले १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज दिएको सन्देशमा सदुपयोगको सिद्धान्तअनुसार जमिन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन वृद्धिमा केन्द्रित हुनु जरुरी भएको उल्लेख गरे। यसका निम्ति सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने छैन, धान लगाएर बढी प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमिनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ, तर त्यस बालीले अधिक उत्पादन भने दिनै पर्छ, सन्देशमा भनिएको छ।

उनले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने उद्घोेषका मनाइएको धान दिवसमा कृषिमा आधारित यस प्रतिकात्मक दिवसको आयोजनाले धान उत्पादनमा वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरतातर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्नु लोककल्याणकारी राज्यको दायित्व हो र सोही अनुरुप हाम्रो संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको जानकारी दिँदै यस हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, २०७५ जारी भइसकेको उल्लेख गरे।

उक्त ऐनले हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभूतालाई कानूनी अधिकारका रुपमा स्थापित गरेको र भोकमरीको अन्त्य गर्नेलगायत दिगो विकासका लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य र पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धता पनि सुस्पष्ट रहेको पनि उनले जानकारी दिए। राष्ट्रिय अर्थतन्त्रमासमेत धानको महत्वपूर्ण योगदान रहिआएको छ, प्रधानमन्त्री ओलीले भने, त्यसैगरी हाम्रो जीवन चक्रका सोह्र संस्कारमा धान, चामल र यसबाट बन्ने परिकारहरुको प्रयोग र प्रचलनको निकै लामो र समृद्ध परम्परा रहिआएको छ। यसरी हाम्रो जीवन पद्दतिसँग धानको घनिष्ठ सम्बन्ध कायम रहेको स्पष्ट छ।

संविधानले कृषि तथा खाद्य सुरक्षा सम्बन्धी विषयमा प्रदेश सरकार र स्थानीय तहलाई बढी जिम्मेवार बनाएको सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरुको सफल कार्यान्वयनका लागि सहकार्य गर्दै अघि बढ्न उनले प्रदेश सरकार र स्थानीय तहहरुलाई आह्वान गरेका छन्। कृषि क्षेत्रको विकास र वृद्धि नै हालका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार भएको उल्लेख गर्दै सन्देशमा उनले त्यसका लागि कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र मेशिनीकरण आवश्यक भएकामा जोड दिएका छन्। 

प्रकाशित: १५ असार २०७७ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App