१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वंयमसेवक खटाएर वैकल्पिक घुम्ती शिक्षा

रघुगंगा गाउँपालिका–२, सिद्धार्थ ज्ञानमन्दिर आधारभुतले सुरु गरेको घुम्ती शिक्षा। तस्बिरः हरिकृष्ण गौतम

जिल्लाको रघुगंगा गाउँपालिका–२, पखटोलमा ढुंगाको बान्नामा विद्यार्थीले पढिरहेका छन्। किताब–कपी लिएर हरेक दिन विद्यार्थी पुग्ने स्थान निर्धारन गरिएको छ। विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर पठनपाठनको व्यवस्था मिलाइएको छ। बाहिर जिल्लाबाट शिक्षकलाई गाउँमा प्रवेश गर्न दिइएको छैन्। कोरोना भाइरसको जोखिमसँगै विद्यालय बन्द भएपछि घरमै बसेका विद्यार्थीको पढाइ प्रभावित भएपछि गाउँपालिकाले सुरू गरेको वैकल्पिक शिक्षा अन्तरगत स्थानीय सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सघाउने स्वंयमसेवक समेत खटिएका छन्।  

गाउँपालिकाले सुरू गरेको घुम्ती शिक्षाले सदरमुकाम बेनी र गाउँकै निजी विद्यालयमा पढ्ने विद्यार्थी समेत विद्यालयमा भर्ना भएको प्रधानाध्यापक तोरणबहादुर श्रेष्ठले बताए। ‘निजी स्कुलमा बालबालिका पठाउने अभिभावकले पनि सामुदायिक विद्यालयबाट पुस्तक लैजान थालेका छन्,’ उनले भने, ‘नीजि विद्यालयका करिब २० जना विद्यार्थी बढ्ने अनुमान गरेको छु’। उनका अनुसार ८८ जना विद्यार्थीले पुस्तक लगिसकेको अवस्थामा गाउँमै रहेको निजी विद्यालयमा पढ्ने थप १० विद्यार्थीका अभिभावकले समेत पठनपाठन देखेर पुस्तक माग गरेका छन्।

विद्यालयको सेवा क्षेत्रभित्र राममन्दिर, रानीचौतारी, खहरेखोला, सिरसिरे डाँडो, ढिकुरमुनी गरी पाँचवटा टोलमा शिक्षक खटाइएको छ। त्यस्तै वडा नम्बर ४ दग्नामको जनता माध्यामिक विद्यालय प्रधानाध्यापक गुन पुनले पायक पर्ने ठाउँमा नियमित पठनपाठन सुरू गरेको बताए। ‘टोल–टोलका पढाइ सुरु गरेपछि उत्साह थपिएको छ,‘कोरोनाको जोखिमका बारेमा समेत विद्यार्थीलाई जानकारी गराउँछौं,’ प्रअ पुनले भने, ‘वैकल्पिक शिक्षाले अभिभावकमा उत्साह छाएको छ। हामीले पनि शिक्षण विधिलाई प्रभावकारी बनाइरहेका छौँ।’

गत चैत महिनामा वार्षिक परीक्षा सकिएलगत्तै सरकारले गरेको लकडाउनका कारण समस्यामा रहेका विद्यार्थीलाई गाउँपालिकाले हरेक विद्यालयमार्फत समुदायमै पुगेर वैकल्पिक शिक्षा सञ्चालनको वातावरण बनाएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए। बाहिरी जिल्लाबाट शिक्षक आउँदा कोरोनाको जोखिमले अभिभावक नै त्रसित हुनुपर्ने अवस्था आएकाले गाउँपालिका भित्रका सबै विद्यालयले आफ्नो कार्यक्षेत्रमा आवश्यकता अनुसार समूह बनाएर शिक्षण सिकाई अगाडी बढाउन पत्रचार समेत गरिएको उनले बताए।  

अधिकांश विद्यालयले अभ्यास समेत सुरु गरिसकेको अध्यक्ष भण्डारीको भनाइ छ। लामो समयसम्म विद्यार्थी घरमै बस्दा पढ्ने बानी घटेपछि वैकल्पिक शिक्षालाई प्राथमिकता दिएको बताए। ‘वैकल्पिक शिक्षाकै कारण गाउँबाट बाहिर गएका समेत धमाधम फर्किन थालेका छन्,’ उनले भने, ‘यो विधिलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार अनुगमण समेत गछौं।’ विद्यार्थीको पठनपाठनको अवस्था हेर्न पायक पर्ने ठाउँमा अभिभावक समेत पुग्ने गरेका छन्। जिल्लाका अन्य स्थानीय तहले अझैपनि वैकल्पिक शिक्षाको सुरुवात गरेका छैनन्।

प्रकाशित: १४ असार २०७७ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App