७ वैशाख २०८१ शुक्रबार
समाज

मध्यपहाडी लोकमार्गको हेमजा सडकखण्ड हिलाम्मे, स्थानीय र यात्रुलाई हैरानी

मध्य पहाडी लोकमार्ग अन्तर्गत हेमजा सडक खण्ड हिलाम्मे भएको छ । कास्की जिल्लामा पर्ने हेमजा सडक खण्ड निर्माणमा ढिलाई भएसँगै वर्षायाम शुरु भएर वर्षा भएपछि सो सडकखण्ड अन्तर्गत हेमजास्थित अम्विका स्कुलदेखि घट्टेखोलासम्म करिब डेढ किलोमिटरको क्षेत्र हिलाम्मे भएको हो । सडक हिलाम्मे भएपछि पोखरा–बागलुङ राजमार्ग भएर आवतजावत गर्ने यात्रु तथा स्थानीयबासी हैरानीमा परेका छन् ।

शर्मा एण्ड कम्पनीले ठेक्का लिएर पोखराको याम्दीदेखी घट्टेखोलासम्म इलेट कम्पनी र सुइखेतदेखी नयाँपुलसम्म स्वच्छन्द ईलेट जेभी कम्पनीले निर्माण गरिरहेको छ । आगामी भदौमा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि समयमा नसकिने निश्चित देखिएको छ । ६ लेनमा बिस्तार गरिरहेको सो सडकमा यसअघि दुई लेनको पिचसमेत भत्काइएको छ ।

पुरानो भत्काएको र नया नबनेका कारण सडक हिलाम्मे हुँदा करिब २० मिनेटको बाटो पार गर्न २ घण्टा बढी लाग्ने गरेको स्थानीयबासी बैकुण्ठ भण्डारीले बताए । उनका अनुसार हिलाम्मे बाटो हिंड्दा कयौं यात्रु दुर्घटनामा पर्नुका साथै हिलोमा फस्ने गरेका छन् । उसो त हिलाम्मे बाटोबाट हैरानी खेपीरहेका यात्रुहरू कास्कीकोट–सराङ्कोटहुँदै पोखरा निस्किने वैकल्पिक बाटोको प्रयोग गर्न बाध्य भएको उनले बताए । धम्पुसबासीसमेत नजिकको सिधा बाटो छाडेर वैकल्पिक बाटोबाट पोखरा आउनुपर्ने बाध्यतामा रहेको उनको भनाई छ ।

स्थानीयले सडक निर्माण कम्पनीले बाटो निर्माणमा ढिलासुस्ती गर्नुका साथै गुणस्तरहिन सामग्रीको प्रयोग गरिरहेको आरोप लगाएका छन् । हेमजा विकास निर्माण समन्वय समितिका अध्यक्षसमेत रहेका स्थानीय कृष्ण खड्काले भने,‘बाटो निर्माणमा लापरवाही भएको छ, ढिलासुस्तीसँगै गुणस्तरमा पनि तलमाथि भएको छ ।’ उनले बारम्बार भन्दापनि निर्माण कम्पनीले बेवास्ता गरेको भन्दै अब पनि नसच्चिए हेमजाली जनताले निर्माण कम्पनीका प्रतिनिधि र प्राविधिकलाई कालोमोसो दल्ने चेतावनी दिए ।

स्थानीय ईन्द्रप्रसाद पौडेलले ठेकेदारले डिपीआर लुकाएको तथा मापदण्ड अनुसार काम नगरेको आरोप लगाए । उनले अहिलेकै स्थितिमा बाटो बन्ने हो भने तीन महिनामा बाटो दब्ने दाबीसमेत गरे ।

तर बाटो निर्माणको जिम्मा लिएको इलेट कम्पनीका प्रोपाइटर राजु रानाभाटले भने बाटो निर्माणका लागि गुणस्तरमा सम्झौता नगरिएको जिकिर गरे । साथै उनले बाटो निर्माणमा ढिलाई हुँदा वर्षाले बाटो हिलाम्मे भएर स्थानीय र यात्रुले हैरानी बेहोर्नुपर्दा आफू चिन्तित रहेको बताउँदै भने, ‘भोलिदेखि नै हिलो हटाउन शुरु गर्छौं, तीन दिनभित्र हिलो हटाएर बाटो सहज बनाउँछौं । उनले कोरोनाका कारण ४५ जना मजदुरबाट अहिले १५ जनामा झरेको, निर्माण सामग्रीको अभाव र बिजुलीको पोल सार्न ढिलाई भइरहेकाले तोकिएको मितिमा कुनैपनि हालतमा बाटो बनाउन नसक्ने बताए । सरकारले एक वर्ष म्याद थपिदिएको खण्डमा भने बाटो निर्माण गर्न सकिने बताए ।  

यसैबीच, बाटोको अनुगमन गर्दै गण्डकी प्रदेश सांसद रामजी बरालले प्रतिबद्धता अनुसार ३ दिन भित्रमा हिलो हटाएर आवागमन सहज बनाउन निर्देशन दिए । मध्य पहाडी लोकमार्ग देशकै गौरवको आयोजना हो,उनले भने,‘त्यसैले राज्यको ईज्जत राख्नेगरि ईमान्दार साथ काम गर्नुस्, ३ दिन भनेर हिलो हटाउन १५ दिन नलगाउनुस्।’ व्यवस्था बदलिएकाले कार्यशैली बदल्नसमेत ठेकेदार कम्पनीलाई चेतावनी दिए ।

प्रकाशित: १२ असार २०७७ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App