२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

गणकपूरक सङ्ख्या नपुगेपछि गाउँसभा स्थगित

चितवनको एकमात्र  गाउँपालिका इच्छाकामनाको सातौँ गाउँसभा स्थगित भएको छ। गणकपूरक सङ्ख्या  नपुगेपछि गाउँसभा स्थगित भएको हो। साँझ ६ बजे शुरु भएको बैठकमा १५ जनामात्र गाउँसभामा सदस्य  उपस्थित भएका थिए।  

गणकपूरक सङ्ख्याको आधारमा ५० प्रतिशत १८ जना  उपस्थित हुनुपर्ने थियो। गाउँपालिकामा गाउँसभा सदस्यको सङ्ख्या ३५ जना रहेका छन्। गणकपूरक सङ्ख्या नपुगेपछि गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष गीताकुमारी गुरुङले गाउँसभा स्थगित भएको  घोषणा गरे। उनले आज बिहान ११ बजेसम्मका लागि गाउँसभा स्थगित गरेकी हुँन्।  

गाउँसभा सञ्चालन तथा व्यवस्थापन कार्यविधि नियमावली २०७४ अनुसार ५० प्रतिशत सदस्य उपस्थित नभएकाले गाउँसभा स्थगित गरिएको अध्यक्ष गुरुङले बताइन्। इच्छाकामना गाउँपालिकाको गाउँसभा तथा अधिवेशन सञ्चालन तथा व्यवस्थापन कार्यविधि नियमावली २०७४ मा तत्काल कायम रहेका सदस्यको ५० प्रतिशत सदस्य उपस्थित रहनुपर्ने प्रावधान छ।  

गाउँपालिकाका विभिन्न चार वडाका वडाध्यक्षसहित बहुमत सदस्य उपस्थित नभएका हुन्। वडा नम्बर १ का वडाध्यक्ष नन्दुलाल गिरीले आफूहरुको विभिन्न माग पूर्णरुपमा सम्बोधन नभएकाले गाउँसभामा उपस्थित नभएको बताइन्।  गाउँपालिका अध्यक्षले आफूहरुको केही माग सम्बोधन गर्ने प्रतिबद्धता भने जनाएको भन्दै  असन्तुष्ट गाउँसभाका सदस्यको बिहीबार बिहान बैठक बसी गाउँसभामा भाग लिने वा नलिनेबारे निर्णय गरिने  बताइन्।  

असन्तुष्ट  सदस्यले वडाले विनियोजन गरेको ५० लाख रुपैयाँ आन्तरिक स्रोतमा पार्न नपाइने, गाउँपालिकाबाट विनियोजन हुने रकम वडाबाट वडा समितिले छानेर ल्याएको योजनाभित्रै पर्नुपर्ने, वडामा गाउँपालिकाबाट कार्यक्रम हुँदा वडाध्यक्षको उपस्थितिमा हुनुपर्ने, गाउँपालिकाको चौमासिक आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नुपर्ने, भैपरी आउने खर्च र आपत्कालीन कोषका रकमबाहेक सबै रकम गाउँसभाअगावै विनियोजन हुनुपर्नेलगायत माग राखेका छन्।  

प्रकाशित: ११ असार २०७७ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App