१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गण्डकी प्रदेश : कोरोनाको वृद्धिदर डरलाग्दो

पछिल्लो दशदिनमा प्रदेशमा मात्र पाँचसय बढी संक्रमित थपिए

अरु प्रदेशको तुलनामा गण्डकी प्रदेशमा कोराना भाईरस संक्रमणको गति सुरुवातताका केही कमजोर थियो । चैतको पहिलोसाता बागलुङमा दुईजनामा संक्रमण देखिएपनि जेठको मध्यसम्म प्रदेशभित्र संक्रमित निकै नै कम संख्यामा थिए । यतिसम्मकी जेठ मध्यसम्म प्रदेशमा संक्रमितको संख्या एक अंकमा सिमित थियो ।  

जब भारतबाट घर फर्किएका युवाहरूको संख्या ह्वात्तै बढ्यो, प्रदेशका विभिन्न जिल्लामा संक्रमित थपिने क्रमले पनि गति लिँदै गयो । एकाएक संख्या बढ्दै जाँदा पछिल्लो समय त डरलाग्दो तरिकाले संक्रमित थपिएको स्वास्थ्यकर्मी बताउँछन् । जेठ १४ गतेसम्म एक अंकमा सिमित रहेको संक्रमितको संख्या त्यसको दशदिनमै तीन अंकमा उक्लेको थियो । त्यसपछिको गति पनि तिब्र रुपमा बढिरहँदा पछिल्लो दशदिनमा मात्र प्रदेशका विभिन्न जिल्लामा पाँचसय भन्दा बढी संक्रमित थपिएको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।  

वृद्धिदर यतिसम्म बढेको छ कि जेठ १४ सम्म एकअंकमा सिमित संक्रमितको संख्या १० दिनपछि एकसय नाघेको थियो । सय नाघेको एकसातापछि जेठ ३२ गते १ सय ९९ पुगेको थियो । त्यो भन्दा त अझ बढी असारको १० दिन (बुधबारससम्म) मा मात्र प्रदेशका विभिन्न जिल्लामा पाँच सय बढी संक्रमित थपिएको निर्देशनालयको तथ्यांक छ । यो अवधिमा प्रदेशका ११ वटै जिल्लामा संक्रमण फैलिइसकेको छ भने बुधबारसम्म संक्रमितको संख्या ७२९ पुगेको छ ।  

सुरुवातताका एकसय पुग्न कम्तिमा १० दिन लाग्ने गरेकोमा अहिले एकैदिन पनि एकसय बढी संक्रमित भेटिने गरेका छन् । मंगलबार मात्र पोखरामा १ सय ४ जना संक्रमित थपिएका थिए । त्यस्तै गत शनिबार पनि प्रदेशमा १ सय ८ जना संक्रमित फेला परेका थिए ।  

प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्मा अहिलेको वृद्धिदर सुरुवात मात्र भएको बताउँछन् । ‘सुरुमा गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्ने गति निकै नै सुस्त थियो । सबैतिर थपिएको थपियैं थिए, तर, गण्डकी सुरक्षित जस्तै थियो । तर, अब त्यो अवस्था रहेन,’ उनले भने, ‘अब झनै डरलाग्दो अवस्था आउनेछ । भाइरस विरुद्धको तयारीका लागि हामी लागि परेका छौ ।’

भारतबाट फर्केका व्यक्ति विभिन्न जिल्लाका क्वारेन्टिनमा रहेकोले सुरुमा ती व्यक्तिमा संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण गरिएकोमा अब भने समुदायमा परीक्षण गर्नुपर्ने अवस्था आउन थालेको उनले बताए । ‘अहिलेको संख्या पनि कमजोर हो । तर वृृद्धिको यो ट्रेन्ड अझै बढ्ने त्रास छ,’ निर्देशक शर्माले भने, ‘क्वारेन्टिनमा अझै हजारौं मान्छे छन् । ती बाहेक समुदायमा पनि संक्रमित भेटिन थालेका छन् ।’  

अहिलेसम्म क्वारेन्टिनमा रहेका व्यक्तिमा मात्र संक्रमण देखिएकोमा अब भने समुदायमा फैलने त्रास भएको उनले बताए । ‘समुदायमा फैलने सम्भावना छ । हामीले त अहिलेको ग्राफलाई सुरुवातको चरण मानेका छौ,’ शर्माले भने, ‘साच्चै संक्रमण त अब पो सुरु हुन्छ की भन्ने देखिएको छ ।’ शर्माका अनुसार अहिले विभिन्न जिल्लाका क्वारेन्टिनमा ५ हजार व्यक्ति छन् । उनीहरूको परीक्षण हुन बाँकी छ । अझै पनि दिनमा ५०–६० जनाको दरले विभिन्न जिल्लामा भारतबाट आएका छन् । 

आगमनको यो संख्या पहिले सयौं थियो । ‘क्वारेन्टिनमा रहेका सबैको परीक्षण हुन बाँकी छ,’ उनले भने, ‘त्यसबाहेकको अब परीक्षणको चाँप कन्ट्याक्ट टे«सिङमा हुनेछ ।’ प्रदेशका नवलपुर, बागलुङ, स्याङजा, पर्वत, तनहुँ, गोरखा बढी संक्रमित भएको जिल्ला हुन् । सबैभन्दा कम दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा मात्र एक–एकजना रहेका छन् ।  

पोखरामा एकजना व्यक्तिमा सुरुमा संक्रमण देखिँदा उनको सम्पर्कमा रहेका ३९ जनाको परीक्षण गरेजस्तै अब समुदायमा फैलिएको खण्डमा कन्ट्याक्ट टे«सिङबाट पत्ता लगाउन निकै नै हम्मेहम्मे पर्ने उनले बताए । ‘कहीँकतै एकजनामा मात्र संक्रमण पुष्टि भयो भने ती व्यक्तिसँग सम्पर्कमा आएका सयौं व्यक्ति पत्ता लगाएर परीक्षण गर्नुपर्छ,’ शर्माले भने, ‘क्वारेन्टिन त रित्तो हुँदै गएका छन्। तर समुदायमा फैलने त्रास उत्तिकै बढेको छ ।’  

अहिले क्वारेन्टिनमा बाहेक बाहिर रहेका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ । ‘क्वारेन्टिनमा मात्र देखिँदा हामी ढुक्का थियौ । अब समुदायमा फैलिन थालेको छ । अब त्यसको तयारी गर्नुपर्नेछ,’ उनले भने, ‘क्वारेन्टिनमा बाहेक पाँचगुणा बढी तरिकाले कन्ट्याक्ट ट्रेसिङमा पत्ता लगाउनुपर्छ ।’ संक्रमणको त्रास बढेपछि प्रदेशका मन्त्रीहरू विभिन्न जिल्लामा परिचालन भएको पनि निर्देशक शर्माले जानकारी दिए ।

प्रकाशित: १० असार २०७७ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App