१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरकी महिलामा कोरोना पुष्टि, घर पसल ‘सिल’

त्रियुगा नगरपालिका ११ गाईघाटकी एक महिलालाई काठमाडाैँमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै गाईघाटस्थित उनको घर र पसलमा सिल गरिएको छ । उच्च रक्तचापले च्यापेपछि १२ दिनअघि बिराटनगरको नोबल अस्पताल लगिएकी उनलाई त्यहाँबाट काठमाडौंं रिफर गरिएकोमा पिसिआर परीक्षणले संक्रमण देखाएको हो ।  

मंगलबार दिउँसो संक्रमण पुष्टि भएसँगै गाईघाट एसके ट्रेडर्स पेट्रोल पम्पसँगै जोडिएको नउको पसल र डेढसय मिटर टाढाको घरसमेत प्रहरीले सिल गरेको छ । बजारमा थप संक्रमण हुन नपाओस् भनेर घर र पसलबीचको १ सय ५० मिटर दुरीमा आउजाउ गर्न रोक लगाइएको जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताए । समुदायस्तरमा कोरोना संक्रमण हुन नदिन उनको परिवार र छिमेकीलाई घरभित्रै बस्न आग्रह गरिएको उनले बताए ।  

उच्च रक्तचापले विरामी उनलाई गत जेठ ३० गते विराटनगर लगिएकोमा त्यहाँ उपचार संभव नभएपछि असार १ गते काठमाडौंस्थितं न्यूरो हस्पिटल लगिएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । न्युरोमा उपचार क्रममा पिसिआर गर्दा संक्रमण देखिएपछि परिवारका सदस्य र उनी आउजाउ र सम्पर्कमा रहेका व्यक्तिलाई घरबाहिर ननिस्कन सिल गयरिएको एसपी दाहालले बताए ।  

उनको कन्ट्याक्ट ट्रेसिङ सुरु भईसकेको र प्रारम्भिक ट्रेसिङमा लकडाउन सुरु हुनुभन्दा केही महिनाअघि छोरी विदेशबाट फर्केर बिहे गरेको पाइएको एसपी दाहालले बताए । ‘उनको पुरा ट्रेसिङ भईसकेको छैन, प्रारम्भिक अनुसन्धानमा विदेशबाट छोरी फर्केर विहे गरेकोसम्म खुलेको छ’ एसपी दाहालले भने ‘समुदायमा संक्रमण नफैलियोस् भन्ने हाम्रो प्रयास हो ।’  

लकडाउनभरी घरमै बसेकी उनलाई विराटनगर वा काठमाडौंकै अस्प्तालमा उपचारको क्रममा संक्रमण भएको हुनसक्ने अनुमान पनि उत्तिकै सवल रहेको प्रहरी बुझाई छ ।  

यो सँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ११ महिलासहित ५३ पुगेको छ । वैशाख ५ देखि तेस्रो सातासम्म त्रियुगा ३ भुल्केस्थित नुरी मस्जिदका १२ भारतीयसहित १६ जमाति र १३ स्थानीय संक्रमित पुष्टि भएका थिए । सप्तरीका ३ र गाईघाटका एक पत्रकारसहित ३३ संक्रमित उनीहरु सबै उपचारपछि निको भएर फर्किसकेका छन् । तर, पछिल्लो समय भारतबाट फर्केर बिभिन्न क्वारेन्टिनमा बसेका १९ जनामा संक्रमण भेटिएको थियो ।  

जसमध्ये बेलका नगरपालिका ३ की एक महिला र चौदण्डीगढी नगरपालिका ५ का युवक कोरोना जितेर घर फर्किसकेका छन् । अन्य संक्रमितहरु ४ जनाको उदयपुरकै चौदण्डीगढी नगरपालिका ६ बेलटारस्थित नवनिर्मित आईसोलेसन अस्पतालमा र बाँकीको कोरोना विशेष अस्प्ताल विराटनगरमा उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  

स्वास्थ्य प्रमुख मोहन सुबेदीले मंगलबारसम्म ८ सय ९७ महिला र २ हजार १ सय ८६ पुरुषको पिसिआर परीक्षण गरिएको बताए । उनका अनुसार जसमध्ये ८ सय ८४ महिला र २ हजार १ सय १ जनाको रिपोर्ट आईसकेको छ । स्वास्थ्य टोलीले सदरमुकाममा संक्रमण नियन्त्रणोन्मुख देखिएपछि बिभिन्न स्थानीय तहमा गएरु पिसिआर परीक्षणका लागि स्वाब संकलन कार्य जारी राखेको छ । 

प्रकाशित: १० असार २०७७ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App