७ वैशाख २०८१ शुक्रबार
समाज

रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाउँदा समुदायमा काेराेना फैलने जोखिम

विभिन्न मुलुकबाट जिल्लामा आएका व्यक्तिहरूमा सिमित देखिएको कोरोना भाईरस समुदायमा पनि फैलने उच्च जोखिम बढेको छ । क्वारेन्टिनमा रहेकाहरूमा मात्रै फेला परेको कोरोना बिस्तारै क्वारेन्टिन बाहिर समुदायमा पनि बढ्न थालेको छ । समुदायमा कोरोना संक्रमण फैलन सक्ने त्रासदी अहिले जिल्लामा ब्याप्त छ । उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, परीक्षण रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएकाहरूमा कोरोना संक्रमण पुष्टि हुनुले कोरोना संक्रमण समुदायमा पनि फैलने उच्च जोखिम आंकलन गरिएको छ ।

राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा सोमबार दाङ घोराही क्षेत्रका १३ जना नागरिकमा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएका १३ मध्य १२ जना क्वारेन्टिनमा बसेकाहरू थिए भने एक जना घोराही उपमहानगर २ का वडा अध्यक्ष हुन्। कोरोना परीक्षणका लागि १६ दिन अघि स्वाब दिएका यि जनप्रतिनिधि परिवारमा मात्रै हैन, गाउँसमाजमा पनि खुलेआम घुलमील भए । केही दिन अघिमात्रै घोराही उपमहानगरको नीति तथा कार्यक्रममा समेत उनी सहभागी भए । अनि आइतबार बसेको नगरसभाको बैठकमा समेत उनी सहभागी भए ।

‘उहाँको स्वाब संकलन भएको भएपनि उहाँ उपमहानगरको नीति तथा कार्यक्रम एबं नगरसभाको बैठकमा सहभागी हुनु भयो,’ एक वडा अध्यक्षले भने, ‘उहाँ हामीहरूको सम्पर्कमा पनि आउनुभयो, यसर्थ हामी अन्य जनप्रतिनिधिहरूलाई पनि कोरोना संक्रमणको त्रास बढेको छ ।’ घोराही उपमहानगरका मेयर नरुलाल चौधरीले ति वडा अध्यक्षको परिवारको कोरोना परीक्षण हुने जानकारी दिए । 

उपमहानगरको नीति तथा कार्यक्रम एबं नगरसभामा उनी उपस्थित भएपनि सामााजिक दुरी कायम गरेर बस्ने व्यवस्था गरिएकाले उपमहानगरका अन्य जनप्रतिनिधिहरूलाई कोरोना संक्रमण सरेको हुन नसक्नेमा आँफू विश्वस्त रहेको वताए । ‘उहाँको परिवारको कोरोना परीक्षण गर्ने तयारी गरिएको छ, तर उपहानगरको नीति तथा कार्यक्रम र नगरसभामा उहाँ सहभागी भएपनि सामाजिक दुरी कायम गरेर बसिएकाले संक्रमण सरेको होला जस्तो मलाई लाग्दैन,’ मेयर नरुलाल चौधरीले भने ‘यसैगरि उहाँको कन्ट्याक्ट ट्रेसिङ गरेर अन्य नागरिकहरूको पनि स्वाब परीक्षण गर्ने तयारीमा हामी छौँ ।’ हाल यि वडा अध्यक्ष होम आईशोलेशनमा बसिरहेका छन् ।  

केही दिन अघि घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सहित चार स्वास्थ्यकर्मीहरूलाई कोरोना संक्रमण पुष्टि भयो । अस्पतालमा उपचारका लागि आएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको उपचारमा संलग्नहरूको कोरोना परीक्षण गर्दा चार स्वास्थ्यकर्मीहरूमा पनि संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानका चार स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल शिल गरियो  । ‘शनिबार र आईतबार दुई दिन अस्पतालमा सबै प्रकारका सेवा बन्द गर्ने निर्णय भएको हो,’ प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देवले भने  । चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारी गरि दुई सय बढिको स्वाब संकलन गरियो । यि मध्य थप एक कर्मचारीमा कोरोना पुष्टि भयो ।  

कोरोना संक्रमण पुष्टि भएका प्रतिष्ठानका चार स्वास्थ्यकर्मी र एक कर्मचारी मार्फत समुदायमा कोरोना संक्रमण फैलन सक्ने खतरा देखिएको छ  ।  

चार दिन अघि घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा कार्यरत एक स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भयो । वडाका स्वास्थ्य कर्मचारीलाई कोरोना पुष्टि भएपछि यो वडा कार्यालय पनि अहिले शिल गरियो । साथै ति कर्मचारीको सम्पर्कमा आएका समुदायका नागरिकहरूलाई पनि कोरोना संक्रमणको उच्च खतरा बढेको छ । ‘उहाँ( स्वास्थ्यकर्मी) मा संक्रमण देखिएपछि उहाँ संग कामको शिलशिलामा सम्पर्कमा रहेका समुदायका नागरिकहरू त्रस्त हुनुहुन्छ,’ वडा अध्यक्ष माधव चौधरीले भने ‘उहाँको सम्पर्कमा रहेकाहरूको पनि स्वाब संकलनको तयारी भैरहेको छ ।’

राजपुर गाउँपालिकाकी एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवार, छरछिमेक तथा उनले उपचार गरेका अन्य बिरामीहरूमा समेत कोरोना संक्रमणको खतरा बढेको छ । ‘श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि हामी सबै परिवारले पनि कोरोना परीक्षणका लागि स्वाब दिएका छौँ,’ ति स्वास्थ्यकर्मीका श्रीमानले भने ‘हेरौँ रिपोर्ट कस्तो आउँछ ?’ 

यि स्वास्थ्यकर्मी कोरोना परीक्षणका लागि स्वाब संकलनमा खटिएकी थिईन् । नेपाल भारत सीमा क्षेत्रमा पुगेर स्वाब संकलन गरेकी ति स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । ‘जेठको २२,२४ र २७ गते तीन दिन स्वाब संकलनमा खटिएको रहेछ,’ उनका श्रीमानले भने ‘त्यहि बेला उसलाई संक्रमण भएको हुन सक्छ ।’ ति स्वास्थ्यकर्मीलाई अहिले लालमटिया स्थित आईशोलेशनमा राखिएको छ ।  

घोराही ४ मा पनि दुई जना स्वास्थ्यकर्मीहरूलाई कोरोना संक्रमण पुष्टि भएपछि वडामा रहेको स्वास्थ्य चौकी शील गरियो । वडा अध्यक्ष भीमवहादुर सार्कीले संक्रमण फैलने डरले स्वास्थ्य चौकी बन्द गर्नुपरेको वताए । ‘उहाँहरू स्वास्थ्यकर्मीहरू धेरैजनाको उपचारमा खटिनु भयो,’ वडा अध्यक्ष सार्किले भने ‘उहाँहरूबाट समुदायमा फैलने त्रासका कारण स्वास्थ्य चौकी बन्द गर्नुपरेको हो ।’  

स्थानीय सरकारको लापरवाही समुदायमा कोरोना फैलन सक्ने अर्को प्रमुख कारण बनेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले क्वारेन्टिनमा बसेका ४३ जनालाई कोरोना परीक्षण नगरेरै घर पठाईदियो । उनीहरू घर परिवार तथा गाउँसमाजमा घुलमील भए । तर उनीहरू मध्य १७ जनाको कोरोना परीक्षण पोजेटिभ आयो । ‘हामीहरूले घरमा बस्नु होला, कतै घुलमील नहुनु होला भनेर पठाएका थियौँ,’ वडा अध्यक्ष खुशीराम चौधरीले भने ‘घर गएका मध्य १७ जनाको रिपोर्ट पछि पोजेटिभ आयो ।’ 

वडाले घरमै सुरक्षित बस्न भनेपनि उनीहरू घर समाजमा घुलमील भैसकेका थिए । कोरोना संक्रमण पुष्टि भएकाहरूको सम्पर्कका आधारमा थप १ सय ८ जनाको स्वाब संकलन गरेर अहिले परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको वडा अध्यक्ष चौधरीले जानकारी दिए । ‘उनीहरू मध्य केही त घरमै सुरक्षित भएर बसेका रहेछन्,’ उनले भने ‘तर केही भने खुलेआम घुमफिर गरेका रहेछन्, समस्या त्यहाँनेर भयो ।’ 

यसैगरि घोराही उपमहानगरपालिका १८ स्थित क्वारेन्टिनबाट रिपोर्ट नआउँदै घर पठाईएका दुईजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू पनि घर परिवारका सदस्यहरू संग घुलमिल भैसकेका थिए । वडा अध्यक्ष भरत अर्यालका अनुसार उनीहरूको परिवारका सदस्यहरूलाई पनि घर बाहिर ननिस्कन भनेको वताए । उनीहरूका परिवारका सदस्यहरूको स्वाब पनि संकलन भैसकेको छ ।

प्रकाशित: ९ असार २०७७ १२:१९ मंगलबार

कोरोना संक्रमित कोरोना क्षेत्र