९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

विहानै डोकोमा तरकारी

जुम्लाका पातारासी ७ रिनी गाउँकी हरिकला बुढा एकाविहानै हरियो तरकारी डोकोमा बोकेर सदरमुकाम खलंगा आइपुग्छिन् । उनी घरबाट बजार आइसकेपछि मात्र उज्यालो हुन्छ । घरबाट बजार पुग्न झण्डै एक घण्टा हिड्नुपर्छ । बारीभरी लटरम्म फलेका, काँक्रा, लौका, फर्सि, टमाटर, काउली आलु लगायतका ताजा तरकारी टन्न फलेको छ । दैनिक दिन बजारमा तरकारी बेच्न आउनु उनको दैनिकी नै हो ।

उनी एक उदाहरण मात्र हुन । उनी संगै गाउँका महिला पनि बजारमा तरकारी बेच्न आउँछन् । विहान ४ बजे घरबाट बजारको लागि हिड्छौँ, हरिकलाले भनिन्,‘६ बजे तरकारी बेचेर घर फर्किहाल्छौँ । घाम, पानी, चिासो, गर्मी केही नभनेर तरकारी बेच्न आउने गरेका छौँ ।’ अहिले उनीहरुले ल्याएको तरकारी बजारका प्रत्येक चौकचौकमा किनबेच भइरहेको छ ।  

अहिले देशभर लकडाउन छ । सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्नुपर्ने अवस्था छ । तर घरमा उत्पादन गरेको तरकारी बजारमा नल्याइ सुख छैन । उनले भनिन्,‘लकडाउनमा उत्पन्न तरकारीको अभावलाई गाउँका महिलाले परिपुर्ति गर्न सकेकोमा निकै खुसी छौँ ।’  

बारीमा उत्पादन भएको हरियो र ताजा तरकारी बेच्छु, तरकारी बिक्रीले दैनिक घरको गुजारा चलेको छ । उनले थपिन्,‘बजारको अभावले तरकारी बेच्ने ठाउँ छैन । दुई घण्टा डुलेपछि सबै तरकारी बिक्छ ।’ तरकारी बेचेर दैनिक १ हजार रुपैयाँ आम्दानी हुने गरेको उनीहरु बताउँछन् । साग १० रुपैयाँको मुठा, आलु २५ रुपैयाँ केजी र काउली ४० रुपैयाँ केजी बेच्ने गरेका छन् । तरकारी बेचेको पैसाबाट घरखर्च चलाउन सजिलो भएको महिलाहरु बताउँछन् ।  

तरकारी बेचेरै परिवारमा चुलो बल्दा राहतको लागि कससंग मुख ताक्नु परेको छैन । कोरोनाबाट बच्न सामाजिक दुरी कायम गर्दै कसैलाई तरकारी छान्न तथा छुन दिदैनन् । घरघरै तरकारी बेच्न नहिँडे बारीमै सडेर जाने खतरा भएकोले बजारको गल्लीगल्लीमा तरकारी बेच्न हिड्ने गरेका हुुन् । तरकारीबाट आउने रकमले घरमा नुन, दाल र चामल किनेर खाने गरेको हरिकला बताउँछिन् ।

अर्की हिउचुल्ला खड्का तरकारी बेच्न जुम्ला बजार आउनुको विकल्प नरहेको बताउँछिन् । गाउँबजार तरकारी बजार छैन । तरकारी नबेच्ने हो भने घरव्यवहार टार्न मुस्किल हुन्छ । उनले तरकारी बेचेरै एउटा छोरीलाई पढाएर १२ पास गराएको र एउटा छोरीलाई स्वास्थ्य लाइन पढाउँदै आइरहेको बताईन् । घर नजिकै बाटो पुगेपनी बर्षायामको हिलोले गाडी जान नसक्ने भएकोले तरकारी बेच्न बजार अउनु पर्ने बाध्यता छ । यो समयमा तरकारी नबेच्ने हो भने बारीमा कुहिने गर्छ  ।

सोही गाउँका तारा र रमिला खड्काको पनि अवस्था उस्तै छ । उनिहरु विहान ४ वजे डोको भरी हिलाम्य बाटोमा तरकारी बोकेर बजार आउने गर्छन् । उनीहरु तरकारी बेचेर कमाएको रुपैयाँले घर खर्च संचालन गर्दै आइरहेका छन । घरमा छोराछोरी पढाउने कापी र कलम, नुन,तेल र चामल किन्ने गरेको रकम तरकारी बेचेरै कमाउँछन् । तरकारी ल्याएर बजार आउँदा आँउदै थाकाई लाग्छ । बजारमा तरकारी घुमाउदै सबेरै बिक्री भएको दिन समयमै घर जान पाइन्छ नत्र १० बजे सम्म घर फर्कन पाईदैन ।  

चन्दनानथ नगरपालिका वडा नम्वर ५ निवासी गणेश शाहीले घरमै तरकारी किन्न पाउँदा धेरै खुसी लागेको बताए । घरको गेटमै छानेर ताजा तरकारी पाउँदा धेरै सजिलो भएको छ, उनले भने,‘ महिलाहरु घरघरमै आएर तरकारी नबेच्ने हो भने तरकारी पाउन मुस्किल हुने देखिन्छ  । ’

 बजारकै मूल्यमा किसानहरुले घरमै तरकारी ल्याएको भन्दै ताजा तरकारी खान पाइएको स्थानीय बताउँछन् । एकातिर हामीले सुलभ र सहज रुपमा तरकारी पाएकाछौँ, उनले थपे,‘ र अर्कोतिर बाहिर बजारबाट तरकारी नआए पनि स्थानीय उत्पादनले राम्रै बजार पाएको छ । यो राम्रो पक्ष हो ।’

किसान पानीमा भिज्दै भएपनि तरकारी बेच्न हरेक बिहान सदरमुकाम पुगेका हुन्छन् । यो बेलामा त झन् कोरोना भाइरस जोखिमका कारण आयातित तरकारीभन्दा स्थानीय उत्पादन सुरक्षित हुने भएका कारण पनि डोकोमा बोकेर ल्याएको तरकारीले राम्रै बजार पाएको छ ।

 

प्रकाशित: ९ असार २०७७ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App