अफ्रिकी देश घानाका राष्ट्रपति नाना अकुफो अडोले गत साता एउटा कार्यकारी आदेश स्वीकृत गरे। सो आदेशमा आगामी तीन महिनासम्म आमनागरिकले फेस–मास्क लगाउनैपर्ने, नलगाएमा चारदेखि १० वर्षसम्म जेल सजाय र दुई हजार देखि १० हजार अमेरिकी डलरसम्म जरिवाना गर्न सकिने अथवा दुवै सजाय दिन सकिनेछ। यो व्यवस्थाअन्तर्गत सार्वजनिक स्थानमा र घरबाहिर निस्कँदा फेस–मास्क, फेससिल्ड र अन्य कुनै मुख तथा नाक छोप्ने साधन लगाउनैपर्नेछ। घानामा आइतबार साँझसम्म कोराना भाइरसबाट १३ हजार सात सय १७ संक्रमित भएका छन् भने ८५ को मृत्यु भइसकेको छ।
अमेरिकी एयरलायन्सले गत बुधबार एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि उनलाई उड्न दिएन। सो हवाईसेवाको ‘कोरोना भाइरस नीति’ अनुसार उडानमा मास्क अनिवार्य गरिएको छ। गत बिहीबार क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्युसमले आफ्नो राज्यका सार्वजनिक स्थलमा यात्रुले मास्क लगाउनैपर्ने आदेश गरेका छन्।
लन्डनका मेयर सदिक खानले भाइरसको संक्रमण नियन्त्रणमा मास्कको अत्यन्त महŒवपूर्ण भूमिका रहेको भन्दै गत बिहीबार नै लन्डनका सार्वजनिक स्थल र पसलमा फेस–मास्कलाई अपरिहार्य बनाउने व्यवस्था गर्न बेलायती प्रधानमन्त्रीलाई एक चिठी लेखेका छन्। त्यस्तै, मुस्लिम कट्टरपन्थी राष्ट्र इरानका राष्ट्रपति हसन रुहानीले समेत शनिबार सार्वजनिक स्थल र भीडभाड हुने स्थलमा मास्क लगाउनैपर्ने नियम केही दिनभित्रै ल्याइने बताएका छन्। सो अपरिहार्य नियम आउनुअघि आमनागरिकले किन्न सक्ने मास्क बजारमा उपलब्ध हुनुपर्ने उनको निर्देशन छ।
त्यसो त पाकिस्तान, दक्षिण कोरिया, भियतनाम, स्पेन, फ्रान्स, जर्मनी, बहराइन, कतार लगायत संसारका ५० भन्दा बढी देशले कोरोना महामारी रोक्न मास्क प्रयोगलाई अपरिहार्य बनाएका छन्। विश्व स्वास्थ्य संगठनले सुरुमा सार्वजनिक स्थलमा हिँडडुल गर्दा मास्क प्रयोग गर्ने सम्बन्धमा स्पष्ट निर्देशिका दिएको थिएन, पछिल्ला दिनमा भने उसले मास्क प्रयोगलाई जोड दिएको छ।
संक्रमितले बोल्दा, खोक्दा, हाच्छ्यँु गर्दा मुख र नाकबाट निस्कने सूक्ष्म छिटा अर्थात् एरोसोललाई मास्कले छेक्ने र वरपरका मान्छे सुरक्षित हुने वैज्ञानिक मान्यता हो। मास्कका धेरै प्रकार भए पनि पछिल्लो समय विधि पु¥याएर प्रयोग गरिने सर्जिकल मास्क र सामान्य कपडाका मास्कले समेत भाइरस संक्रमणलाई रोक्न उपयोगी मानिएको छ।
‘सबैले मास्क लगाएमा भाइरस स्रोतमै नियन्त्रण हुन्छ,’ संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘एरोसोल रोक्न प्रभावकारी मानिएका मास्कको प्रयोगले ६० प्रतिशतसम्म महामारी नियन्त्रण गर्न सकिन्छ।’ भल्भ भएका मास्कको प्रयोगले भने भाइरसका छिटा बाहिर निस्कने र अन्य मानिस जोखिममा पर्न सक्ने उनको तर्क छ। पछिल्ला वैज्ञानिक अध्ययन अनुसार झन्डै आधाजस्तो भाइरसको संक्रमण लक्षण नदेखिएका संक्रमितबाट अन्यलाई हुने गरेको छ। त्यसैले भीडभाड हुने र सार्वजनिक स्थानमा निस्कँदा मास्क लगाउन अत्यावश्यक छ।
एसियालीका लागि नौलो होइन मास्क
नेपालमा, विशेषगरी राजधानी काठमाडौंमा वायु प्रदूषणबाट बच्न मानिसले पहिलेदेखि नै मास्क लगाउँदै आएका थिए। प्रदूषणले गाँजेका अन्य दक्षिण एसियाली सहरमा पनि मास्कको प्रयोग हुँदै आएको छ। यसैगरी चीन, ताइवान तथा हङकङमा कोरोनाभाइरस महामारी फैलिनुअघि नै मास्कको प्रयोग हँुदै आएको थियो। यसअघि त्यो क्षेत्रमा फैलिएको सार्स र एच–१ एन–१ महामारीको अनुभवका कारण पनि उनीहरूले मास्कको प्रयोग गर्दै आएका थिए।
‘सबैले मास्क लगाएमा भाइरस स्रोतमै नियन्त्रण हुन्छ। एरोसोल रोक्न प्रभावकारी मानिएको मास्क प्रयोगले ६० प्रतिशतसम्म महामारी नियन्त्रण गर्न सकिन्छ।’
अनुप सुवेदी, संक्रामक रोग विशेषज्ञ
त्रिभुवन विश्वविद्यालयका मानवशास्त्री डा. जनक राई पश्चिमा राष्ट्रमा तुलनात्मक रूपमा कम प्रदूषण लगायत अन्य कारणले मास्कको प्रयोग त्यति नहुने बताउँछन्। महामारीसँगै मास्कको प्रयोग सहरदेखि गाउँसम्म पुगेको चर्चा गर्दै राई भन्छन्, ‘मास्क विश्वव्यापी सांस्कृतिक प्रयोग भएको छ, यो शरीर र अनुहारको अभिन्न अंग समेत बनेको छ। विश्वमा एउटै वस्तु एकै समय यसरी अर्बौं मानिसले लगाएको यो पहिलोपटक हो।’
हामीकहाँ ८२ दिन पूर्ण लकडाउन भएर गत सातादेखि आंशिक रूपमा खुलेसँगै काठमाडौं लगायत सहरमा अधिकांशले मास्कको प्र्रयोग गरेका छन् तर कतिपयले विधिपूर्वक प्रयोग नगरी झारा टार्ने किसिमले चिउँडोमा झुन्ड्याएको देखिन्छ। भाइरसको उच्च संक्रमण देखिएको तराई क्षेत्रमा पनि गर्मीका कारण आममानिसले मास्क प्रयोग गर्न आनाकानी गरेको देखिन्छ।
आइतबार सप्तरी पुगेका स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले मास्कको प्रयोगबिना मानिसहरूले बेरोकतोक सार्वजनिक स्थलमा भीडभाड गरेको देखेर आफू चिन्तित भएको बताए। उनले टेलिफोनमार्फत भने, ‘जनचेतनाको कमी र असावधानीका हिसाबले यहाँ प्रकोपको जोखिम अत्यधिक छ।’
उनका अनुसार हालसम्म खासखास स्थानमा मात्र देखिएको भाइरसको संक्रमण समुदाय स्तरमा पुग्यो भने मास्कको प्रयोगलाई अनिवार्य बनाउनैपर्छ। उनी भन्छन्, ‘बाहिरफेर निस्कँदा मास्कको प्रयोगसँगै कम्तीमा एक मिटरको भौतिक दूरी कायम गर्न र साबुनपानीले नियमित हात धुन कन्जुस्याइँ गर्न हुँदैन।’
धार्मिक नेता के भन्छन् ?
हाल भारतमा रहेका जैन धर्मका गुरु डा. मणिभद्र मुनि मुख–वस्त्रिका (फेस–मास्क) लगाउने प्रचलन साढे दुई हजार वर्ष पुरानो भएको बताउँछन्। जैन धर्ममा अहिंसालाई महत्व दिइने चर्चा गर्दै ह्वाट्सअपमार्फत उनले भने, ‘मुख–वस्त्रिका लगाउनुको अर्थ हो– मुखको तातो हावाले बाहिर वायुमा रहने जीवको हिंसा नहोस् र बाह्य जीव पनि मुखभित्र नछिरून्।’
‘श्वासप्रश्वासमार्फत सर्न सक्ने भाइरस लगायत अन्य रोग नसरून् भनेर धेरै पहिलादेखि मुख–वस्त्रिका लगाउने चलन चलेको हो,’ उनले थपे।
राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष डा. माधव भट्टराई आत्मरक्षाका लागि पुर्खाले यस्ता सुरक्षा साधनको प्रयोग गर्दै आएको बताउँछन्। ‘नित्य कर्म, पूजाआजा, स्नान तथा यात्रा गर्दा गम्छा वा रुमालको प्रयोग हुँदै आएको हो,’ उनी भन्छन्, ‘हाल मास्क महामारीको सन्दर्भमा आएको छ। तर, धार्मिक हिसाबले सूक्ष्म जीवाणु र कीटाणु शरीरमा नपसून् भन्ने चेतना पहिल्यैदेखि थियो।’
त्यस्तै, धर्माेदयसभाका उपाध्यक्ष केशवमान शाक्य प्रकृतिलाई कुनै किसिमको हानि पु¥याउन नहुने बौद्धधर्मको मूल मान्यता रहेको बताउँछन्। उनका अनुसार बुद्ध धर्ममा भिक्षुका लागि दुई सय २७ र भिक्षुणीका लागि तीन सय ११ नियम अर्थात् विनय पालना गर्नुपर्ने हुन्छ।
उनी भन्छन्, ‘यी नियमको मूल उद्देश्य रोगबाट बच्ने, प्रकृतिलाई र अरुलाई हानि नपु¥याउने, व्यक्तिगत स्वास्थ्य तथा सरसफाइलाई उच्चतम प्राथमिकता दिनु हो।’
मास्क कहिलेसम्म ?
महामारीका कारण मास्क अहिले मानव जातिको एउटा जीवनपद्धति र पहिचान बने पनि यसको प्रयोगको इतिहास लामो छ। १८औँ शताब्दीदेखि नै अस्पतालमा मास्कको प्रयोग हुने गरेको तर सन् १९१८/१९१९ मा करोडौँ मानिसको ज्यान लिने गरी फैलिएको स्पेनिस–फ्लु महामारीपछि भने यसको सार्वजनिक प्रयोग बढेको पाइन्छ। के मास्क कोरोना महामारीको अन्त्यपछिको ‘न्यु–नर्मल’ सार्वजनिक जीवन पद्धति र संस्कृतिको अभिन्न अंगका रूपमा रहला ? विज्ञहरू भने यसै केही भन्न नसकिने बताउँछन्। ‘स्वाभाविक रूपमा मान्छे तार्किक प्राणी हो,’ मानवशास्त्री राई भन्छन्, ‘लगाउँदा असजिलो हुने भएका कारण मास्कको प्रयोग निरन्तर हुनेमा शंका गर्न सकिन्छ। अन्य कुनै कारणवश भविष्यमा मास्क लगाउनैप¥यो भने त्यो मानव जातिलाई नयाँ विषय भने हुने छैन।’
प्रकाशित: ८ असार २०७७ ०१:२५ सोमबार