३१ श्रावण २०७७ शनिबार
समाज

क्वारेन्टिनमा न ओछयान न झुल, २० दिनदेखि स्वाब परीक्षणकै पर्खाइमा

धनुषाको बटेश्वर गाउँपालिका ५ स्थित काली जनज्योती आवसिय विद्यालयमा संचालित क्वारेन्टिन ।

‘भुइँमै सुत्छौँ, ओछयाउनलाई न तन्ना छ न झुल । रात लामखुट्टे मारेरै बितेको छ । कोरोना भन्दा पहिले मलेरिया लागेर मर्ने हो कि जस्तो लाग्छ,’ धनुषा सबैला नगरपालिका—२ स्थित सरस्वती माध्यमिक विद्यालयका क्वारन्टिनमा बसिरहेका चन्दन साहले दुखेसो पोखे । भारतको गुजरातबाट गत जेठ २२ गते फर्किएयता भोगेका दुःख सम्झिदा उनको आँखा रसाउँछ ।  

भारतबाट फर्किएकाहरुमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेकाले क्वारेन्टिनमा सतर्कता अपनाउनुपर्ने थाहा हुँदाहुँदै व्यवस्थापकीय उदासिनताले लापरबाह दिनचार्या बिताउन उनी बाध्य छन् । क्वारेन्टिनमा व्यवस्थापकले मास्क र सेनिटाइजर समेत नदिएकाले त्यतीकै बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।  

‘सुरुका दिनमा भारतबाट आउनेहरुलाई मास्क सेनिटाइजर, ओछयान र झुल दिइएको थियो । हामीलाई मास्क र सेनिटाइजर त दिएन तर पहिले बस्ने व्यक्तिले प्रयोग गरिसकेको फोहोर तन्ना र झुल दिएपछि हामीले लिएनौ,’ साहले थपे ।  

सरस्वती माध्यमिक विद्यालयमा संचालित यो क्वारेन्टिनमा साहसँगै भारतको विभिन्न सहरबाट आएका ७० जना बसिरहेका छन् । उनीहरुकालागि एउटा चापाकल र दुइवटा शौचालय छ । खानेपानी र नुहाइधुवाइ र दिसाकालागि घण्टौ लाइनमा लाग्नु परेको विनोद साहले सुनाए ।      

‘धेरै दुःखका साथ यहाँ दिन काटिरहेको छु । शुरुमा आउँदा राम्रो खाना पाउँदैन थियो तर पछि खाना अलि राम्रो पाउन थालेपछि अहिले पानीको समस्या छ,’ फोनमा पिडा सुनाउँदै उनले भने, ‘यहाँ २० दिनदेखि बस्नेहरुको टेस्ट भएको छैन् । यतिका दिनमा धेरै दुःख झेले अब सकिन्न । तुरन्तै अब हाम्रो टेस्ट नभए आन्दोलन गर्छौँ ।’

भारतको हरियानाबाट फर्किएका धनुषा बटेश्वर गाउँपालिका—३ कालीपुरका संजिप सदा शान्पिुरस्थित काली जनज्योती आवसिय विद्यालयस्थित क्वारेन्टिनमा बसेको समेत २० दिन भयो । तर अझै पिसिआर परीक्षणका लागि स्वाब संकलन नहुँदा उनी निरास भएर बसेका छन् ।  

‘फर्किने बेला मालिकले मजदुरी गरेको पैसा दिएन् । घरमा छोराछोरी श्रीमती र आमाबुवा हुनुहुन्छ । कर्जा काढेर उनीहरु बाँचेका छन्,’ सदाले पीडा सुनाउँदै भने, ‘८ दिन हिडेरै नाकासम्म आए । त्यो पीडा र तनाव छँदैछ । फेरी यहाँ हामी जेलघर जस्तो बाँचिरहेका छौँ । टेस्ट कहिले हुने ठेगान छैन । सकेजति सबैलाई भनेकै छु तर कुनै सुनवाइ छैन । कर्जाकै भरमा अझै कतिदिन घर चल्ने हो थाहा भएन् ।’ छिटो घर पुगे कमाएर घर परिवार चलाउने र छोराछोरी पाल्ने उनले बताए ।  

सोही क्वारेन्टिनमा बसेका वडानम्बर १ का राम कुमार महतो समेत स्वाब परीक्षण नहुँदा निरास भएर बसेका छन् । १८ दिनअघि भारतको तामिलनाडुबाट फर्किएका उनी बसाईकै कारण रोगले थला पर्ने चिन्तामा छन् ।  

‘लकडाउन भएपछि तामिलनाडुमै तीन महिना कोठामा बसेर बिताए । फेरी यहाँ आएको १८ दिन भयो । सधैँ काम गर्ने हाम्रो जिउ सुस्त हुँदा बिरामी त पर्ने होइन जस्तो लाग्छ,’ उनले भने, ‘नतिजा जे आएपनि त्यसको खासै चिन्तता छैन । तर टेस्टमा यति ढिलाई किन गरेको ? सधैँ भोली पर्सी भनेर ढाटेको ढाँटै छन् ।’  

यता पिसिआर मेसिन अभावले परीक्षणमै ढिलाई भएर तीन सातासम्मको स्वाब परीक्षण हुन नसकेकाले स्वाब संकलनमा ढिलाई भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।  

धेरै दिन राखेर स्वाब परीक्षण गर्दा नतिजामा त्रुटी हुनसक्ने भन्दै प्रयोगशालाले स्वाब संकलनमा ढिलाई गरेको प्रयोगशालाका अधिकृत युगल किशोर यादवले बताए । समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ मा शनिवारसम्म ३६ हजार १ सय ९९ जनाको स्वाब संकलन भएको छ । तर त्यसमध्ये ७ हजार ४ सय ८५ जनाको रिपोर्ट आउन अझै बाँकी छ । प्रदेश २ मा परीक्षण भएकामध्ये शनिवारसम्म २ हजार ८ सय २४ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । 

प्रकाशित: ६ असार २०७७ १७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App