१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महिला क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपनि महिला

महिला क्वारेन्टिनमा बस्न कुवेतबाट आएका महिलाहरू । तस्बिर : सन्देश/नागरिक

पोखरामा महिला क्वारेन्टिन स्थापना गरिएको छ । विदेशबाट फर्किएका महिलालाई मात्रै राख्नेगरि पोखरा–३ नदीपुरस्थित पद्म नर्सिङ हस्पिटलमा महिला क्वारेन्टिन स्थापना गरिएको हो । बुद्ध हस्पिटलका नाममा स्थापना गरिएको हस्पिटललाई गत वर्ष मात्रै पद्म नर्सिङ हस्पिटलले खरिद गरेर आफ्नै नाममा हस्पिटल सञ्चालन गर्ने तयारी गरिरहेका बेला क्वारेन्टिन बनाइएको हो । 

पोखरा महानगरपालिकाले वडा कार्यालयसँग सहकार्य गरेर शुरु गरेको महिला क्वारेन्टिनमा विहीबार ७ जनालाई राखिएको छ । कुवेतबाट फर्किएका महिलालाई महिला क्वारेन्टिनमा राखिएको पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

महिलामात्रै राख्नेगरि सञ्चालनमा ल्याइएको महिला क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपनि महिला मात्रै हुने पोखरा महानगरपालिकाले जनाएको छ । कुवेतबाट आएकालाई राखेर शुरु गरिएको क्वारेन्टिनमा अन्यलाई पनि राख्छौं, ‘महानगर उप–प्रमुख गुरुङले भनिन्, ‘परिवारसँग आएकालाई छुटाएर यहाँ राख्दैनौं, महिला मात्रै आएकालाई यहाँ राख्ने हो ।’ महिला क्वारेन्टिन ५० जना अटाउने क्षमताको भएको अस्पतालले दाबी गरेको छ । तर अहिले २० जनाको लागि मात्रै तयारी गरिएको उप–प्रमुख गुरुङले बताइन् । ‘थप राख्नुपर्ने भयोभने पछि थप्दै जान्छौं’, उनले भनिन् ।

महिला क्वारेन्टिनमा राखिएका सात जना विहीबार दिउँसो १ बजे पोखरा आइपुगेका थिए । बुधबार पूर्वाह्न ११ बजे काठमाडौं आइपुगेका उनीहरू करीब २६ घण्टापछि मात्रै पोखरा आइपुगेका हुन् । कुवेतमा दुई महिना क्वारेन्टिनमा बसेर आएको बताउने उनीहरूले नेपाल आएपछि तनाव भोग्नुपरेको गुनासो गरेका छन् । काठमाडौंदेखि पोखरा आउन २६ घण्टा लगाएको, गाडीबाट उत्रिन नदिएको, खाना र पानीसमेत नदिई गाडीमा राखेको तथा मुग्लिनमा ६ घण्टा रोकेर राखेर तनाब दिएको उनीहरूको भनाई छ ।

विदेशबाट फर्किएकाहरूलाई क्वारेन्टिनमा राख्न ल्याउने क्रममा लापर्वाही गरेको पाइएको छ । क्वारेन्टिनमा राख्न ल्याइएकाहरूलाई मलेखुको होटलमा खाना खुवाएर लापर्वाही गरेको पाइएको हो । ‘अरुबेला हामीलाई गाडीबाट झर्नपनि दिइएन,’ कुवेतबाट फर्केर महिला क्वारेन्टिनमा बसेकी लिला नेपालीले भनिन्, ‘तर खाना भने होटलमा खान दिइयो ।’ उसो त थाइल्याण्डबाट फर्केका पुरुषहरू भने होम क्वारेन्टिनमा बस्ने भन्दै हिंडेका छन् । 

सरकारले होम क्वारेन्टिनमा बस्न चाहनेलाई बस्न दिने भनेपछि आफूहरू घर जान लागेको आशिष गुरुङले बताए । महिला क्वारेन्टिनमा बस्न आएका महिलाहरूसँग एउटै बसमा काठमाडौंबाट पोखरा आएका थाइल्याण्डबाट फर्केका नौ जनालाई घर÷घरमा जान छुट दिइएको हो ।

प्रकाशित: ४ असार २०७७ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App