९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कोरोनाको महामारीले योजना अधुरै

कोरोना भाइरस (कोभिड—१९) को महामारीले विराटनगर–धरान सडकको अधिकतर खण्ड असारसम्म कालोपत्रे गर्ने योजना पूरा नहुने भएको छ । चीन र भारतसँगको सोझो ‘लिङ्क’ को रुपमा विस्तार भइरहेकोे सडक विस्तारमा योजना अनुसारको काम पूरा नहुने भएको हो । अहिलेसम्म ठेक्का लागेको सडकमध्ये इटहरीको बजार क्षेत्र र  मोरङको निमुवा क्षेत्रको झन्डै डेढ किलोमिटर सडक बाहेक अन्य स्थानको सडक भने असार मसान्तसम्म कालोपत्रे हुने सडक निर्माण आयोजनाको योजना थियो ।  

कोरोना भाइरसको महामारीले गर्दा सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन घोषणा गरेपछि सवै कामदार घर फर्किएको र पहिलो चरणको लकडाउन गरेको २० दिनपछि जिल्ला प्रशासन कार्यालयबाट निर्माणको काम अघि बढाउन अनुमति लिएपनि कामदार नफर्किदा योजना अनुसारको कामै हुन नसकेको हो । ‘कामको गति बढाउने बेलैमा कोरोनाको महामारीले गर्दा कामदार सवै बाहिरका हुँदा घर फर्किए, पछि प्रशासन कार्यालयबाट प्रक्रिया पुरा गरेर निर्माण व्यवसायीलाई पत्रचार गर्दा उनीहरुले कामदार फर्काउन गाह्रो हुने जवाफ दिए,’ छ लेन सडक विस्तार आयोजनाका इन्जिनियर उपेन्द्र दासले भने, ‘कामको प्रगति एकदमै कम छ ।’ उनका अनुसार अहिले सडकको सवै स्थानमा काम भइरहेको भएपनि तुलनात्मक हिसालले कामदार कम छन् ।  

‘अहिले १६ वटा प्याकेजमा काम भइरहेको छ,’ उनले भने, ‘तर, कामदार लकडाउनभन्दा अघिको तुलनामा अहिले कमै छन् । जसले गर्दा काम सोचे अनुसार हुन सकेको छैन् ।’ व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये विराटनगरको रानीबाट इटहरीको तरहरासम्म निर्माणाधीन छ ।  

‘यो वर्ष प्रगति हुन नसकेको काम आगामी वर्ष पूरा गर्नैपर्छ,’ इन्जिनियर दासले भने । तर, कोरोनाको संक्रमण अझै मथ्थर भइ सकेको छैन, जसले गर्दा समस्या निम्तिने खतरा पनि छर्दैछ । ‘महामारीको संक्रमण मत्थर हुन समय लम्बिदै जादा भने चाँहि झनै समस्या हुनेछ,’ उनले भने ।

२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा सडक बिस्तार गर्ने लक्ष्य राखिएपनि कहिलेसम्म टुंगिने यकिन हुन सकेको छैन् । पुरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएकोमा अहिलेसम्म निर्माणधीन सडक सात अर्ब ५३ करोड १० लाखमा ठेक्का लागेको छ । विराटनगर–इटहरी सडक खण्डको दुहवी बजार क्षेत्रमा दुई किलोमिटर ठेक्का लाग्न नै बाँकी छ । इटहरीको तरहरादेखि धरानको तिनकुनेसम्म ९.५ किलोमिटर सडक ठेक्का लागेको छ ।  

सडक सुस्त गतिमा निर्माण गर्दा सर्वसाधारणले समस्या बेर्होनु परेको छ। एकातिर राजमार्ग छेउमा घर हुने र बजार क्षेत्रमा व्यापार–व्यवसाय गर्नेले धुलोले गर्दा समस्या बेर्होदै आएका छन् ।  

धुलोले गर्दा दमसँगै क्यान्सरको समस्या हुने गर्छ । धुलोले गर्दा दम र लामो समयसम्म धुलोमा हिडडुल गर्नेलाई क्यान्सरको खतरा रहने गरेको चिकित्सकले बताएका छन् । 

प्रकाशित: ४ असार २०७७ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App