बिपन्नका खरका छाना बिस्थापित गर्दै पैयूँ गाउँपालिका
छविलाल तिवारी
पर्वत, असार ४
पैयूँ गाउँपालिकाले ११ विपन्न परिवारलाई जस्तापाता वितरण गर्न थालेको छ । चालु आर्थिक वर्षमा पैयूँ गाउँपालिकाले ११ घरलाई जस्तापाता सहयोग गरेर खरको छानो विस्थापित गरेको अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जानकारी दिए ।
गाउँपालिकाले पैयूँ–१ की विष्णुकुमारी न्यौपानेको परिवारलाई आठ फुटको ३२ र छ फुटको आठ गरी ४२ पाता जस्तापाता सहयोग गरेको छ ।
पैयूँ–५ का श्यामबहादुर रानालाई नौ फुटको ३६ पाता र पैयूँ ७ का कृष्णबहादुर मल्ललाई नौ फुटको ३० पाता जस्ता सहयोग गरेको पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले जानकारी दिए । चालु आर्थिक वर्षमा गाउँपालिकाले ११ वटा परिवारका लागि जस्तापता उपलब्ध गराउन बजेट विनियोजन गरेको थियो ।
‘जस्ताको छानामा आगलागीलगायतका अन्य दुर्घटनासमेत कम हुने भएकाले पालिकाले नै पैयूँमा खरको छाना विस्थापित गर्ने अभियान चलाएको हो,’ अध्यक्ष तिवारीले भने ।
त्यस्तै, पैयूँ गाउँपालिकाले परम्परागत घुमाउने घरको समेत संरक्षण अभियान चलाएको छ । गाउँपालिका उपाध्यक्ष जसमति गुरुङले घुमाउने घरको बारेमा नयाँ पुस्तालाई थाहा नभएका कारण त्यसको संरक्षणका लागि गाउँपालिका लागेको बताइन । ‘अहिलेको कतिपय बालबालिकालाई परम्परागत घुमाउने घरको बारेमा जानकारी नै छैन । त्यसैले त्यस्ता घरको संरक्षण गर्ने र विपन्न परिवारको खरको छाना बिस्थापित गर्न गाउँपालिकाले कार्यक्रम ल्याएको हो,’ उपाध्यक्ष गुरुङले भनिन् ।
प्रकाशित: ४ असार २०७७ ०५:३९ बिहीबार