२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखा अस्पतालको आइसोलेसन भरियो, नयाँ निर्माणमा ढिलाई

एक सय वेड क्षमताको आइसोलेसन निर्माण गर्ने भनिएको गोरखा क्याम्पस भबन । तर यहाँ काम सुरु भएको छैन । तस्बिर : नरहरि/नागरिक

पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएका थप १० जनाको मंगलबार रिपोर्ट आएसँगै गोरखा अस्पतालको आइसोलेसन भरिएको छ । २५ बेड क्षमताको आइसोलेसन रहेको अस्पतालमा मंगलवार रिपोर्ट पोजेटिभ आएका गोरखा नगरपालिका भित्र क्वारेन्टिनमा बस्दै आएका सात जना, बारपाक सुलिकोट गाउँपालिकाका दुई र गण्डकी गाउँपालिकाका एक जना गरी १० जना थपिएका छन् । यस अघि भिमसेन थापा गाउँपालिकाका चार, गण्डकी गाउँपालिकाका दश जना सहित १४ जना अस्पतालमा बस्दै आएका थिए ।  

गोरखामा रहेको आइसोलेसन बेड भरिँदै जाँदा नयाँ एक सय ६५ बेड थप निर्माण गर्ने बारे एक साता अघि भएको निर्णय कार्यन्वयन भएको छैन । सदरमुकाममा एक सय बेड र आरुघाट, गण्डकी, सिरानचोक गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा १०÷१० र पालुङ्टार नगरपालिकाको आँपपिपल अस्पतालमा २५ बेड क्षमताको आइसोलेसन बनाउने निर्णय भएको थियो । कोरोना संक्रमण देखिएपछि आइसोलेसन निर्माण छिटो र व्यवस्थित गर्ने भन्दै जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको संयोजकत्वमा आइसोलेसन एवं कोष व्यवस्थापन समिति बनेको थियो । समितिको काम भने कछुवा गतिमा छ ।

‘१५ बेडको अस्पतालमा १० बेडको आइसोलेसन बनाउने ठाउँ छैन’, पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले भने, ‘त्यहाँ नहुने भएपछि अन्यत्र कतै विद्यालयमा बनाउने योजना छ, तर ठाउँ टुङ्गो लागेको छैन ।’ सिरानचोक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन बनाउन भबनलगायत भौतिक पूर्वाधार अभाव रहेको बताए । ‘नियमित चेकजाँचलाई जानेहरूमा त्रास हुन सक्छ । नजिकै परोपकार आदर्श माविको भवनमा बनाउने योजना छ ।’ आरुघाटमा पनि आईसोलेसन निर्माण सुरु भएको छैन ।  

गोरखा सदरमुकाममा बन्ने भनिएको आइसोलेसन गोरखा क्याम्पसमा बनाउने निर्णय भएपनि काम सुरु भएको छैन । जिल्ला आयोजना कार्यन्वयन ईकाई (भवन)का प्राविधिकले आईसोलेसन निर्माणमा लाग्ने लागत सहितको बिवरण तयार गरिरहेकाले समय लागेको जिल्ला समन्वय प्रमुख अशोककुमार गुरुङले बताए । एक सातादेखि गोरखा क्याम्पसमा सात जना नेपाली सेना र एक जना प्रहरी सुरक्षाकालागि राखिएको छ ।

आइसोलेसन बनाउने ठाउँ भनेर फ्लेक्समा लेखेर टाँग्ने बाहेकका कुनै काम भएको छैन । ‘हामी एक सातादेखि बसिरहेका छौँ, कोही आउनुभएको छैन । सुरक्षा दिने बाहेकको केही काम भएको छैन’, निर्माणधिन आइसोलेसन स्थलमा खटिएका एक सुरक्षाकर्मीले भने । भारतबाट आएर बिभिन्न गाउँपालिकाको क्वारेन्टिनमा बसेकाहरूको पिसिआर रिपोर्ट पोजेटिभ आएको खण्डमा धेरै जनालाई राखेर उपचार गर्ने ठाउँ गोरखामा छैन ।

‘गाउँपालिकाहरूले कोषमा रकम जम्मा गर्दै हुनुहुन्छ, केही समय लाग्छ, हामीले सक्दो छिटो गर्ने प्रयत्न गरिरहेका छौँ’, समन्वय प्रमुख गुरुङले भने । गाउँपालिकाहरूले जिल्ला समन्वय प्रमखु गुरुङ संयोजक रहेको समितिलाई पाँच÷पाँच लाख दिने र उक्त कोषबाट आइसोलेसन निर्माण गर्ने निर्णय भएको थियो । पालिकाहरूले रकम निकासा गरेका छैनन भने समितिले छिटो काम गर्न सकेको छैन ।

प्रकाशित: २ असार २०७७ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App