८ वैशाख २०८१ शनिबार
समाज

आइसोलेसनमा बसेकाहरुमा कुनै लक्षण छैन

बिहान उठ्ने ब्यायम गर्ने, चिया नास्ता खाने, नुवाईधुवाई गर्ने, ११ बजे खाना खाने, दिउँसो खाजा खाने साँझ ब्यायम गर्ने, नाचगान गर्ने गरेर गोरखा अस्पतालको आइसोलेसनमा बसेका १४ जनाले समय कटाईरहेका छन् । ‘अहिले सम्म कुनै समस्या छैन, स्वास्थ्यमा पनि कुनै समस्या देखिएको छैन, आरामदायी रुपमा बसिरहेका छौँ’ आइसोलेसनमा रहेका एक युवाले सामाजिक सञ्जालमा लाईभ गर्दै आफ्नो कुरा भनेका छन् ।  

गण्डकी गाउँपालिकाको १० जना नौ दिनदेखि र भिमसेन थापा गाउँपालिकाका चार जना पाँच दिनदेखि आइसोलेसनमा छन् । क्वारेन्टिनमा बसेका उनीहरुको पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको हो ।  

आइसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्था समान्य रहेको गोरखा अस्पतालले जनाएको छ । ‘एक जनाको पनि स्वास्थ्य अवस्था कमजोर छैन’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने ‘चार चार घण्टामा जाँच गरिरहेका छौँ ।’ ज्वरो, ब्लड प्रेसर नियमित जाँच गरिएको छ । आइसोलेसनमा बस्नेहरु क्वारेन्टिनमा बस्दा भन्दा सहज र सुविधा मिलेको भन्दै खुसी छन् । ‘उनीहरुको आत्माबल बढाउन हामीले सिसिटिभी मार्फ निगरानी गरिरहेका छौँ, भिडियो कल गरेर सोधखोज गरिरहेका छौँ’ सूचना अधिकारी ढकालले भने । त्यहाँ निःशुल्क वाईफाईको ब्यवस्था पनि गरिएको छ ।  

आइसोलेसन कक्षमा सिसि क्यामेरा जडान गरिएको छ । स्वास्थ्यकर्मीले कन्ट्रोल रुमबाट त्यहाँ रहेकाहरुको निगरानी गर्छन् । कुनै ब्यक्ति एक्लो बस्ने, टोलाउने, धेरै सुत्ने, झोक्राउ गरेको देखिएमा टोली नेता मार्फत फोन गरेर सोधखोज गर्ने गरिएको सूचना अधिकारी ढकालले बताए । कतिपयलाई भिडियो कल मार्फत पनि स्वास्थ्यकर्मीले स्वास्थ्य अवस्था सोध्छन् ।  

१४ जनाको पिसिआर पुनः परीक्षणका लागि अस्पतालले प्रयोगशाला पठाएको छ । ती सहित अस्पतालबाट पठाएका ४८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छन् । आइसोलेसनमा बसेकाहरुको पिसिआर नेगेटिभ आएको खण्डमा त्यहाँ बसेको १४ दिनपछि उनीहरु घर जनेछन् । पोजेटिभ देखिएकाहरुको हक भने पुनः अर्को पटक पनि जाँचका लागि पठाउने अस्पतालले जनाएको छ । ‘रिपोर्ट पोजेटिभ आउँदासम्म आइसोलेसनमा राखेर उपचार गरिन्छ’ सूचना अधिकारी ढकालले भने । ‘आइसोलेसनमा बसेकाहरुले चिकित्सकले भनेको मान्ने हुँदा निगरानी गर्न सहज भएको उनले बताए । नियमित निगरानीका लागि अस्पतालले दुई जना स्वास्थ्यकर्मी खटाउने गरेको छ ।  

गोरखा अस्पतालमा २४ वटा आइसोलेसन वेड रहेको अस्पतालले जनाएको छ । १० वटा अझै खाली छ । अस्प्तालमा कोरोना संक्रमण देखिएका १४ जनालाई राखेर उपचार गर्न सुरु भएयता चेकजाँच गर्न जाने बिरामी घटेका छन् । ‘अस्पताल आउन डराउनु पर्दैन, हामीले छुट्टै चेकजाँचको ब्यवस्था गरेका छौँ’ सूचना अधिकारी कृष्ण ढकालले भने ‘आइसोलेसनमा रहेका बिरामीसँग भेट हुने, चेकजाँच गर्न आएका सबैलाई एकै ठाउँमा उपचार गर्ने होइन ।’

गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्य अवस्था बारे नियमित जानकारी लिईरहेको बताए । ‘हामी अस्पतालको नियमित सम्पर्कमा छौँ, केही समस्या परेमा गाउँपालिकाले सहयोग गर्छ’ उनले भने । गोरखाका ११ वटै स्थानीय तह मिलेर कोरोना संक्रमण देखिएकाहरुको सामुदायीक उपचार गर्न आइसोलेसन निर्माणका लागि पाँच÷पाँच लाख संकलन गरेका छन् ।  

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले बिपत्तीका बेला सबै मिलेरअघि बढ्दा समस्या समाधान गर्न सहज हुने भन्दै स्थानीय तहको यो कामको प्रशंसा गर्दै भने ‘जिल्ला समन्वय समितिको काम समन्वय गरिदिने हो, हामीले गरिरहेका छौँ ।’ एक सय ६५ बेड क्षमताको क्वारेन्टिनसहितको आइसोलेसन निर्माणका लागि अहिले समन्वयको अगुवाईमा काम भईरहेको छ ।

प्रकाशित: १ असार २०७७ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App